पाल्पा, जेठ २७
पाल्पाको निस्दी गाउँपालिका–३, कार्कीडाँडामा जंगली च्याउको तरकारी खाँदा एक जनाको मृत्यु भएको छ, अन्य १० जना गम्भीर बिरामी परेका छन् । विषालु च्याउ खाएर ९ वर्षकी निर्मला सिंह ठकुरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको चितवनस्थित पूरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
चार वर्षीय विष्णु सिह ठकुरीको आईसियुमा राखि उपचार भैरहेको छ । २४ गते साँझ च्याउ खाँदा एकै स्थानका तीन परिवारका बिरामी परेका हुन् । च्याउ खाएर पुरन खाम्चा, उनकी श्रीमती चन्द्री खाम्चा, निर्मला खाम्चा, प्रेमबहादुर सिंह ठकुरी, दानकुमारी सिंह, सुमन सिंह ठकुरी रहेका छन् । यसैगरी, बिरामी पर्नेमा धनकुमारी सिंह, निशा सिंह र निरुता सिंह ठकुरी रहेको मित्याल प्रहरी चौकीले जनाएको छ । बिरामीलाई नवलपुरको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ । नवलपुरको सीमानामा पर्ने सार्कीडाँडा जिल्लाकै दुर्गम गाउँ हो ।
शुक्रबार बेलुकी च्याउ खाएका उनीहरु शनिबार अपरान्हबाट बिरामी पर्न थालेका हुन् । वान्ताहुने, बेहोस हुने, अत्तालिने गरेपछि उनीहरुलाई उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्ण सापकोटाले बताए । शुक्रबार पानी पर्न लागेको समयमा निस्किएको च्याउ पकाएर खाँदा उनीहरु बिरामी परेका हुन् ।