पाल्पा, जेठ २६
नेपाली सेनाले मुलुकभरका ऐतिहासिक गढी र किल्ला संरक्षण र त्यसको इतिहास संरक्षण योजना तयार गरेर काम अघि बढाएको छ । सोही अनुसार जिल्लाको बाकुम गढी नेपाली सेनाको गोरखदल गणले सुरु गरेको छ । युद्धमा प्रयोग गरिएको स्थान पुग्ने निकै अप्ठ्यारो भएपनि सेनाले पहिलो पटक गढी पुग्ने ट्रयाक बनाएको हो । नेपालमै ऐतिहासिक पुरातात्विक महत्व बोकेको ‘बाकुम गढी’ को प्रचारप्रसार तथा संरक्षण कार्य गरेको हो ।
गोरखदल गणका गणपती सुरज थापाले नेपालमै फरक महत्वको स्थान बाकुम गढी गाउँपालिकाको सहयोगमा संरक्षणको कार्य प्रारम्भ गरिएको बताए । ‘नेपाल एकीकरणपूर्व र पश्चात् विभिन्न किल्ला सामरिक महत्व एवं ऐतिहासिक दस्ताबेज तथा प्रमाण हुन्,’ उनले भने, ‘सेनाले त्यस्ता किल्ला र गढीलाई एक–अर्काको इतिहाससँग जोड्दै त्यसको संरक्षणमा योजना बनाएर काम गर्दैछ ।’ नेपालले विजय प्राप्त गरेका गढी र किल्लाको संरक्षण र विकास गर्नु नेपाली सेनाको दायित्व भएकाले अहिले विशेष अध्ययन गरिरहेको उनले बताए । जिल्लाको पूर्वखोला गाउँपालिका र रम्भा गाउँपालिकाको सीमानामा अवस्थित बाकुम गढी अहिलेसम्म कोही कसैले खोजी गरेका थिएनन् । यस गढीमा उत्खनन प्रयास भए केही पुरातात्विक महत्वका वस्तुहरु प्राप्त गर्न सकिने स्थानीयहरुले बताएका छन् । गणपती थापाले शोध अध्ययन गर्ने विद्यार्थीहरुका लागि बाकुम उत्कृष्ठ स्थान रहेको बताए ।
नेपाली सेनाको प्राविधिक सहयोगमा बाकुमगढी संरक्षण उपभोक्ता समिति मार्फत् पूर्वखोला गाउँपालिकाले झण्डै एक किलोमिटर बाटो निर्माण गरेको छ । नेपाली सेनाले चार दिन जनश्रमदान गरेर ४ दशमलव ५ फुटको बाटो निर्माण गरिएको हो ।
पूर्वखोला गाउँपालिकाका अध्यक्ष नून बहादुर थापाले बाकुम गढीलाई योजनावद्ध रुपमा विकास गरि पर्यटनको सम्भावना उजागर गरिने बताए । उनी भन्छन्, ‘हामीले यहाँको सम्भावना हेरेर ग्रामिण होम स्टे, तरकारी खेती, संस्कृति बचाउने अभियान जस्ता कार्यक्रमहरु पनि सञ्चालन गर्छौं ।’ गढीको संरक्षणमा सबैतिरबाट चासो र चिन्ता देखिन थालिएको र नेपाली सेनाले साथ दिएको छ । यसलाई अतिक्रमणबाट जोगाउनेतर्फ ध्यान अझै पुग्न सकेको छैन । युद्धका समयमा हातहतियारहरु यहाँ मौज्दात गरेर राखिन्थ्यो रे ति हातहतियारहरु पनि अब खोजी हुन्छ, अध्यक्ष थापाले भने, कुनै अभिलेख अहिलेसम्म नभेटिएको भएता पनि सम्भावना रहेको छ ।’ गाउँपालिका अध्यक्ष थापाले परम्परागत संस्कृति संरक्षण गर्दै पुराना संस्कृति बिर्सन नहुने बताए ।
बाकुमगढी संरक्षण उपभोक्ता समितिका अध्यक्ष गणेश बहादुर काम्मुले तत्कालीन अवस्थाको युद्धकला झल्किने संग्रहालय निर्माण गर्न सके नेपालकै उत्कृष्ठ गन्तव्य बन्ने बताए । उनले आफुहरुले बच्चाबच्चीमा गढी क्षेत्रमा गाईबस्तु लिएर जाँदा युद्धको समयमा प्रयोग गरिएका सामाग्री देखेको तर अहिले ती सामाग्री हराएको बताए । गढीको प्राचीन स्वरुप कस्तो थियो यकिन साथ भन्न भने सकिदैन । बाकुम गढी वि.सं. १८४० मा निर्माण भएको विश्वास गरिएको छ ।