कालिगण्डकीको महिमा जोगाउनु आवश्यक
पाल्पा, चैत २४
कालिगण्डकी नदीको प्राकृतिक, साँस्कृतिक एवं वैज्ञानिक महत्व रहेकोले कालिगण्डकी नदीको संरक्षणमा जोड दिईएको छ । आईतबारबाट रम्भा गाउँपालिका १, टोकलक साठीबजारमा सुरु भएको श्री रमणेश्वर महादेव देवी भागवत गीता ज्ञान विज्ञान महायज्ञका वक्ताहरुले यस्तो बताएका हुन् ।

कालिगण्डकी नदीको वैज्ञानिक महत्व रहेको चैतन्यकृष्ण प्रभुले बताएका छन् । महायज्ञका प्रमुख कथावाचक चैतन्यकृष्णले संस्कार र संस्कृति नभएको मानिसले जीवन र जगतलाई परिभाषित गर्न नसक्दा सांसारिक सुखमा रमाउन नसक्ने बताए । श्री रमणेश्वर महादेव मन्दिरका संस्थापक डा. बिष्णुदेव पन्तले धर्म, संस्कृति र परम्पराका माध्यमबाट सांसारिक सुख प्राप्ति हुने बताए । यस्तै पूर्व सांसद शंकरप्रसाद पाण्डेले कालिगण्डकीको महिला अलौकीक रहेको बताउँदै कुनै पनि नयाँ आवश्यताका कारण कालिगण्डकीलाई स्वरुप परिवर्तन गराउन नहुने बताए ।
आईतबार चैत २४ गतेदेखी चैते दशैंको अवसर पारेर सुरु गरिएको महायज्ञ ३० गतेसम्म सञ्चालन हुनेछ । यज्ञ सम्पादन समितिका महासचिव नारायणप्रसाद भट्टराइले धर्म संस्कृतिको संरक्षण गर्दै बृहत योग पीठ निर्माणार्थ महायज्ञ सुरु गरिएको बताए । उनी भन्छन्, ‘एक हजार जना अट्ने क्षमताको योग पीठ निर्माण गरिनेछ । रमणेश्वर महादेव धामको प्रचारप्रसार गरि धार्मीक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यबाट महायज्ञ गरिएको हो ।’
यज्ञ सम्पादन गर्नको लागि १ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको महासचिव नारायणप्रसाद भट्टराइले बताए । उनले धार्मीक पर्यटकीय विकास गर्दै योग केन्द्र स्थापना गर्न सात दिनसम्म यज्ञ सञ्चालन गर्न लागेको बताए । ६७ रोपनी क्षेत्रफलमा फैलिएको मन्दिरको प्रचारप्रसारको अभाव रहेको भन्दै थप प्रचारप्रसार गर्न रमणेश्वर महादेव सेवा समितिको आयोजनामा कार्यक्रम सञ्चालन हुन लागेको जनाएको छ ।
युवा तथा समाजको आधुनिकतालाई कथावस्तुमा प्रस्तुत गरेर आत्धात्मिक ज्ञान बाड्दै चैतन्यकृृष्ण प्रभुबाट कथावाचन हुँदैछ । विषय सन्दर्भलाई जोडेर नेपाल भूमिको महिमा, यहाँ रहेको साधन, स्रोत एवं प्रकृतिप्रदत्त संपदा आदिको र धार्मिक एवं आध्यात्मिक दृष्टिबाट नेपालसँग अन्य मुलुकको तुलना नहुने कृष्णचैतन्यको सारगर्भित प्रवचन हुने गर्छ ।