वीरगञ्ज : एभिन्युज खबरको वीरगञ्जस्थित ब्युरो कार्यालयमा सोमबार दिउँसो तोडफोड भएको छ । कार्यालयमा कर्मचारीहरू काम गरिरहेको बेला मुखमा कालो कपडा बाँधेर आएका केही मानिसले तोडफोड गरेर गएका हुन् ।
कार्यालय तोडफोड गर्ने समुहले आफुहरु समाजवादी पार्टीका कार्याकर्ता भएको बताएका थिए । वीरगञ्जस्थित एभिन्यूज खबरका संवाददाता मुस्कान श्रेष्ठका अनुसार कार्यालयमा काम गरिरहेको अवस्थामा साढे १२ बजेतिर मुखमा कालो पट्टी बाँधेका केही मानिसहरू आएर तोडफोड गरेका हुन् । उनले कार्यालयको सिसा फुटाएको अफिसको ब्यानर च्यात्नुका साथै क्यामरा तोडफाड गरेका थिए ।
उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग एभिन्युज खबरले सकस राजनीति कार्यक्रममा लिएको अन्तर्वार्ता आइतबार प्रसारण भएको थियो। अन्तर्वार्तामा सकस राजनीतिका प्रस्तोता सुशील पाण्डेले सोधेको प्रश्नको उत्तर नदिई यादव माइक निकालेर बीचैमा कार्यक्रम छोडेर बाहिर निस्केका थिए ।
सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल भएपछि समाजवादी पार्टीका कार्यकर्ताले त्यसैको आक्रोशमा वीरगञ्ज कार्यालयमा तोडफोड गरेका हुन् । अहिले प्रहरी घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान गरिरहेको छ।