पर्यटकसँग रानीमहलमा थपिए होटल
पाल्पा, जेठ १९
जंगलै जंगलको बिचमा खेत छ । एक वर्ष अघिसम्म पनि यहाँका खेतमा बाँदर, ढेडुवा नाच्थे । खेती भएपनि जोगाउन मुस्किल थियो । किसानहरु आजित भइसकेका थिए । आजकल यहाँको मुहार फेरिएको छ । बाँदर नाच्ने खेतमा कृषिमार्फत कायापलट नै भएको छ । वगनासकाली गाउँपालिका–७, गाईघाट रानीमहल नजिकैको बाटो छेउमा पर्छ । कृषि फर्म, कटेज र रेष्टुरेन्ट सञ्चालनमा आएसँगै गाईघाट धेरैको आकर्षणको केन्द्र नै बनेको छ ।
१४ वर्ष वैदेशिक रोजगारका लागि दुवैमा काम गरेर फर्केका स्थानीय युवा धन बहादुर क्षेत्रीको अग्रसरतामा यहाँ अर्गानिक कृषि फार्म तथा भान्साघर सञ्चालनमा आएको छ । उनले काउली बन्दा, कुरिलो, लसुन, प्याज सहित स्थानीय तरकारीहरु लगाएका छन् । बाख्राफार्म पनि छ । जहा अहिले १२ वटा बाख्रा छन् । स्थानीय प्रजातिका कुखुरा पनि छन् । खोला किनारमा रहेको उनको फार्म हेर्न लायक छ । उनले आफ्नो व्यवसायको नमस्ते कृषि फार्म तथा भान्सा घर नाम दिएका छन् । रानीमहल घुम्न आउने पर्यटकको प्रमुख रोजाईको केन्द्र बनेको छ । वैदेशिक रोजगारबाट फर्केका तोयनाथ बस्याल, राजन हमाल र लिलसिंह बस्याले पनि गाईघाटमा होटल तथा रेष्टुरेन्ट चलाएका छन् । पत्रकारिता गर्दै आएका शुसील कुँवरले पनि गाईघाटमा रानी भिलेज रिसोर्ट सञ्चालन गरेका छन् ।
नेपालको ताजमहलका भनेर चिनिने पाल्पाको रानीमहल क्षेत्रमा होटलमा लगानी बढ्दै गएको छ । पछिल्लो समय पर्यटकको आवागमनमा वृद्धि भएपछि होटल खुल्ने क्रम बढेको हो । पाँच वर्ष अघिसम्म रानीमहलमा सीमित चिया पसलमात्र थिए । अहिले आवासीय सुविधा सहितका होटलको संख्या १२ पुगेको छ । सदरमुकाम तानसेनबाट रानीमहलसम्म जाने १३ किलोमिटर सडकमध्ये ७ किलोमिटर पिच भएको र ६ किलोमिटर ग्राबेल भई सञ्चालनमा आएपछि रानीमहल पुग्ने पर्यटक बढ्दै गएका छन् । पर्यटकको आगमन बढेसँगै तानसेनदेखि रानीमहलसम्मको बाटोमा विभिन्न किसिमका रिसोर्ट, होटल तथा रेष्टुरेन्ट खुल्ने क्रम बढ्दै गएको हो । पर्यटकलाई लक्षित गरेर, क्याम्प फायरिङदेखि, कृषि फर्म, कृषि रेष्टुरेष्ट, कटेज, कृषि भान्साघरजस्ता होटल सञ्चालनमा आएका हुन्
सुरुवातीको छोटो समयमै पाएको प्रचार र सफलताबाट कृषि फर्मसँगै होटल चलाउँदै आएका धन बहादुर उत्साही छन् । युएईमा छँदा पनि धनबहादुरलाई खासै गाह्रो थिएन । काम पनि सजिलो थियो । उनी पाल्पाली र नेपालीहरुका बिभिन्न स्थानीय संस्थामा नेतृत्वकर्ताकै रुपमा थिए । उनको फार्म अहिले २० रोपनी क्षेत्रफलमा फैलिएको छ । जसका लागि उनले केही जग्गा लिजमा पनि लिएका छन् । खाना खान चाहनेहरुका लागि खेतकै अर्गानिक तरकारी सहित पर्यटककै रोजाई अनुसारको खाना खान पाइन्छ । माछा खान चाहनेहरुका लागि पनि उनले नै माछा पालेका छन् । तत्कालै पोखरीबाट निकालेर माछा तयार गरिदिने ब्यवस्था छ । धन बहादुरले यहाँ अहिलेसम्म १२ लाख बढी लगानी गरिसकेको बताए । उनले भने, ‘बिस्तारै यसलाई अझ थप गर्दै लैजाने योजना छ । वैदेशिक रोजगारमा तनाव हुन्थ्यो घर परिवारसँगै काम गरेर रमाउन पाईएको छ ।’ फार्मको काममा धन बहादुर र उनकी श्रीमति बिहान देखि नै खट्छन् । त्यतिमात्रै स्थानीय प्रजातिको कोदो, फापर, गुन्द्रुक, ढिडो र स्थानीय खशी र कुखुराको समेत ब्यवस्था छ । जसका कारण शहरमा बस्नेहरु समेत गाउले वातावरणमा रमाउँदै खाना खान पाइने भएकोले यहा आकर्षित हुने गरेको धन बहादुरले बताए । यो फार्मसगै धन बहादुरले स्थानीय संग्रहालय समेत संचालनमा ल्याएका छन् । यहा पुरानो ढिकी, जातो सहित पुराना संकलनहरु रहेका छन् । खासगरि यो संग्रहालय विदेशी पर्यटकहरुले चासो मानेर अवलोकन गर्ने गरेको धन बहादुरले बताए । काम गर्ने हो भने नेपालमै पनि नाम दाम छ भनेर सन्देश दिनकै लागि मैले यो फार्म संचालनमा ल्याएको हँु । यसलाई बिस्तारै बढाउने, थप प्रचारप्रसार गर्ने र पाल्पा आउने जो कोहीका लागि एक पटक यहा आउनैपर्छ भन्ने वातावरण बनाउने योजना छ, धन बहादुरले भने ।
गाईघाटमा पयर्टकको आवागमन बढ्दै गएपछि वसन्त कँुवरले रिसोर्ट सञ्चालनमा ल्याए । रानी भिलेज नाम दिईएको रिसोर्टमा ५० देखी ८० जनासम्मलाई सेवा पु¥याउन सकिने कुँवरले बताए । उनी भन्छन्, ‘पर्यटकले चाहे अनुसारको खाना, मनोरञ्जन तथा रमाइलो वातावरणका लागि माछा पालन, स्थानीय परम्परागत खाना, स्थानीय जातका कुखुरा, हाँसजस्ता मासुजन्य पंक्षीसमेत होटल परिसरमा पालन गर्दै आएका छौं । हामीले यसलाई विस्तार गर्दै लैजाने योजना बनाएका छौं ।’ रानीमहल आएका पर्यटकलाई प्याकेजको रूपमा यस क्षेत्रको प्राकृतिक भ्रमण, विभिन्न स्थानबाट रानीमहलको दृश्यावलोकन, विभिन्न क्षेत्रका अनौठा पहाडको अवलोकन गराउने प्याकेज आदि तयार गरेको उनले बताए । अहिले दुई सयजना पर्यटकलाई खाने र बस्ने सुविधा प्रदान गर्ने गरी होटल सञ्चालन गर्दै आएको रानीमहल होटलका सञ्चालक सुरेश पाण्डे क्षत्रीले बताए । रानीमहलमा आउने पर्यटकलाई लक्षित गरी होटल व्यवसायमा ६० लाखभन्दा बढी रकम लगानी गरिसकेको छ । दैनिक पाँच सयदेखी एक हजारको संख्यामा पर्यटकहरुको आवागमन हुँदै जाँदा यस क्षेत्रमा स्तरिय होटलहरु खुल्ने क्रमले तिव्रता पाएको हो ।