पाल्पा, वैशाख ४

पाल्पाको मुझुङ्गमा न्यून परिवारमा जन्मिएका हुन् मिलन (२२) । बाल्यकाल रमाइलोसँग बित्दै थियो । आमाबुवा, साथीभाइसँग खेल्दै, रमाउँदै थिए मिलन ।

त्यत्तिकैमा मिलनको जीवनमा बज्रपात आइपर्यो । ९ वर्षको हुँदा आमाको निधन भयो । त्यसको ठीक १ वर्षपछि बुवाको निधन । समाजमा हल्ला त थिए, बुवाले सास छाड्ने बेला भने, ‘म एचआईभी संक्रमित हुँ ।’
समाजमा हल्ला फैलियो, मिलनका बुवाआमा दुवैको एचआईभीका कारण निधन भयो । त्यसै वर्ष मिलनको स्वास्थ्यमा पनि समस्या देखियो ।

‘शरीरमा एकाएक जनैखटिरा देखियो,’ मिलन सम्झन्छन्, ‘शंकाको भरमा सक्रिय सेवा समाजमार्फत रगत परीक्षणका लागि काठमाडौं ल्याइयो । नभन्दै रगतमा एचआईभी देखियो । म त गर्भबाट संक्रमित रहेछु ।’

मिलनले २१ दिन काठमाडौंको टेकु अस्पतालमा बिताए । त्यतिबेलासम्म गाउँ समाजमा हल्ला फैलिइसकेको थियो – मिलनलाई पनि एचआईभी लाग्यो । ‘एचआईभी प्राणघातक रोग हो भनेर रेडियो, टेलिभिजनमा सुनेको–हेरेको थिए,’ त्यो परिस्थिति सम्झँदै मिलन भन्छन्, ‘एकैछिन त धेरै रोएँ । तर आफूलाई सम्हाल्नु नै थियो ।’ त्यसपश्चात् शुरू भए उनका कष्टकर दिन ।

‘समाज अहिलेजस्तो कहाँ खुलेको थियो र ? एचआईभी भन्नेवित्तिकै धेरै घृणाको नजरले हेरिन्थ्यो,’ मिलन पीडा स्मरण गर्छन्, ‘मैले पनि आफ्नै परिवार, समाज, साथीभाइबाटै त्यही भोगें ।’

बाहिरको त कुरै छाडौं, आफ्नै हजुरबुवा, हजुरआमाले उनलाई हेयको भावले हेर्थे । मिलन सम्झन्छन्, ‘उहाँहरूमा पनि एचआईभी सम्बन्धी चेतना नै थिएन ।’ मिलन स्कूल जान्थे, पढ्न मन लाग्दैनथ्यो । साथीहरू खेलिरहेका हुन्थे, उनलाई खेल्न मन लाग्दैनथ्यो । धेरै साथीहरू उनी सँगसँगै बस्न, खेल्न चाहँदैनथे ।

मिलन केवल टोलाइरहन्थे । एकान्तमा रोइरहन्थे । तर रोएर के गर्नु ? उनले जे पाए त्यसैलाई स्वीकार्दै तिरस्कार र घृणासँग जुध्दै अगाडि बढे । पढाइलाई अगाडि बढाउँदै गए । ८ कक्षासम्म पाल्पाको सोमहरमा निःशुल्क पढे ।

त्यसपछि बतासेस्थित कालिका माविमा १२ कक्षासम्म अध्ययन गरे । त्यहाँ पनि उनले निःशुल्क पढे । सोही क्रममा एचआईभीसँग सम्बन्धित संस्था सक्रिय सेवा समाजसँग जोडिए । त्यहाँबाट केही पैसा कमाउन थाले । जसोतसो मिलनको जीवन चल्दै गयो ।

एक बेसहारा बालक । एकातिर बाल्यावस्थामै खान लाउनको संघर्ष, त्यसमाथि समाजको छिःछि र दुरदुर ।

एक पटक कल्पना गरौं त ! त्यो परिस्थिति एउटा भर्खरको बालकलाई कति कष्टकर हुँदो हो ? मिलन खड्काले आफ्नो बाल्यकाल ठ्याक्कै त्यहीँ परिस्थितिमा गुजारे ।


आफू ९ वर्षको हुँदा आमा गुमाए । १० वर्षको हुँदा बुवा गुमाए । मिलन सहाराविहीन बने । आफन्त, साथीभाइ, समाजको छिःछि र दुरदुर पाए ।

मिलनको बाल्यकाल निकै कष्टकर रह्यो । आजभोलि समय फेरिएको छ । समाज फेरिएको छ । समाजका सोचहरू फेरिएका छन् ।

त्योसँगै मिलनको दिनचर्या पनि फेरिएको छ । मिलन आजभोलि सचेतनाका लागि गाउँगाउँ पुग्छन्, गीत गाउनका लागि मेला–महोत्सव ।

 

गीतमार्फत् वेदना

मिलनले आफ्नो वेदना समेटेर गीत नै सार्वजनिक गरेका छन् ‘मनको बह’ –

कति राम्रो हुन्थ्यो होला मेरो यो जीवन
कति राम्रो हुन्थ्यो होला मेरो यो जीवन
यदि एचआईभी मलाई नलागेको भए
कति खुशी मन हुन्थ्यो, कति सुख जीवन हुन्थ्यो
कति खुशी मन हुन्थ्यो, कति सुख जीवन हुन्थ्यो
यदि साथमा आमाबुवा भइदिएको भए ।

मिलन समाजसँग खुलेका थिए । ४ वर्षअघि एचआईभी एड्स दिवसको अवसरमा आयोजित प्रतियोगितामा मिलनले गीत सुनाउने अवसर पाए ।

उनको गीतले कार्यक्रममा उपस्थित धेरैको मन छोयो । त्यत्तिकैमा १ जना (दोलख कार्की) ले उनलाई गीत रेकर्ड गर्ने सुझाव दिए । ‘तैले यति राम्रो गीत गाउँछन् । एचआईभी सम्बन्धी त्यति गीत पनि आएको छैन । यो गीत रेकर्ड गर्नुपर्छ । हामी के सहयोग गर्नुपर्छ, गर्छौ भन्नुभयो,’ मिलन सम्झन्छन् ।

मिलनको आर्थिक अवस्था निकै कमजोर थियो । सो समय इन्द्रेणी समाज केन्द्रमा कार्यरत शम्शेर सारु, नेपाल परिवार नियोजन संघ लगायतको सहयोगमा आफूले गीत रेकर्ड गरेर भिडियो बनाएको मिलन बताउँछन् ।

त्यसयता उनलाई गीतसंगीतले पनि क्रमशः तान्दै गयो । हालसम्म १ दर्जन सेरोफेरोमा गीत सार्वजनिक गरेका छन् ।

सचेतनामा मिलन

मिलन अहिले एचआईभी एड्सको क्षेत्रमा काम गर्ने संस्था ‘प्रतिवद्ध सहयोग समूह’मा कार्यरत छन् । नेपाल परिवार नियोजन संघ पाल्पा शाखामा पनि आवद्ध छन् । सदरमुकाम तानसेनमा बसेर मिलन यी २ संस्थाबाट गाउँगाउँमा सचेतनाका लागि हिँड्छन् ।

मिलनले एचआईभी, गर्भनिरोधक साधनबारे जानकारी र वितरण, असहाय एचआईभी संक्रमितलाई सचेतना, उनीहरूलाई सहयोगका लागि अन्य संस्थासँग सहयोगको आग्रह गर्दै आएका छन् । त्यसबाहेक सांगीतिक कार्यक्रममा पनि मिलनलाई निमन्त्रणा आउने गरेको छ ।

‘कतिपय कुराहरू मुखले बोलेर मात्र भन्दा गीतमार्फत बढी प्रभावकारी हुन्छ । त्यसैले कार्यक्रममा गीतमार्फत पनि सचेतना दिँदै आएको छु,’ उनले भने ।

अहिले चेतनशील हुँदैछ समाज

मिलन आफूले बाल्यकालमा जे भोगे, अहिले समाज धेरै चेतनशील भएको बताउँछन् । हजुरबुवा, हजुरआमा बुझ्ने भएका छन् । समाजमा हेयको भावना निकै कम भएको छ ।

‘अहिले पहिलेजस्तो छैन । समाज धेरै बुझ्ने भएको छ,’ मिलन भन्छन्, ‘मेरै कुरा गर्दा पहिले हेलाको भावले हेर्नेहरू अहिले नजिक भएका छन् ।’ त्यसको पछाडि सचेतना भएको उनको बुझाइ छ ।

मिलन अहिले २२ वर्ष पुगेका छन् । एचआईभीको औषधि नियमित सेवन गर्छन् । आउँदा दिनमा पनि जीवनभर औषधि सेवन गरिरहनुपर्छ । डाक्टरको सल्लाह छ, सकेसम्म रमाइलोमा हिँड्नु । आफूलाई खुशी बनाउनु । उनी पनि त्यसै गर्छन् ।

‘अजम्बरी को छ र संसारमा ? सबैले एकदिन मर्नु नै छ । चिन्ता लिएर के गर्नु ? म सकारात्मक सोच लिँदै जीवनलाई उर्जाशील बनाएर खुशी साथ बिताउन चाहन्छु,’ मिलन भन्छन् ।
विवाहबारे मिलन भन्छन्, ‘कोही एचआईभी संक्रमित मन मिल्ने केटी पाए भने विवाह गर्छु । नत्र यो जीवन यत्तिकै खुशी साथ बिताउने प्रयास गर्नेछु ।’

अहिले समाज खुला हुँदै गएपनि नखुल्ने एचआईभी संक्रमितहरू पनि प्रशस्तै छन् । मिलन आफू अरुभन्दा फरक र प्रेरणादायी बनाउन चाहन्छन् ।

‘आफू त संक्रमित भए । अरु संक्रमित हुन नपरोस् । मैलेजस्तो दुःख पाउन नपरोस् । त्यसैले आउँदा दिन सचेतनामा बिताउने छु,’ मिलन भन्छन्, ‘यता गीतसंगीतले मलाई साथीभाइ दिएको छ । मलाई खुशी हुने बाटो दिएको छ । यसलाई पनि निरन्तरता दिनेछु,’ उनले भने । शुसील नेपाल (लाेकान्तर)