आइतबार सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयर दुर्घटनामा परि समिट एयरकै कोपाइलट सुजित ढुंगानासहित नेपाल प्रहरीका दुई सहायक निरीक्षकको मृत्यु भयो।

घटनास्थलमै मृत्यु भएका कोपाइलट ढुंगाना चार महिनाअघि मात्रै मल्टी क्रु रिसर्च (एमएमसी) तालिम लिएर आएका थिए। जनवरी १९ तारिखमा फर्किएका उनी चेकेस्लोभाकियाबाट फ्लाइङ तथा ग्राउन्डिङसँग सम्बन्धित तालिम लिएर फर्किएका थिए। यो तालिम पाइलट तथा कोपाइलटका लागि ककपिटमा बस्ने प्रक्रियासँग सम्बन्धित हो।

युरोपियन स्ट्यान्डर अन्तर्गत पर्ने उक्त तालिम धेरै महँगो हुने नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान)ले जनाएको छ। क्यानको नियमअनुसार उक्त तालिम पाइलट तथा को पाइलटले अनिर्वाय लिनुपर्छ।

सन् १९८५ जुलाई २५ मा ओखलढुंगामा जन्मिएका उनी काठमाडौंको चाबाहिलमा बस्दै आएका थिए। समिट एयरका अप्रेसन म्यानेजर सागर आर्चायका उनी १२ फेब्रुअरी २०१७ मा समिट एयरमा आवद्ध भएका थिए। निकै भलादमी र मिजासीलो स्वाभावका ढुंगाना अविवाहित थिए। माध्यमिकसम्मको शिक्षा ओखलढुंगामै लिएका ढुंगानाले पाइलट कोर्स फिलिपिन्सबाट गरेका हुन्।

ढुंगानले फेसबुकमा आफ्नो नाम सुजित लामा ढुंगाना राखेका थिए। बाबुआमाबीच अन्तर्जातीय विवाह भएको हुनाले उनले फेसबुकमा आफ्नो बुबा र आमा दुवैको थर राखेका हुन्।