एवत सारु

पाल्पा, वैशाख ३०

रम्भादेवी–रिमीघा महोत्सव–२०७६ सम्पन्न भएको छ । रम्भा गाउँपालिका पाल्पाको रिमीघा लेकमा आयोजित महोत्सवको विशेष कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. ५ का सभासद नारायणप्रसाद आचार्यले धार्मिक, प्राकृतिक, ऐतिहासिक तथा जैविक दुष्टिले धनी रम्भादेवी मन्दिर तथा रिमीघा लेकबाट गाउँपालिकाले आम्दानीको श्रोत बढाउने प्रशस्त सम्भावना रहेको बताउँदै रिमीघा लेक तथा रम्भादेवी मन्दिरको पर्यटन पूर्वाधार विकासमा आफू लागि पर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरु ईन्द्र जिसी, बसन्ती मश्राङ्गी, रमेश पौडेल तथा स्थानीय कलाकारहरुले गीत गाएर दर्शकलाई नचाएका थिए । हजारौं स्थानीयवासीको उपस्थितीमा संचालित कार्यक्रममा महिला समन्व समिती रम्भा गाउँपालिकाले उत्पादन गरेको श्रृङ्गारका सामग्रीहरु माला, टप, ढाका टोपी, झुम्का, सारी, चप्पल, जुत्ता, औंठीका साथै हार्पिक तथा साबुन लगायतका सामग्री बिक्री वितरण गरिएको थियो ।

कार्यक्रममा युवा संजाल समितिबाट रम्भा गाउँपालिकाका पुरुष तथा महिला भलिबल खेलाडीहरुलाई ट्रयाकसुट प्रदान गरिएको थियो । रम्भा गाउँपालिका पुरुष तथा महिला भलिबल दुवै टिम पहिलो मुख्यमन्त्री रनिङ्ग शिल्ड प्रतियोगितामा प्रथम भएका थिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ, नेपाली काँगे्रसका प्रतिनिधि सुमन पाण्डे, रम्भा बहुमुखी क्याम्पसका प्रमुख दुर्गाप्रसाद अधिकारी, वडा नं ४ का वडा अध्यक्ष भोजबहादुर बिक लगायतले रिमीघा लेकको विकासबारे चर्चा गरे । रम्भा गाउँपालिका लेखा अधिकृत पोष्टराज न्यौपानेले रिमीघा लेक तथा रम्भादेवी मन्दिरबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

रम्भा गाउँपालिका उपाध्यक्ष राधादेवी श्रेष्ठको स्वागत मन्तव्य तथा गाउँपालिका प्रवत्ता एवम् वडा नं. १ का वडा अध्यक्ष कृष्णप्रसाद रेग्मीको संचालनमा कार्यक्रम चलेको थियो । कार्यक्रम रम्भादेवी–रिमीघा महोत्सव–२०७६ मूल आयोजक समितिका संयोजक एवम् गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीको अध्यक्षतामा चलेको थियो ।