पाल्पा, चैत २९

तानसेन नगर युवा परिषदको अध्यक्षमा युवा व्यवसायी गुरास आत्रेय निर्वाचित भएका छन् । वडा तहबाट छनौट भएर आएका ७१ जना युवाहरुको भेलाले आत्रेयलाई अध्यक्ष र धनेन्द्रराज घिमिरेलाई महासचिवमा निर्वाचित गरेको हो । ९ सदस्यिय समितिको उपाध्यक्षमा पबित्रा गैरे र सचिवमा विवेककाजी साक्य निर्वाचित भएका हुन् ।

निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिँदै तानसेन नगर उपप्रमुख लक्ष्मी पाठकले विकासको संबाहक युवाहरुले तानसेन नगरलाई नमुना बनाउन रचनात्मक कार्य गरेर अघि बढ्नुपर्ने बताए । उपप्रमुख पाठकले युवाहरुको सकारात्मक सोंचलाई समाज रुपान्तरणमा लगाउने नगरपालिकाको उद्देश्य रहेको बताए । नेपाल बार एसोसियसन पाल्पाका अध्यक्ष जोग बहादुर विकले युवा लक्षित कामको लागि सहज तरिकाले सर्वसम्मती गरेर नेतृत्व चयन गरेको भन्दै तानसेनका युवाहरुमा सकारात्मक सोंच भएको बताए । नवनिर्वाचित अध्यक्ष आत्रेयले नगरपालिकाले युवाको क्षेत्रमा नयाँ र रचनात्मक काम गर्ने अवसर दिएको बताउनुभयो । जिल्लाका अन्य स्थानिय तहको अगाडि नमुना काम गर्दै सफल स्थानिय सरकारको सारथि बन्न युवा परिषद दृढ रहने अध्यक्ष आत्रेयले बताए ।

भेलालाई सहजिकरण गर्दै तानसेन नगरपालिका सामाजिक विकास समिति संयोजक दिपक विकले तानसेन नगरपालिका सधै युवाको पक्षमा भएको भन्दै निर्वाचित समितीले उदाहरणिय काम गर्नेमा नगरपालिका विस्वस्त रहेको बताए । निर्वाचित समितीले तानसेन नगरपालिका भरी युवा क्षेत्रको शिक्षा, स्वास्थ्य, खेलकुद, रोजगारी लगाएतका बिषयमा काम गर्नेछ ।