पाल्पा, २९ चैत्र
बगनासकाली साहित्य परिषद्ले बगनासकाली गाउँपालिकाको सभाकक्षामा पहिलो औपचारिक कार्यक्रम ग¥यो । परिषद्ले आयोजना गरेको सिर्जना वाचन तथा शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार भव्यताका साथ सम्पन्न भयो ।

नयाँ वर्ष २०७६ सालको सन्दर्भ पारेर आयोजना गरिएको कार्यक्रममा जमघट भएका सर्जकहरूले विविध विधाका सिर्जनाहरू जनप्रतिनिधिहरूका माझ प्रस्तुत गरे । साहित्यिक सिर्जनामार्फत सर्जकले गाउँपालिकाको विभिन्न विकास निर्माणका गतिविधि, सांस्कृतिक तथा सामाजिक विषयवस्तुहरूमा भएका प्रगति लगायतका विषय पनि उठाउन छुटाएनन् ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका प्रमुख कृष्णप्रसाद बश्यालले सर्जकका सिर्जनाले परिवर्तनका विषयवस्तु उजागर गरेको महसुस भएको बताए । उनले समृद्ध बगनासकाली निर्माणका लागि साहित्यकारका सिर्जनाबाट सुझाव पाएको जनाए । बश्यालले बगनासकाली साहित्य परिषद्ले यस भेगमा साहित्यिक गतिविधिका माध्यमबाट गाउँपालिकामा भएका राम्रा नराम्रा विषयवस्तुको उठान गर्न आग्रह गर्दै साहित्यको क्षेत्रमा उदयमान साहित्य परिषद्को व्यापीकरणका लागि गाउँपालिकाले आवश्यक सहयोग उपलब्ध गराउने वचन दिए ।

प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले साहित्यले सामाजिक विकृति मात्र उजागर नगरी गाउँपालिकाको विकासमा रचनात्मक सुझाव दिन सक्ने भन्दै गाउँपालिकाको विकासमा कविहरू सक्रिय हुने बेला आएको औंल्याए । उनले गाउँपालिकामा साहित्यिक गतिविधिको व्यापीकरणका लागि पालिकाले आवश्यक रकम छुट्याउने बताए ।

परिषद्का संरक्षक राजेन्द्रगोपाल सिंहले साहित्यकारले अग्रज र अनुजलाई सन्तुलनमा राखेर साहित्यिक जागरण ल्याउनुपर्ने जनाए । उनले रहरले साहित्यकार नबनीने भएकाले साहित्यकारले साधना गर्नुपर्नेमा जोड दिए ।

पाल्पा साहित्य समाजका अध्यक्ष पुष्करराज रेग्मीले साहित्यिक संस्थाहरू गोलबद्ध भई सामाजिक–सांस्कृतिक क्षेत्रको विकासमा सक्रियता जनाउनुपर्नेमा जोड दिए ।
साहित्यकार डा.शंकरप्रसाद गैरेरे साहित्यकारहरू अवस्था अनुसार अराजक पनि बन्नुपर्ने बताउँदै साहित्यिक विकासका लागि साहित्यिक संस्कारको पनि विकास हुनुपर्ने जनाए ।

पोखराथोक साहित्य संगमका अध्यक्ष हरि भट्टराईले नयाँ साहित्यिक संस्थाहरूको गठन र क्रियाशिलताले पूराना साहित्यक संस्थालाई सक्रियता जनाउन उत्प्रेरणा भर्ने जनाए ।

कार्यक्रममा राजेन्द्रगोपाल सिंह, पुष्करराज रेग्मी, डा. शंकर गैरे, भोजराज भट्टराई, गोम विक्रम क्षेत्री, ज्ञानु न्यौपाने, गणेश नेपाली, कमल भट्टराई, फणिन्द्र बस्याल, शान्ति अधिकारी, लोकनाथ खनाल, सुन्दर घिमिरे, जनक भण्डारी, सुप्रीम काकी लगायतका स्रष्टाहरूले विभिन्न विधामा सिर्जना वाचन गरेका थिए ।

बगनासकाली साहित्य परिषद्का अध्यक्ष भोजराज भट्टराईको अध्यक्षतामा चलको कार्यक्रममा परिषद्का उपाध्यक्ष गोमविक्रम क्षेत्रीले स्वागत र उद्घोषण सचिव ज्ञानु न्यौपानेले गरेका थिए ।