पाल्पा, जेठ २८
तानसेन नगरपालिका–१३, बौघागुम्हा छेर्लुङ्गमा बाँदरको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । खेतमा काम गरिरहेको समयमा अचानक बाँदरले आक्रमण गर्दा ३१ वर्षीय कमला खरेल (पाण्डे) घाईते भएकी हुन् ।
छेर्लुङ्गको ठूलापोखरा खेतमा काम गर्दै गर्दा खरेललाई बाँदरले आक्रमण गरेको स्थानीय खड्क बहादुर केसीले बताए । ठूलो संख्यामा रहेका बाँदरहरुले आक्रमण गर्दा उनी घाईते भएको बताईएको छ । उनको अहिले छेर्लुङ्ग स्वास्थ्य ईकाईका उपचार भएको र थप उपचारको लागि बुधबार तानसेन लैजाने केसीले बताए । घाइते खरेलको दुवै खुट्टा, हात र शरीरमा चोट लागेको छ । मंगलबार साँझ ५ बजेको समयमा बाँदरले खरेलललाई आक्रमण गरेको हो ।
पछिल्लो समयमा पाल्पाको तानसेन नगरपालिका–१४, अर्गली र वडा नं. १४ छेर्लुङ्ग तथा वगनासकाली गाउँपालिका, रम्भा गाउँपालिका, रिब्दीकोट र रामपुर नगरपालिकाका अन्नवाली नष्ट पार्ने र मानिसलाई समेत आक्रमण गर्नै गर्दा स्थानीय किसानहरु हैरानी बनेका छन् ।
स्थानीय केटाकेटी, महिलाहरु, असाह्य वृद्धाहरुलाई बाँदरले बढी झम्टिने र आक्रमण गर्ने गरेको स्थानीय किशोर भट्टराईले बताए । गाउँमा युवाहरु नहुने र गाउँछोड्ने क्रमसँगै गाउँघरका खेतबारी र घरमै आएर बाँदरले आक्रमण गर्ने र खेतीपाती तथा अन्नवाली नोक्सान गर्ने गरेको बताईन् । बाँदर नियन्त्रणको लागि स्थानीयहरु गाउँपालिका तथा नगरसरकारसँमक्ष हारगुहार समेत गर्ने गरेको भएपनि प्रभावकारी नियन्त्रण हुन सकेको छैन ।