पाल्पा, जेठ २६
जिल्लाका रिब्दीकोट गाउँपालिका र रम्भा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत युवाहरुलाई रोजगारी दिन सुरु गरेका छन् । रिब्दीकोट गाउँपालिकाले एक सय १० जना र रम्भा गाउँपालिकाका ३० जनालाई रोजगारी प्रदान गरिएको हो ।
रिब्दीकोट गाउँपालिकामा संघीय सरकारको बजेटबाट ६३ जना र स्थानीय सरकारको रकमबाट ४७ जनाले रोजगारी प्राप्त गरेका हुन् । रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले गाउँमा कोही पनि अब बेरोजगार भएर बस्नु नपर्ने बताए । उनी भन्छन्, ‘पहिलो चरणमा स्थानीय युवाहरु एक महिनाको लागि ज्यालादारीमा काम पाएका छन् । अहिले उनीहरुले रिब्दीकोट जलेश्वर क्षेत्रमा टिमुर खेती गर्ने, मनमारा सफा गर्ने, सडक चौडा गर्ने र नाली खन्ने काम गर्नेछन् । गाउँपालिका अध्यक्ष जिसीले रिब्दीकोटले डोजरलाई विस्थापित गर्ने गरि स्थानीय तहमा रोजगारी प्रदान गर्न लागिरहेको बताए । रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्यालले केन्द्रबाट प्राप्त १४ लाख र स्थानीय सरकारको पाँच लाख रुपैयाँबाट एक सय १० जनालाई रोजगारी प्रदान गरिएको बताए । रिब्दीकोटमा प्रतिदिन ५ सय १७ रुपैयाँ ज्याला प्राप्त गर्ने गरि रोजगारी प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
रम्भा गाउँपालिकाले ९० जना युवालाई रोजगार दिने लक्ष्यका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ । रम्भाले पहिलो चरणमा ३० जना युवालाई बेलपानी मौलाथर मोटरबाटो स्तरोन्नती गर्न, नाली काट्ने र संरक्षण कार्य गर्ने गरि रोजगारी प्रदान गरेको हो । गाउँपालिका अध्यक्ष बिष्णु भण्डारीले पहिलो चरणमा ३० जनालाई र पछि ६० जना युवाले केही दिनमै काम गर्न सुरु गर्ने बताए । रम्भा गाउँपालिका प्रवक्ता कृष्ण रेग्मीले १२ जना महिला र १८ जना पुरुषलाई काममा लगाएको बताए । समान ज्याला प्रणालीमा महिला र पुरुषले प्रतिदिन छ सय रुपैयाँका दरले ज्याला प्राप्त गर्ने रेग्मीले जानकारी दिए ।
रिब्दीकोटमा रोजगारी कार्यक्रममा समेटिएका यमानसिंह गाहाले अब वैदेशिक रोजगार जानुपर्ने अवस्था आउँदैन भन्ने कुरामा विश्वस्त भएको बताए । निलबहादुर गाहा भन्छन्, गाउँमा बुढाबुढी मात्रै भईन्थ्यो अब रोजगारी प्राप्त हुने भएपछि सबैमा खुसी छाएको छ । गाहा भन्छन्, ‘हामीले नै गाउँको विकास गर्न पाएका छौं । अब केही हुन्छ ।’
जिल्लाका अन्य स्थानीय तहमा भने काम गर्ने युवाको छनोट प्रक्रिया टुंगिएको छैन । प्रत्येक वडाबाट काम गर्न इच्छुक युवाको आवेदन संकलन गर्ने काम भइरहेको छ । जिल्ला भरीको पछिल्लो आवेदनको संख्या सात हजारभन्दा बढी रहेको पाइएको छ । तर काम गर्न इच्छुक युवाको संख्या भने झण्डै २ हजार रहने अनुमान गरिएको छ । तानसेन नगरपालिकामा पनि कामदार छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ । तानसेनमा ४२ लाख बजेट अन्तर्गत रहेर १ सय ८५ जना युवालाई रोजगार दिने छ । यस्तै रामपुर नगरपालिकामा २५ लाख बजेट प्राप्त भएको छ । करिब एक सय युवालाई रोजगार दिइने नगरप्रमुख रमणबहादुर थापाले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १६ लाख प्राप्त भएको बगनासकाली गाउँपालिकामा कामदार छनोट प्रक्रिया थालिएको प्रमुख प्रशासकिय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताए । माथागढी गाउँपालिकामा १६ लाख बजेट प्राप्त भएको छ । यहाँ १ हजार २ सय बढीले फारम भरेको भए पनि करिब तीनसय जना युवालाई छनोट गरी रोजगार दिइने गाउँपालिका अध्यक्ष सन्तोष थापाले बताए । यस्तै १३ लाख बजेट पाएको पूर्वखोला गाउँपालिकाले तीनसय युवालाई रोजगार दिने बताएको छ । अहिले आवेदन संकलन गर्ने र छनोट गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष नुनबहदुर थापाले बताए। निस्दी गाउँपालिकामा १३ लाख बजेट प्राप्त भएको छ । गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुका अनुसार यहाँका ९८ जना युवालाई रोजगार दिइनेछ । यस्तै १२ लाख बजेट प्राप्त भएको तिनाउ गाउँपालिकामा दुई सय जना युवालाई रोजगार दिने गरी छनोट प्रक्रिया चलिरहेको छ ।
रैनादेवी छहरा गाउँपालिकामा १९ लाख बजेट अन्तर्गत रहेर ३ सय २० जना युवालाई रोजगार दिने गरी प्रक्रिया अगाडि बढेको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रममा आवेदन दिने युवाको संख्या बढी देखिए पनि काम गर्न इच्छुक युवा भने निकै कम रहेका छन् । जिल्लामा प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश हुन इच्छुक युवालाई मोटरबाटो सफा गर्न, नाली खन्न, बनजंगल सफा गरेर महत्वपूर्ण जडिबुटी रोप्ने काम गर्न लगाउन थालिएको हो ।