सामाजिक सञ्जाल ट्विटरका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीसँग यति सम्पत्ति छ कि उनी दैनिक हजारौँलाई भोजन गराउन र दिनभरि गाडीमा सहर घुमाउन सक्छन्।

ट्विटरको सन् २०१८ को कमाइ ३ अर्ब ४० करोड अमेरिकी डलर भएको छ। उनी आफैँ ५ अर्ब ५० कारोड डलर (६ खर्ब ५१ अर्ब रूपैयाँ) सम्पत्तिका मालिक हुन्।

त्यति धनी डोर्से दिनमा केवल एक छाक खान्छन्। पाँच माइल हिँडेर कार्यालय जान्छन्। त्यति मात्र हैन सप्ताहान्तमा निराहार बस्ने उनी दैनिक तीनपल्ट चिसो बरफपानी (आइस वाटर) ले नुहाउँछन्। र साधुसन्तले झै ध्यान गर्छन्।

तनाब नियन्त्रणका लागि अत्यन्त कठोर खानपान शैली र व्यायामका साथै घण्टौं ध्यान गर्ने गरेको उनी बताउँछन्। ४२ वर्षे डोर्से केवल बेलुका ६ः३० देखि ९ः०० को समयबीचमा मात्र एक छाक खान्छन्। त्यसैगरी आफ्नो मस्तिष्कलाई तरोताजा राख्न ध्यान गर्छन्। तातोपानीले नुहाउन छोडेका उनी दैनिक पैदल अफिस जाने–आउने गर्छन्। यसो गर्दा दिनहरू लामा लाग्ने गरेको र काम गर्ने जाँगर लाग्ने गरेको बताए। यो बानीले रातमा पनि निकै राम्रोसँग निद्रा लाग्ने गरेको उनको अनुभव छ।

दिनमा एक छाक मात्र खाने डोर्सेले, खानामा कुखुराको मासु, माछा, तरकारी रुचाउँछन्। डेजर्टका रूपमा डार्क चक्लेट वा बेरी लिन्छन्। कहिलेकाहीँ रेड वाइन पनि लिने उनले वाइन अलि धेरै भएमा भने निद्रामा खलल पुग्ने बताए।

सप्ताहन्तमा निराहार बस्ने डोर्से नयाँ सप्ताहको सुरुवात् भने हड्डी सुप खाएर गर्ने गर्छन्। ‘म शुक्रबार देखि आइतबारसम्म केही खान्न। एकैचोटी आइतबार बेलुका मात्र केही खान्छु। यस्तो मैले तीन पटकसम्म गरेँ र केवल पानी मात्र खाने गर्छु,’ डोर्सेले भने।

‘जब मैले पहिलो पटक यस्तो गरेँ तेस्रो दिन त मलाई भ्रम भएजस्तो भयो। तर पछि पछि बानी पर्यो र हामी कति खानाको वरपर सोचेर मात्र दिन कटाउँछौ भन्ने पनि लाग्यो। खाना खाने गति सुस्त गर्न भन्दा निराहर नै रहने सोच पनि आयो’, उनी भन्छन्।

पूरक भोजनका रूपमा मल्टीभिटामिन र अलि धेरै मात्रामा भिटामिन सी लाई खानासँगै लिने डोर्से त्यसपछि आइफोनको नोट एपमा दैनिकी लेख्छन् र सुत्न गएको १० मिनेटमै निदाउँछन्।

१० दिने विपश्यना ध्यान गरेका ज्याक डोर्से ध्यानकै लागि यो वर्ष टेक्सास र गत वर्ष म्यानमारको ध्यानकेन्द्र समेत पुगेका थिए। अध्ययन, लेखन र कुनै पनि प्राविधिक ग्याजेट बिना १० दिन बिताएका उनले बिहानको ४ः३० देखि बेलुकाको ९ः०० बजेसम्मको सम्पूर्ण समय ध्यानमा नै खर्चेका थिए।

म्यानमारमा दान कार्यक्रममा सहभागी हुँदै गरेको डोर्सेको भिडियो (कालो पहिरन लगाएका)

डोर्से दिनचर्याका ११ काम
१. ध्यानः उनी दिनमा दुई पटक ध्यान गर्छन्। ध्यान अवधिका लागि दुई घण्टा उनले छुट्याएका छन्।

२. हिँडाइः हिँडेरै कार्यालय जाने उनी दैनिक १ घण्टा १५ मिनेट जति पैदल हिँड्छन्। हप्तामा दुई दिन भने घरबाटै काम गर्छन्।

३. व्यायामः नहिँड्ने दिनमा उनी, मोबाइल एपको मद्दतमा घरमै सात मिनेट व्यायाम गर्छन्।

४. साउना तथा आइस बाथः साउनामा बाफिने र आइस वाटरले नुहाउने उनले साउना तथा बाथका लागि १ घण्टा समय खर्चिन्छन्।

५. इन्फ्रारेड किरणः भित्रैबाट तातिनका लागि इन्फ्रारेड किरणलाई उत्सर्जन गर्ने साउना टेन्ट प्रयोग गर्ने उनले आफ्नो टेबलमा त्यस्तै प्रविधि जडान गरेका छन्।

६. चिसो पानीः आइस बाथबाट दिनचर्या शुरु गर्ने डोर्से नुहाउनका लागि कहिल्यै तातोपानीको प्रयोग गर्दैनन्।

७. एक छाक खानाः बेलुका ६ः३० देखि ९ का बीचमा मात्र खाना खाने उनले अन्य समयमा केही पनि खाँदैनन्।

८. निराहार सप्ताहान्तः शुक्रबार बेलुकादेखि आइतबारसम्म केही नखाइ निराहार बस्ने डार्से, हड्डीको सुपबाट आफ्नो दुई दिनको निराहार दैनिकी भंग गर्छन्।

९. पूरक भोजनः पूरक आहारका रूपमा उनी भिटामिनहरू र विशेषगरी अत्यन्त धेरै मात्रामा भिटामिन सी लिने गर्छन्।

१०. निद्रा अनुगमनः आफ्नो निद्राको अनुगमन गर्न डोर्सेले औरा रिङ लगाउँछन्। उनका अनुसार १० मिनेट भित्रै निदाउन सक्ने उनलाई अलि बढी वाइन पिएको दिन दिन निदाउन गाह्रो हुन्छ।

११. दैनिकी लेखनः डोर्सेले टिपोट लेखेर दिनको अन्त्य गर्ने गर्छन्। भोलीका दिनमा उत्पादकत्व बढाउने योजनालाई टिपेर, लेखेर राख्ने गर्छन्। त्यसका लागि उनी आइफोनको नोट एपलाई प्रयोग गर्ने गर्छन्।