वास्तवमा हामी डरपोक छौ । डराएका छौ । भयाभित छौ । त्यही डर एवं भयाबाट मुक्ति पाउनका लागि भगवानको शरणमा पर्छौ ।

हामी मन्दिर धाउँछौ, यसकारण कि भगवनले कृपा गरोस् । हामी पूजाआजा गर्छौ, यसकारण कि, भगवान खुसी भइदियोस् । हामी उपवास बस्छौ, यसकारण कि भगवान सन्तुष्ट भइदियोस् । हामी धूपबात्ती बाल्छौ, यसकारण कि भगवानले गुनासो नगरोस् । हामी फूल-प्रसाद चढाउँछौ, पूजाआज गर्छौ, यसकारण कि भगवानले चित्त नदुखाइदियोस् ।

सोच्नुहोस् त, हाम्रो भगवान यति धेरै लोभी, यति धेरै कुष्ठित, यति धेरै वेखुसी, यति धेरै असन्तुष्टि छन् ? जसलाई हामीले खुसी बनाइरहनुपर्छ । हामीले सन्तुष्ट बनाइरहनुपर्छ ?

मन्दिर धाइरहेका एउटा व्यक्ति वास्तवमै डराएका हुन्छन् । उनलाई डर हुन्छ कि, मैले कुनै गल्ती-कमजोरी पो गरे कि ? उनलाई डर हुन्छ कि, कतै मेरो बिधी-विधान नपुग्ने पो हो कि ? उनलाई डर हुन्छ, कतै मेरो ढंग पुगेन कि ?

यस्तै डर एवं भय पालेर मन्दिर जान्छन् । जुत्ता खोल्छन् । परिक्रमा गर्छन् । मन्त्र जप गर्छन् । धूपबात्ती बाल्छन् । भगवानको प्रतिमा अघिल्तिर हात जोडेर झुक्छन् । र, मनमनै भन्छन्, ‘मेरो कल्याण गर ।’

हामीले भक्ति-भाव देखाएर हाम्रो कल्याण हुन्छ ? के भगवानले हामो पुकारा सुन्छन् ? अझ हामी त भगवानसँग अनेक डिमान्ड गर्छौ, त्यो पनि लोभ देखाएर ।

‘हे, भगवान मैले चिताएको फलानो काम पुरा भयो भने म अर्को पल्ट यस्तो भाकल पुरा गर्छु, यस्तो बली चढाउँछु ।’ यो भनेको त भगवानलाई आशा देखाएको, लोभ देखाएको होइन र ? के भगवान लोभी हुन्छन् । हामीले डिमान्ड गरेको पुरा गराउनका लागि उनलाई लोभ देखाउनु पर्छ ?

धेरैजसो त्यही कारण मन्दिर धाइरहेका हुन्छन् कि, आफ्नो आकंक्षा, इच्छा परिपूर्ति गराउन पाइयोस् । उनीहरुले धूप बाल्नु, दियो जलाउनु, आरती गर्नु, प्रार्थना गर्नु, परिक्रमा गर्नु, भोक चढाउनुमा ठूलो स्वार्थ लुकेको हुन्छ । कुनैपनि व्यक्ति विना स्वार्थ मन्दिर धाउँदैन । भगवानको शरणमा पुग्दैन ।

जब मनमा स्वार्थ बोकेर हामी भगवानको शरणमा पुग्छौ, जब हामी लोभ र आशा बोकेर भगवानको शहरण पुग्छौ, त्यो कुनै सार्थक कर्म होइन ।

के हामी भगवानप्रति आश्रति हुनुपर्छ । के हामी आफ्नो काम भगवानमार्फत गराउनुपर्छ । नेतालाई भनसुन गराए जस्तै भगवानलाई पनि भनसुन गराउनुपर्छ । वास्तवमा हामी गलत शैली अपनाइरहेका छौ । यसैलाई संस्कारको रुप दिएका छौ । हामी गलत संस्कारको अभ्यास गरिहेका छौ ।

यसको अर्थ यो होइन कि, मन्दिर धाउनु हुँदैन । पूजाआजा गर्नु हुँदैन । देवी-देवताप्रति आस्था राख्नुपर्छ । घण्ट-शंख बजाउनुपर्छ । आरती एवं प्रार्थना गर्नुपर्छ ।

यी सबै गर्नुपर्छ, तर बुझेर, जानेर ।

मन्दिर किन धाइन्छ, पूजापाठ किन गरिन्छ, जपतप गर्नुको अर्थ के छ, धूपबात्ती बाल्नुको महत्व के छ, शंख-घण्ट बजाउनुको कारण के हो ? यी सबैको वैज्ञानिक कारण छ । जब हामी धर्मलाई विज्ञानसँग जोड्दैनौ, त्यो ढोंग हुन्छ । आडम्बर हुन्छ । अन्धविश्वास हुन्छ । यसर्थ हामीले गर्ने जे जति धार्मिक कार्य छ, त्यसलाई वैज्ञानिक ढंगले केलाउनैपर्छ ।

मन्दिर किन धाउने ? यसको वैज्ञानिक कारण छन् । धुपबात्ती बाल्नुको बैज्ञानिक अर्थ छ । शंख र घण्ट बजाउनुको वैज्ञानिक महत्व छ । यी कुनैपनि काम ‘भाकल पुरा गराउन’ होइन ।

पूजाआजा गर्नु, धूपबात्ती बाल्नु, शंख घण्ट बजाउनुको आत्मिक र भौतिक दुबै महत्व छ । मनदेखि पर्यावरणसम्मलाई शुद्धिकरण गर्ने यी विधी हुन् । यी विधीमा वैज्ञानिक तथ्य छन् । विभिन्न वनस्पतिको धूप बाल्नु भगवानलाई खुसी बनाउन होइन । बरु वायुमण्डलमा रहेको जीवाणु नष्ट गरेर शुद्धिकरण गर्नु हो । यसको प्रभाव स्नायु प्रणालीमा पनि पर्छ । शंख बजाउनुको पनि यस्तै अर्थ र महत्व छ ।

हामीले यी सबैको मर्म र महत्वलाई बुझ्नुपर्छ । कुनैपनि कुरा जब बुझेर गरिन्छ, तबमात्र त्यसको प्रतिफल लिइन्छ । अन्धधुन्द वा भ्रममा परेर गरिने कुनैपनि कर्मले सार्थक नतिजा दिदैन । केवल  भ्रममै मात्र पार्छ ।