पाल्पा, वैशाख २६
पाल्पाको रम्भा गाउँपालिकामा हुँगी स्मार्ट कृषि गाउँ कार्यक्रमको सार्वजनिकीकरण गरिएको छ ।  रम्भा गाउँपालिकाको नौगाउँ, च्याङलिङ, साठी र खयरखारी समेटेर हुँगी स्मार्ट कृषि गाउँ बनाउन लागिएको हो । रम्भाको ८३ घरधूरीको ३ सय ८५ रोपनी क्षेत्रलाई ४ ब्लक बनाएर कार्यक्रम सुरु गरिएको हो ।

प्रदेश सभा सदस्य आचार्यले कालिगण्डकी करिडोरले प्रचुर सम्भावनाको बाटो बनाईएकोले दुई क्षेत्रलाई एउटै ब्लकमा पर्ने गरि स्मार्ट कृषि कार्यक्रम सुरु गरिएको बताए । उनी भन्छन्, ‘भारतदेखी चीनसम्मको व्यापारलाई एउटै सुत्रमा बाध्य करिडोर मुख्य माध्यमको रुपमा रहेको छ । निर्वाचित प्रदेश सांसदको सिफारिसमा प्राविधिक सम्भाव्यता अध्ययन गरेर कृषि स्मार्ट गाउँ छनौट गरिएको हो ।’

स्मार्ट कृषि कार्यक्रममा एक कृषकले वार्षिक दुई लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालनमा ल्याइएको हुँगी स्मार्ट कृषि गाउँ कार्यान्वयन समितिका संयोजक केदार बस्यालले बताए । उनी भन्छन्, ‘ यसका लागि प्रदेश सरकारले ५० लाख रुपैंया प्रति निर्वाचन क्षेत्र रकम विनियोजन गरेको छ । कार्यक्रममा सहभागि किसानले वा यहाँको स्थानीय तहले २० प्रतिशत खर्च योगदान गर्दैछ । हामीले जलवायुमा ३ लाख ४० हजार, सिंचाईमा १५ लाख १८ हजार, खाद्यमा ५ लाख ७५ हजार, प्रविधिमा १७ लाख ४३ हजार र बजारका लागि १२ लाख २५ हजार रकम विनियोजन गरेका छौं ।’ पहिलो वर्ष २० प्रतिशत दोस्रो वर्ष ३० प्रतिशत, तेस्रो वर्ष ४० प्रतिशत र चौथो वर्ष ५० प्रतिशत रकम सम्बन्धित स्थानीय तह, सहकारी, समूहले लगानी गरेर कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।
स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारबाट एक क्षेत्रमा ५० लाख गरी चार स्थानमा दुई करोड रुपैयाँ बराबरको रकम विनियोजन गरिएको छ ।