पाल्पा, बैशाख १७
पाल्पामा प्रथम मुख्यमन्त्री रनिङ्ग शिल्ड प्रतियोगीता अन्र्तगत जिल्ला स्तरीय छनौट खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला स्तरीय खेलाडी छनौट प्रतियोगीतामा विभिन्न १० वटा स्थानिय तहका बिचमा प्रतियोगितात्मक खेलहरु सुरु भएका हुन् ।
पुरुष तथा महिला भलिबल तेक्वान्डो, डब्लुटिएफ, एथलेटिक्स (महिला तथा पुरुष), दौड प्रतियोगीता अन्तर्गत १ हजार ५ सय मिटर महिला र पाँच हजार मिटर पुरुष, सटपुट, व्याडमिन्टन महिला तथा पुरुष र बुद्धिचाल खेल विधामा खेल सञ्चालन गरिएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष करुणा काफ्लेले बताए । उनले विभिन्न खेलबाट ४१ जनाका लागि २ सय बढी खेलाडीहरु छनौटका लागी प्रतिस्पर्धामा उत्रिएको बताए । छनोट भएका खेलाडीहरु वैशाख २३ गते देखी हुने प्रदेश स्तरीय प्रतियोगीताका लागी सहभागीहुने कार्यालय प्रमुख तारा बहादुर थापाले बताए । मंगलबार भएको भलिबल तर्फको पहिलो खेलमा रम्भा गाउँपालिकाले बगनासकाली गाउँपालिकालाई २÷१ को सोझो सेटमा पराजित गदै दोश्रो चरणमा प्रवेश गरेको छ ।
प्रतियोगिता उद्घाटन गर्दै प्रदेश ५ का प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्यले खेलकूदले जीवनका हरेक गतिविधिलाई सबल र शसक्त बनाउदै लैजाने बताए । उनले खेलकूदलाई अपनत्व लिनु पर्नेमा जोड दिए । यस्तै प्रदेश सांसद विर बहादुर रानाले खेलकुदको विकासले मानव जीवनमा व्यायामका माध्यमबाट शरिर स्वस्थ्य राख्न मद्दत गर्ने बताए ।