लहानको भोटियाटोल चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारीमा नयाँ वर्षमा मात्र फुल्ने फूल हेर्न देशका अधिकांश जिल्ला र भारतका विहारबाट आउनेहरूको घुइँचो लाग्ने गर्छ।

‘सहलेस’ फूलबारीमा रहेको ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ ओइलाएर जान्छ। उक्त रुख फूलबारीको मध्यभागमा रहेको राजा सलहेसका प्रेमिका मालिनीको गहबर (मन्दिर) सँगै टाँसिएको छ।

माला आकारको सेतो फूलको थुँगा जस्तो देखिने र साँझपख मौलाएर जानु खोजकर्ताका लागि अनौठो र रोचक विषय भएको छ। वनस्पतिविद्का अनुसार छैटौं र सातौं शताब्दीदेखि जस्ताको त्यस्तै रहेको यो रुख र अचम्मको फूलबारे कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन।

को थिए राजा सलहेस?

किंवदन्तीअनुसार छैटौं र सातौं शताब्दीदेखि मधेश भूमिको गढ महिसोथा भन्ने ठाउँमा थियो। जुन अहिले सिरहा नगरपालिकामा पर्छ। त्यसबेला त्यहाँका सामन्त भूपाल सोमदेव र मन्दोदरीका कोखबाट वीरबालक जयवर्द्धन(सलहेस) को जन्म भएको थियो।

उनी सानै उमेरदेखि सौर्यवान, प्रखर बुद्धिमान् थिए। सलहेसको समय कृषि र पशुपालनको प्रारम्भिक युग थियो। त्यसबेला उत्तरका किरात प्रदेश तिब्बत र भुटानबाट अन्नबाली र पशु लुटेर लान महिसोथामा बारम्बार आक्रमण हुने गर्थ्यो। भोट र किंरातको आक्रमण रोक्न सलहेसका बुबा सोमदेव तरेगनागढ हालको लहान बजारभन्दा चार किमी उत्तरतर्फ का राजा हिन्दूपति शमशेर भण्डारीलाई सघाउन गए।

भोट र किंरातसँग भएको युद्धमा सोमदेवले सहादत प्राप्त गरेपछि जेठो छोराको हैसियतले सहलेस महिसोथाका गढपति बने। सहलेस गढपति भए पनि कोसीदेखि पश्चिम गण्डकीसम्म उत्तर हिमालयको पदम प्रदेश र दक्षिण गंगासागरसम्म आफ्नो सैन्य संगठनलाई सुसंगठित पारेका थिए।

पकडियागढीकी राजकुमारी चन्द्रावतीको नौलखा हार चोरी प्रकरणमा सहलेस समातिएपछि मालिनी नामकी सुन्दरीले सहयोग गर्दा सहलेस र मालिनीबीच प्रेम भएको भन्ने किंवदन्ती छ।

राजा सहलेस दलितमध्ये दुसाध जातिको भएकाले आज पनि जहाँ–जहाँ दुसाध जातिका मानिस बस्छन् त्यहाँ सलहेसको मन्दिर बनाइ देवताका रुपमा पूजाआजा गर्ने परम्परा छ। लहान नगरपालिकादेखि चार किमी पश्चिम दक्षिणमा ११ बिघा क्षेत्रफलमा फैलिएको फूलबारीमा बैसाख १ गते मात्र फूलमाला देखापर्छ र दिन ढल्कँदै जाँदा बिस्तारै ओइलाउँदै जान्छ।

उक्त फूल हेर्न भारतबाट समेत मानिस आउने र मेला भर्ने गर्छन्। मेलाको दिन थुप्रै युवा जोडी आएर ती फूललाई साक्षी मानी प्रेमविवाह गर्छन्। मधेशमा अहिले पनि गाउँ गाउँमा गीत र महराई मार्फत सलहेस गाथा गाउने परम्परा जीवितै छ। यता, सलहेससँगै जोडिएको पोखरियागढमा बैसाख २ गते मेला लाग्ने गरेको छ भने सोही दिन पतारी पोखरी मेला लाग्ने गरेको छ।