प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ। प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले मृत अवस्थामा फेला परेका मानबहादुर माखिमको शव भेटिए नजिक रगत लतपतिएको खुकुरी, दाप र रगत लागेको कपडासहित झोला फेला पारेको हो।

हत्यारा आशंका गरिएका बमबहादुर फियाकका कान्छा ज्वाइँ मानबहादुरले मंगलबार बिहान ३ बजे सोही गाँउका एकजना र पल्लो गाँउका अर्का ब्यक्तिसँग इमजेन्सीमा उपचारका लागि जानुपर्‍यो भन्दै पैसा मागेको समेत खुलेको छ।

माखिमले बोकेको मोबाइल मंगलबार ३ बजेर ५ मिनेटमा स्विच अफ भएको प्रहरी अनुसन्धानले देखाएको छ। स्विच अफ गरिएको मोबाइल फोन सेट उनको शव नजिकै भेटिएको छ। त्योभन्दा अघि उनले दुईजना गाँउलेलाई फोन गरेको र नगद रकम मागेको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ।

‘उसको मोबाइल स्विच अफ भएको र दुई जनालाई फोन गरेको टावर एउटै हो,’ प्रदेश प्रहरी प्रमुख डिआइजी केदार रिजालले नेपालखबरसँग भने ‘प्राविधिक परिक्षण नगरी यसै भन्ने अवस्था छैन, हाम्रो अनुसन्धानको सुई माखिमतर्फ सोझिएको हो।’

परिवारभित्रको कहल हत्याको कारण हुनसक्ने आधारमा प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ।

‘घटनास्थल, हतियार र मृतक सबैको फरेन्सिक जाँचपछि मात्र यकिनमा पुग्न सक्छौं,’ डिआईजी रिजालले भने ‘अहिले केन्द्र, प्रदेश र जिल्लाको टोलीले अनुसन्धान गरिरहेका छन्।’

प्रहरीले घटानमा भाग्न सफल सीता खजुमको बयानका आधारमा घटनामा संलग्नको स्केच बनाएर अनुसन्धान थालेको छ। सीता घटनामा भाग्न सफल भएकी थिइन्।

प्रहरी स्रोतको अनुसार सीताले बताएको हुलिया विवरणका आधारमा तयार गरिएको स्केच झुण्डिएको अवस्थामा फेला परेका माखिम शवसँग मिल्दोजुल्दो छ।

‘प्रहरीले अनुसन्धानको पहिलो आधार घटनाकी प्रत्यक्षदर्शी बालिकाको बयान नै हो,’ डिआईजी रिजालले भने ‘अनुसन्धान टोली र विज्ञ समुहले काम गरिरहेको छ।’

हत्याकाण्डको अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय धरानबाट एसएसपी शरद खत्रीको नेतृत्वको टोली तालिमप्राप्त कुकुरसहित घटनास्थलमा परिचालन भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार फरेन्सिक सहितको टोलीले घेराबन्दी गरिएर राखिएको घटनास्थलको थप अनुसन्धान र प्रमाण संकलन गर्नेछ। यस्तै केन्द्रीय अनुसन्धान ब्युरोका एसपी उमाप्रसाद चर्तुवेदीको नेतृत्वको अर्को टोली परिचालन भएको छ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका आरुबोटेमा गएराति बमबहादुर फियाक र धनराज शेर्माको परिवारका ९ जनाको हत्या भएको हो। प्रहरीले हत्यामा शंका गरेका मानबहादुर माखिम फियाकका कान्छा ज्वाइँ हुन्। उनकी श्रीमती केही समयदेखि माइत बस्दै आएकी थिइन्। माखिम र श्रीमतीबीच सम्बन्धबिच्छेदको प्रक्रिया अघि बढेको प्रहरीले जनाएको छ।

धनराज शेर्माको परिवारका पाँच जनाको शव घरभित्रै छ। बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको छ।

१० मिनेट पैदलदूरीमा रहेका ज्वाइँ–ससुरा परिवारका सदस्यको हत्या भएको हो।

मारिनेमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो।