पाल्पा, वैशाख २८
कालिगण्डकी करिडोरको पिपलडाँडा–रामपुर सडक स्तरोन्नतीले तिव्रता पाएको छ । करिडोर निर्माणले तिव्रता पाएसँगै यसक्षेत्रको विकासले फड्को मार्न थालेको छ । यसैबिच पाल्पा क्षेत्र नं. १ (क) र (ख) का प्रदेश सांसदहरुले कालिगण्डकी करिडोरले समेटेको क्षेत्रलाई ‘स्मार्ट कृषि’ को एकिकृत विकास गर्ने अभियान थालेका छन् ।
पाल्पाको रम्भा गाउँपालिकामा हुँगी स्मार्ट कृषि गाउँ र रामपुर नगरपालिका–१० लाई हेक्लाङ स्मार्ट कृषि गाउँ बनाइन कार्यक्रमको सार्वजनिकीकरण गरिएको छ । प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक कृषि स्मार्ट गाउँ कार्यक्रम’ अन्तरगत एकै क्षेत्रका जोडिएका दुई गाउँ कृषि स्मार्ट गाउँ छनौट गरिएको प्रदेश पाँचका प्रदेश सभा सदस्य नारायणप्रसाद आचार्यले बताए । रम्भा गाउँपालिकाको नौगाउँ, च्याङलिङ, साठी र खयरखारी समेटेर हुँगी स्मार्ट कृषि गाउँ बनाउन लागिएको हो । यस्तै रामपुरको हेक्लाङ, रामटार तथा कुमालगाउँलाई हेक्लाङ स्मार्ट कृषि गाउँ बनाईने भएको हो । रम्भाको ८३ घरधूरीको ३ सय ८५ रोपनी क्षेत्रलाई ४ ब्लक बनाएर कार्यक्रम सुरु गरिएको हो । यस्तै रामपुरको ८४ घरधूरीका ४ सय ९४ रोपनी क्षेत्रफलमा ‘स्मार्ट कृषि गाउँ’ बनाउने कार्यक्रम सार्वजनिक गरिएको हो । प्रदेश सभा सदस्य आचार्यले कालिगण्डकी करिडोरले प्रचुर सम्भावनाको बाटो बनाईएकोले दुई क्षेत्रलाई एउटै ब्लकमा पर्ने गरि स्मार्ट कृषि कार्यक्रम सुरु गरिएको बताए । उनी भन्छन्, ‘भारतदेखी चीनसम्मको व्यापारलाई एउटै सुत्रमा बाध्य करिडोर मुख्य माध्यमको रुपमा रहेको छ । निर्वाचित प्रदेश सांसदको सिफारिसमा प्राविधिक सम्भाव्यता अध्ययन गरेर कृषि स्मार्ट गाउँ छनौट गरिएको हो ।’
दुई स्थानीय तहका दुवै स्मार्ट कृषि गाउँमा तरकारी र मकैखेतीलाई प्राथमिकता दिइएको छ । प्रदेश नम्बर ५ प्रदेशसभा सदस्य युवराज खनालले कृषिलाई नमुना ढङ्गले अगाडि बढाउन प्रदेश सरकारले यो कार्यक्रम ल्याएको बताए । उनी भन्छन्, ‘‘परम्परागत रुपमा गरिँदै आएको कृषि पेशालाई आधुनिकिकरण गरि कम लागतमा उत्पादन बृद्धि गर्ने लक्ष्य रहेको छ ।’ कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले प्रदेश नम्बर ५ को ५२ स्थानमा स्मार्ट कृषि गाउँ कार्यक्रम लागू भएको बताउँदै यस कार्यक्रमबाट कृषकले प्रशस्त आम्दानीको स्रोत भित्राउन सक्ने बताए ।
स्मार्ट कृषि कार्यक्रममा एक कृषकले वार्षिक दुई लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालनमा ल्याइएको हेक्लाङ स्मार्ट कृषिका संयोजक नोलराज भण्डारीले बताए । हुँगी स्मार्ट कृषि गाउँ कार्यान्वयन समितिका संयोजक केदार बस्यालले बताए । उनी भन्छन्, ‘ यसका लागि प्रदेश सरकारले ५० लाख रुपैंया प्रति निर्वाचन क्षेत्र रकम विनियोजन गरेको छ । कार्यक्रममा सहभागि किसानले वा यहाँको स्थानीय तहले २० प्रतिशत खर्च योगदान गर्दैछ । हामीले जलवायुमा ३ लाख ४० हजार, सिंचाईमा १५ लाख १८ हजार, खाद्यमा ५ लाख ७५ हजार, प्रविधिमा १७ लाख ४३ हजार र बजारका लागि १२ लाख २५ हजार रकम विनियोजन गरेका छौं ।’ पहिलो वर्ष २० प्रतिशत दोस्रो वर्ष ३० प्रतिशत, तेस्रो वर्ष ४० प्रतिशत र चौथो वर्ष ५० प्रतिशत रकम सम्बन्धित स्थानीय तह, सहकारी, समूहले लगानी गरेर कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।
स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारबाट एक क्षेत्रमा ५० लाख गरी चार स्थानमा दुई करोड रुपैयाँ बराबरको रकम विनियोजन गरिएको छ । नयाँ सोचका साथ ल्याइएको यो कार्यक्रम प्रदेशसभा सदस्य तुलाराम घर्ती मगरको क्षेत्र तिनाऊ गाउँपालिका–२, झ्याङ्लाफाँट, नारायण आचार्यको रम्भा गाउँपालिका–१ हुँगी, युवराज खनालको रामपुर नगरपालिका–१० को हेक्लाङ र डाक्टर पुरनमान बज्राचार्यको तानसेन नगरपालिका–१४ को अर्गलीमा ‘स्मार्ट कृिष गाउँ’ कार्यक्रम सञ्चालन हुँदैछ । प्रदेश ५ सरकारले कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत २६ करोड ५२ लाख बजेटबाट माटोको सुधार, सिचाई, सूचना प्रविधी, पशुपालन भए पशुको आहारा (खुराक) सुधार, बजार पहुँचको सुनिश्चितता सानो सानो स्केलमा सीत भण्डारमा खर्च गर्न गरि स्मार्ट कृषि कार्यक्रम सुरु गरेको जनाएको छ । त्यस्तै किसानकालागि सहजकर्ता, प्राबिधिक सहजकर्ताले किसानलाई सहजिकरण गर्ने कार्यक्रम यसभित्र रहेको बताईएको छ ।
प्रदेश सरकारले प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रमा यो कार्यक्रम सञ्चालन गर्न लागेको हो । प्रदेश ५ कस् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले पहिलो वर्ष सरकारले ५० लाख रुपैंया योगदान गर्नेछ र त्यस पछिका वर्षमा कार्यक्रमको प्रगति हेरेर थप योगदान गर्ने सरकारको रणनीति बनाएको बताईन् । उनी भन्छिन्, ‘सम्भव भएसम्म सहकारीका माध्यमबाट मन्त्रालयले कार्यक्रम सञ्चालन गर्न चाहेको छ । सहकारीले नै किसानलाई विउविजन, मल सिचाई लगायतका सबै कुरामा सहयोग गर्दा सजिले हुन्छ भन्ने ठानेका छौं ।’