डडेलधुरा- डोटीको बडीकेदार गाउँपालिका-४, मान्नाकापडीको वडा कार्यालय सोमबार राति अज्ञात समूहले जलाइदिएकाे छ।

डोटीको दक्षिण क्षेत्रमा रहेको गाउँपालिकाको वडा कार्यालयको ढोका तोडफोड गरेर सामग्रीहरु एक ठाउँमा जम्मा गरेर आगो लगाइएको वडा नम्बर ४ का वडा अध्यक्ष वीरेन्द्र बहादुर कोटकेनीले बताए। उनले भने, ‘वडा कार्यालय गाउँभन्दा अल्लि माथि छेउमा छ, धेरै टाढाँ पनि छैन। तर, रातिको समयमा कार्यालयको ढोका फोडेर कागजपत्रसहित सबै सामग्रीहरु एक ठाउँमा जम्मा गरेर सुनियोजित तरिकाले जलाइएको छ।’

उनले जनतालाई सेवा दिने काममा अड्चन सिर्जना गर्ने दाेषीलाई पक्राउ गरी कडा भन्दा कडा कारबाही गर्नपर्ने अध्यक्ष कोटकेनीले माग गरे।

रातिको समयमा आयो लगाइएको भएपनि आज बिहान मात्र प्रहरीलाई जानकारी भएपछी इलाका प्रहरी कार्यालय बिपिनगरबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक विद्यानन्द माझीले बताए।

वडा कार्यालय जलाइनु दुःखद कुरा भएकाे बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दकाे भनाइ छ। उनले भने, ‘वडा कार्यालय भनेको जनताको कार्यालय हो, जनताका केही बिमतिहरु भए वडामा आफ्नो जनप्रतिनिधिसँग राख्ने हो।’ उनले यस सम्बन्धमा छानबीनका लागि एक समिति गठन गर्ने जनाए।

आगो कसले र किन लगायो भन्ने विषयमा केही पत्ता लागेको छैन। घटनास्थलतर्फ प्रहरी गइरहेकोले अनुसन्धानपछी मात्र घटनाबारे थप जानकारी पाइने वडाध्यक्ष काेटकेनीले बताए।

nepallive.com