पाल्पा । आफ्नै घरको गोरुको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । रैनादेबी छहरा गाँउपालिका –४ मगालकी ४५ वर्षीया मानकुमारी बगालेको मृत्यु भएको स्थानीय बसन्ती थापाले जानकारी दिनुभयो ।

सोमबार दिउँसो श्रीमानसँगै घर नजिकैको खोलाखेतमा गोरु चराउन गएको बेला आफ्नै हलगोरु जुध्ने क्रममा बगाले घाइते भएकी थिइन् ।

घाइते बगालेको छहरा स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको स्थानीयले बताएका छन् ।

घटनाबारे स्थानीयले प्रहरीलाई कुनै जानकारी नै नगराएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाबारे थाहा पाएर आधिकारीकता बुझ्दा मृतको दाहासंस्कार गरी सकेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले जानकारी दिनुभयो ।  घटनाका बारेमा थप अनुुसन्धान थालिने उहाँले जानकारी दिनुभयो ।