(फलोअप…)
पाल्पा, वैशाख ३०
अधिकांश जिल्लामा संस्थागत विद्यालयमा सरकारीको तुलनामा विद्यार्थी धेरै छन् । वैशाखको पहिलो हप्ता संस्थागत (निजी) विद्यालयमा विद्यार्थी भर्ना गर्ने को लर्को नै देखिन्थो । कतै अभिभावकहरुलाई मर्कामा पार्ने गरि संस्थागत विद्यालयले मनपरी शुल्क निर्धारण गरेका छन् । स्थानीय तहले शिक्षामा पर्याप्त बजेट विनियोजन गर्न सकेको छैन न त संस्थागत विद्यालयको शुल्क नियन्त्रण नै । चर्को मासिक, भर्ना तथा अन्य विभिन्न नामका शुल्क बढाउन सथनीय तहले स्वीकृति नै दिएका छन् ।
पूर्वखोला गाउँपालिका, पाल्पाले भने नेपालमै नमूना कार्य गरेर उदाहरण पेश गरेको छ । अहिले पूर्वखोला गाउँपालिका भित्रका सबै विद्यालयमा एउटै शिक्षा प्रणालीबाट अध्ययन अध्यापनको कार्य भैरहेको छ । निकट भविष्यमै स्थानीय पाठ्यक्रममा पढाउने योजना अगाडी बढाईएको छ । पूर्वखोला गाउँपालिका भित्र रहेका पाँच संस्थागत विद्यालय (बोर्डिङ स्कुल) का नाम फेरिएका छन् । संस्थागत विद्यालय नजिकै रहेको सरकारी विद्यालयमा समायोजन गरि अंग्रेजी ब्लकको रुपमा नाम दिईएको छ । गाउँपालिका भित्रका पाँच निजी विद्यालय सामुदायिकमै गाभिएपछि अभिभावकहरुलाई चर्को शुल्कबाट समेत छुट्कारा मिलेको छ भने विद्यार्थीहरु इच्छा अनुसारको माध्यममा अध्ययन गर्ने अवसर प्राप्त गरेका छन् । त्यसैले पूर्वखोला गाउँपालिका भित्र सक्नेले संस्थागत विद्यालयमा पढाउने र नसक्ने हेरेर बस्ने अवस्थाको अन्त्य भएको विश्वास गरिएको छ ।
पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले अहिले संस्थागत र सामुदायिक विद्यालयमा केन्द्रकै पाठ्यक्रम अनुसार अध्ययन अध्यापनको कार्य एकै रुपमा भैरहेको बताए । अध्यक्ष थापा भन्छन्, ‘नेपाली र अंग्रेजी माध्यममा पढाई भएको छ । सौद्धान्तिक कामहरु पुरा भएको छ । व्यवहारिक कामहरु पुरा गर्न बाँकी छ । पहिलो त्रैमासिक परीक्षा (तीन महिना) भित्र आधारभूत कुराहरु पुरा हुन्छन् । यो शैक्षिक सत्र पुरा हुँदा गत वर्षभन्दा यो यो कुराहरु परिवर्तन भए, यति शैक्षिक उपलब्धि हो, यति शैक्षिक गुणस्तर कायम भयो, यो क्षेत्रमा समस्या देखापर्यो भन्न सक्छौं । एक वर्षभित्रमा परिणाम दिने गरि हामी अगाडी बढेका छौं ।’ पाँच वटा बोर्डिङ् स्कुलको जग्गा, भवन र फर्निचर सामग्रीका दुई करोड १५ लाख ४६ हजार मुल्याङ्कन गरेर संस्थागत विद्यालय सरकारी विद्यालयमा समायोजन गरिएको गाउँपालिका अध्यक्ष थापाले बताए । । ‘आर्थिक वर्ष २०७६÷०७७ भित्र समायोजन भएका संस्थागत विद्यालय सञ्चालकलाई जग्गा, फर्निचर र भवनको मूल्याङ्कन क्षतिपूर्ति दिइनेछ । सङ्घीय, प्रदेश र दातृ निकायसँग सहकार्यमा मूल्याङ्कनको रकम फिर्ता गर्ने योजना रहेको छ, नुन बहादुर थापाले भने, केही समय गाभिएको मूल विद्यालयको रुपमा अंग्रेजी ब्लक बनाएर पहिलेकै बोडिङ्ग भएकै स्थानमा कक्षा चल्ने र केही समयपछि एकै स्थानबाट अंग्रेजी÷नेपाली दुवै माध्यममा पढाई हुने छ ।’ आगामी पाँच वर्षभित्र यहाँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने र शिक्षामा एकरुपता ल्याउने कार्ययोजनालाई गाउँपालिका अघि बढाएको छ । सरकारी विद्यालयमै अंग्रेजी माध्यमको पढाई हुने भएपछि भने यहाँका अभिभावक पनि खुसी भएका छन् । ३७ सामुदायिक र ५ संस्थागत रहेकोमा अव ५ नीजि पनि सामुदायिकमै गाभिएर जम्मा विद्यालय संख्या ३७ भएको छ । गाउँपालिका र सरोकारवालाहरुको समन्वयमा सबै संस्थागत विद्यालय सामुदायिकमा समायोजन भएका हुन् ।
पूर्वखोला गाउँपालिकाको ५ वटा बोर्डिङ् स्कुलमा ५ सय ८५ जना जना विद्यार्थी अध्ययनरत थिए । निजी बोर्डिङ स्कुलमा कुल ५३ जना शिक्षक तथा कर्मचारी कार्यरत थिए । कर्मचारी र शिक्षक सबैको तलबभत्ता यो शैक्षिक सत्रदेखि सम्बन्धित सरकारी विद्यालयले बेहोर्ने गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालले बताए । गाउँपालिकाले गत वर्ष गाउँशिक्षा सुधार कार्यदल र प्राविधिक कार्यदल बनाएर संस्थागत विद्यालय तथा सरकारी विद्यालयको अनुगमन गरेर प्रतिवेदन तयार गरेको थियो । उक्त कार्यदलको सुझाव प्रतिवेदनका आधारमा संस्थागत विद्यालयको भौतिक पूर्वाधार गाउँपालिकाले खरिद गर्नेछ । शिक्षक र कर्मचारीलाई हटाइएको छैन । संस्थागतका शिक्षक तथा कर्मचारीले अहिले सरकारी विद्यालय मातहतमा रहेर अध्यापन कार्य गर्ने र संस्थागत विद्यालयल रहँदामा खाईपाई आएको सुबिधा पाउनेछन् ।
उद्बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकहरी देवकोटाले गाउँपालिकाभित्र एउटै शिक्षा प्रणालीबाट पढाई हुँदा अभिभावक खुसी भएको बताए । उनी भन्छन्, ‘निजी र सरकारी यस्तो उस्तो भन्ने अवस्था नै आएको छैन । सरकारीको गुणस्तर वृद्धि गरिँदैछ भने निजीमा शुल्क कम गर्दै सरकारी सरह अंग्रेजी माध्यममा पढाउने ।’ संस्थागत (निजी) विद्यालयका अभिभावक जयराम न्यौपाने भन्छन्, ‘पहिले त्यही स्कुलमा पढाउँदा भर्ना शुल्क भनेर तिर्नुपथ्र्यो अहिले हामीले तिरेका छैनौं । हरेक वर्ष बढ्ने मासिक शुल्क अहिले बढेको छैन ।’ न्यौपाने भन्छन्, अब सबै कक्षाहरुमा अंग्रेजी माध्यममा पनि निशुल्क अध्यापन गराउन सके बल्ल यो समायोजन सार्थक बन्ने थियो । सरस्वती माध्यमिक विद्यालयमकी इसिडी शिक्षिका खरस्वती खनालले अहिले अंग्रेजी ब्लकमा पढाउँदै आएको बताईन् । सरस्वती माविमा अध्ययनरत छात्रासपना देवकोटाले सरकारी विद्यालयमा पनि विद्यार्थीहरुको आकर्षण रहेको बताईन् ।
कसरी सम्भव भयो त विद्यालय समायोजन ?
पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादु थापा भन्छन्, शिक्षा क्षेत्रलाई परिवर्तन गर्न हामी अगाडी बढ्यौं । एउटै शिक्षा दिने प्रणालीलाई व्यवस्थित गर्नको लागि एउटा शिक्षा अध्ययन कार्यदल गठन गरियो । त्यसले विभिन्न सात सूचकांकको आधारमा कार्यदलले आफ्नो प्रतिवेदन पेश गर्यो । शिक्षाको गुणस्तर उकास्न तथा शैक्षिक उपलब्धि हासिल गर्नको लागि कारण र फरक बिच तुलना गरियो । कसरी एउटै शिक्षा बनाउने र गुणस्तर वृद्धि गर्नेभन्ने सम्बन्धमा कार्यदलले निजी विद्यालय सामुदायिकमा समायोजन गरिनुपर्छ भन्ने पनि एउटा सुझाव आएको थियो । यो सुझावलाई कार्यान्वयन गर्न सकिन्छ वा सकिंदैन भनेर समायोजन समिति गठन गरियो । समिति मार्फत् सामाजिक तथा भौतिक अध्ययन भयो । संस्थागत तथा सामुदायिक विद्यालय बिचमा छलफल भयो । अभिभावक, लगानीकर्ता, संस्थागत विद्यालयका शिक्षकहरु तथा सरोकारवालाहरु बिच विभिन्न चरणमा छलफल भयो । सामुदायिक विद्यालयमा पनि छलफल भयो । पूनः दुई पक्ष बिचमा अन्तक्र्रिया भयो । नजिकको विद्यालयसँग समायोजन गर्ने प्रक्रिया थालनी भयो ।
अब विद्यालयको विभिन्न स्रोतहरु तय गर्छौं । विषेशगरी जुन विद्यालयमा समायोजन भएको छ त्यहाँ धेरै खालको आर्थिक स्रोत आउने क्रियाकलापहरु हामी आउँछौं । गाउँपालिकाले पनि केही स्रोतहरु विद्यालयसम्म पुग्ने वातावरण मिलाउँछौं । पूर्ण रुपमा निशुल्कै शिक्षा अहिले सम्भव छैन । संस्थागत विद्यालयमा पढाउन चर्को शुल्क तिर्नुपर्ने बाध्यता यो वर्ष नै कम भएको छ । अभिभावकहरुलाई आर्थिक भार कम गर्ने प्रयासमा नै छौं । यो वर्ष सबै सम्भव भएन । दश वर्ष भित्रमा माध्यमिक शिक्षासम्म निशुल्क पूर्ण रुपमा एउटै गुणस्तरमा कायम गर्नेछौं । गाउँपालिकामा थुप्रै व्ययभार थपिएको छ । अभिभावक भेला गरेर पूर्ण सहमतिमा थेरै मासिक शुल्क अंग्रेजी माध्यममा छ । हामी भर्ना शुल्क पूर्ण रुपमा लिन बन्द गरेका छौं । स्रोत व्यवस्थापनको काम पनि अगाडी बढेको छ । इसिडी र नर्सरीमा पूर्ण रुपमा निशुल्क कक्षा सञ्चालन भैसकेको छ ।
पूर्वखोला गाउँपालिका–३, का वडाध्यक्ष निलकण्ठ भट्टराईले विद्यालय समयोजना तथा व्यवस्थापनको कार्य सहज भने नभएको बताए । उनी भन्छन्, ‘यसलाई दीगो बनाउने प्रश्न उठिरहेको छ । हामीले धेरै पूर्वअभ्यास गरेका छौं । जनसहभागिता भएको छ । सुविधासम्पन्न निजी विद्यालयको स्तरसम्म सरकारी विद्यालय बन्दै छन् । निजी विद्यालयमा सरकारी विद्यालयकै वातावरणमा न्यून शुल्कमा एउटै पाठ्यवस्तुमा आधारित रहेर पढाई हुन थालेको छ ।’ ‘निजीको तुलनामा सरकारी विद्यालयको अमूल्याङ्कन भएको महशुस गरेका अभिभावकले सरकारीमा गुणस्तर सुधार हुने आशमा छन् । निजी विद्यालय सरकारी विद्यालयको अंग्रेजी ब्लकको रुपमा चलेको छ । स्तर, शैक्षिक उपलब्धि र गुणस्तरमा हामीले ध्यान दिएका छौं । निजी र सरकारीमा समान किसिमको शिक्षा अगाडी बढेको छ, भट्टराईले भने, ‘नर्सरी र इसिडी मन्टेश्वरी कक्षाको रुपमा चल्न थालेका छन् । विद्यालयहरु पनि रोजेर अंग्रेजी वा नेपाली माध्यममा अध्ययन गर्न सक्नेछन् । हामीले कार्यविधि बनाएका छौं । शिक्षा क्षेत्रमा धेरै योगदान गर्नुपर्छ र बजेट विनियोजन हुनुपर्छ भन्ने गरि अगाडी बढेको छ ।’
पूर्वखोला गाउँपालिकाले शिक्षामा विभेद हटाउन भन्दै निजी र सरकारीलाई एउटै प्रणाली मार्फत् सञ्चालनको व्यवस्था गरेको हो । चालु शैक्षिक सत्र २०७६ देखि बोर्डिङको अस्तित्व नरहने गरी गाउँपालिकाले सरकारीमा गाभेको हो । पूर्वखोलाको रिङ्नेरहमा रहेको पूर्वखोला बोर्डिङ् स्कुल सामुदायिक विद्यालय उद्धबुद्ध माध्यमिक विद्यालयमा गाभिएको छ । वीरकोटमा रहेको जोनन बोर्डिङ् स्कुल गणपति माविमा, जल्पामा रहेको सरस्वती बोर्डिङ् स्कुल सरस्वती मावि जल्पामै गाँभिएको छ । यस्तै जल्पाको माउण्ट भ्यु बार्डिङ् स्कुल शम्भु माविमा र देवीनगरमा रहेको चिराग बोर्डिङ् स्कुल मातृभूमि माविमा गाँभिएको पूर्वखोला गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालले बताए । उनले पूर्वखोलाका पाँच वटा मात्रै बोर्डिङ् स्कुलमा कक्षा ५ सम्म अध्ययन हुँदै आएकोमा अब सरकारी विद्यालयमै अंग्रेजी माध्यममा अध्ययन अध्यापन हुने बताए ।
पाल्पाको पूर्वखोलाबाहेक अन्य स्थानीय तहले भने बोर्डिङ् स्कुलको स्तरउन्नति गर्ने गरी अनुमति र निर्माणका काममा र मासिक तथा भर्ना शुल्क बढाउने निर्णय गरेका छन् । एकातिर शिक्षा महंगो र अर्को तिर सामुदायिकमा भर्ना दर कम भइरहेको अवस्थामा प्रदेश र संघीय सरकारसितको समय समन्वयमा शैक्षिक एकरुपता र गुणस्तरीयताको बृद्धिका लागि सबै सामुदायिक बिद्यालयमा अंग्रेजी माध्यम पठनपाठन संचालन आरम्भ गरिएको छ ।
प्याब्सनको ध्यानाकर्षण विज्ञप्ती
निजी तथा आवासीय विद्यालय अर्गानाईजेसन, नेपाल (प्याब्सन) ले पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिकामा निजी विद्यालयलाई गरिएको मर्जर प्रक्रियालाई अतिरञ्जित गरिएकोमा ध्यानाकर्षण भएको जनाएको छ । प्याब्सन पाल्पाका अध्यक्ष भरत प्रसाद न्यौपानलेद्धारा हस्ताक्षरित विज्ञप्तीमा अनावश्यक भ्रममा नपर्न सम्पूर्ण अभिभावक, शिक्षक तथा विद्यार्थीहरुलाई अनुरोध गरेको छ ।
तस्वीरः जल्पामा रहेको सरस्वती माविमा अध्ययनरत विद्यार्थीहरु ।