पाल्पा, चैत ३०

रामपुर नगरपालिका–४ मा रहेको मदरसा नुरुल हुदा आधारभूत विद्यालयमा दुई दिने शिक्षक क्षमता अभिबृद्धि तालिम कार्यशाला गरिएको छ । मदरसा विद्यालयका एघार जना, सीताराम माविका छ जना र रामपुर आधारभूत विद्यालयका तीन जना शिक्षकहरू बिच कार्यशाला गरिएको हो ।
कार्यशालामा कक्षाकोठामा प्रयोग हुने अंग्रेजी भाषा अभ्यास, पाठ विश्लेषण, पाठ योजना निर्माण, अंग्रेजी माध्यममा शिक्षण गर्ने विधि तथा क्रियाकलापहरू, विश्लेषणात्मक प्रश्न निर्माण, मनोरञ्जनात्मक बालमैत्री सिकाइ क्रियाकलापहरू, बालअधिकार तथा बालकेन्द्रित शिक्षण क्रियाकलापहरू सम्बन्धी अभ्यास गरिएको थियो ।
मदरसा विद्यालय सञ्चालक समितिका अध्यक्ष शाहदत हुसेन र प्रधानाध्यापक मोहम्मद सलिमले तालिममा आर्जन गरेका सिपको कक्षाकोठामा उपयोग गरी नवीनतम विधिको उपयोग गर्नुपर्ने बताए । विद्यालयका सहायक प्रधानाध्यापक मोहम्मद अलिले विभिन्न क्रियाकलापका माध्यमबाट बालमैत्री तरिकाले शिक्षण गर्ने सिपको विकास भएको बताए । कार्यशालामा शिक्षा तालिम केन्द्रका प्रशिक्षक गोपाल प्रसाद बश्यालले सहजीकरण गरेका थिए । उनले गुणस्तरीय शिक्षाका लागि शिक्षकको गुणस्तर आवश्यक पर्ने भएकाले स्वयम्लाई अद्यावधिक गर्न शिक्षकहरूलाई आग्रह गरेका थिए ।
रामपुरको इस्लामपुरमा रहेको मदरसा विद्यालय मुस्लिम समुदायका बालबालिकालाई इस्लामिक शिक्षा दिने उद्देश्यलेसञ्चालनमा ल्याइएको हो । निजी शैक्षिक गुठी पोखरामा दर्ता गरी काठमाडौँ शिक्षा विभागबाट स्वीकृत प्राप्त गरेपछि विसं २०५३ देखि नियमितरुपमा विद्यालय सञ्चालनमा आएको छ । रामपुर क्षेत्रमा मुस्लिम समुदायका लागि विद्यालय तहमा इस्लामिक शिक्षा सञ्चालन नहुँदा घरघरबाट चन्दा उठाएर विद्यालय सञ्चालन गर्दै आएका छन् ।