काठमाडौं । कैलालीको धनगढीमा बिहीबार साँझ आएको भीषण हावाहुरीले वितण्डा मच्चाएको  छ । 

बिहीबार बेलुका ८ बजे आएको हावाहुरीमा परि १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्‍नेतले जानकारी दिएका छन् । उनीहरुको धनगढीकै विभिन्‍न अस्पतालमा उपचार भइरहेको छ ।

उनले क्षतिको थप विवरण संकलन कार्य भइरहेको जानकारी दिए । डिएसपी बस्‍नेतकाअनुसार कैलालीको धनगढी उपहानगरपालिकाका क्षेत्रमा बढी क्षति पुर्‍याएको छ । बिजुलीका पोलहरु र रुख ढलेर विद्युत सेवा अवरुद्ध भएको छ । 

अहिलेसम्म कुनै मानवीय क्षति नभएको डिएसपी बस्‍नेतले जानकारी दिए । अहिले हावाहुरी रोकिएको  तर वर्षा भइरहेको उनले बताए ।