राजेशकुमार अर्याल

पाल्पा, चैत २३

‘सामुदायिक सञ्चार, विकासको आधार’ नारा मात्र होइन, व्यवहारमै प्रमाणित गरेर देखाउने रेडियो स्टेशन हो सामुदायिक रेडियो मदनपोखरा(सारेम) ।

यसले सरकार मात्र होइन, गैरसरकारी क्षेत्र त्यसमा पनि विशुद्ध समुदाय आफैले रेडियो चलाउँछन् भन्ने सन्देश दिन सफल भएको छ । वास्तवमै यो रेडियो आफैले आफैलाई सामुदायिक घोषणा गर्ने र तद्अनुकुलको चरित्र अवलम्बन गर्न पहलकदमी लिने सञ्चार संस्थाका रुपमा स्थापित छ ।

यसले समुदायलाई ज्ञान, सूचना र मनोञ्जन त दिएकै छ, अझ पाल्पालीलाई गर्व गर्ने इतिहास पनि रचिदिएको छ । दक्षिण एसियाकै पहिलो ग्रामीण रेडियो, नेपालकै नमुना र आदर्श रेडियो, सामुदायिक रेडियोको मानक रेडियो, यी र यस्ता अनेकन विशेषणले यसको ख्यातिलाई उजागर गर्दछ । यो अहिले पाल्पालीलाई सूचना र सञ्चारको पहुँचमा पुर्‍याउने एक विश्वासिलो माध्यम हो ।

२०५२ सालदेखि वैधानिक प्रक्रियाको खोजीमा हिँडेका विकासप्रेमीहरूले २० वाटको एफएम रेडियो चलाएर समुदायको सहयोगी बन्ने सपना देखेका थिए । त्यो सपना माडी उपत्यका अडियो प्रसारण केन्द्रले सामुदायिक गतिविधि प्रसारण गर्दा समुदायको माया र स्नेह पाएपछि रेडियो चलाउने सपना देख्न पुगेका थिए । मदनपोखरेली नागरिकको इच्छाले रेडियो कानुनको खोजी गर्‍यो । कानुन कार्यान्वयनको बाटो खोज्यो । रेडियो चलाउने इजाजतको पहुँचमा पुग्यो । २०५५ साल पौष १८ गते सामुदायिक रेडियो मदनपोखरा चलाउने इजाजत पत्र (लाइसेन्स) प्राप्त गरेपछि यसका अगुवाहरू ढुक्क भए ।

तत्कालीन समयमा एफएफ १०६ थोप्लो ९ मेगाहर्जको फ्रिक्वेन्सी प्राप्त गर्नु आफैमा प्रतिस्पर्धामा जित हासिल गर्नु, लडाइँमा विजयी बन्नु जस्तै थियो । त्यो दिन जनताले रेडियो चलाउन पाउनुपर्छ भन्ने संर्घषले सफलता पाएको सन्दर्भ थियो । आँट र साहसले सफलता पाएको दिन थियो । अझ २०५६ सालमा एक दिन पाल्पाली आकाशमा ‘यो सामुदायिक रेडियो मदनपोखरा हो’ भन्ने आवाजको तरङ्ग फैलियो । खुशी फैलियो ।

मदनपोखरा गाउँको अग्लो स्थानमा रहेको एउटा बार्दलीवाला घरको एउटा कोठामा स्टुडियो बन्यो । जहाँ एउटा ढोकाबाट रेडियोको स्टुडियो पसिन्थ्यो । दोस्रो ढोका घर परिवारको भान्छा र बासस्थान पुगिन्थ्यो । तेस्रो ढोकाबाट भैँसी, बाख्राको गोठ छिरिन्थ्यो । सारेमका संस्थापक स्टेशन प्रबन्धक गुणाकर अर्यालले आफूले ट्यूसन पढाउने कोठा स्टुडियो बनाउन दिनुभएको थियो । गाईभैँसी कराउने गोठ छेउबाट रेडियो चलेको देख्दा मान्छे पनि दङ्ग पथे ।

मदनपोखरा रेडियो खुलेको हो र हैन भन्ने पक्ष विपक्षमा गाउँगाउँमा स्थानीय जनताले बाजी ठोके । कतिपय ठाउँमा कुखुरा र खसीको बाजी लगाइयो । पत्याउने र नपत्याउनेहरुका बीच कसमहरू खाइए । अन्तत, होला र ? भन्नेहरुले खसी र कुखुरा हारे ।

सदरमुकाम तानसेनभन्दा १३ किलोमिटर टाढा गाउँबाट रेडियो चल्यो । मोटर चल्ने राम्रो बाटोको पहुँच थिएन । टेलिफोन थिएन । इन्टरनेट र कम्प्युटरको पहुँच हुने कुरै भएन । सामुदायिक रेडियोका स्वयम्सेवकले पैदल हिँडेर संकलन गरेका समाचार र रेकर्ड गरिएका आवाज बज्थे । ओपन रिल टेपमा सम्पादन र बजाउन कम्ती अप्ठेरो थिएन । देशविदेशका समाचार प्रसारणको कुरा छोडौँ, कार्यक्रम उत्पादक र समाचार सम्पादकहरुका लागि पनि ताजा खबरका स्रोत रेडियो नेपालको समाचार थियो ।

स्थापनाकालका रेडियोकर्मीको छनौट र प्रशिक्षणका लागि आइपुग्नुभएका वरिष्ठ पत्रकार गोपाल गुरागाईंले सामुदायिक रेडियो मदनपोखरा र काठमाण्डौसँग जोड्न बनाएको कार्यक्रम हो उज्यालो नेटवर्कको ‘कायाकैरन’ । काठमाण्डौको कुपण्डोलमा दिउँसो उत्पादन भएको ‘कायाकैरन’को अडियो चक्का भोलिपल्ट बिहान पुल्चोकको साझा यातायात मुख्यालयमा छोडिन्थ्यो । त्यो क्यासेट लिएर हिँडेको साझा यातायात साँझ मात्र पाल्पा आइपुग्थ्यो ।

सिद्धार्थ राजमार्गको नयाँपाटी साझा बस रोकेर अडियो चक्का बोकेर रेडियोकर्मी स्टेशनमा पुग्थे र रेडियो स्टेशनबाट बजाइदिन्थे । यसरी दुई तीन दिन बासी कार्यक्रम पाल्पाली जनताले ताजा मानेर सुन्थे । यो कुरा आज कायाकैरन उत्पादन प्रसारणमा संलग्न धेरै रेडियोकर्मीलाई पनि जानकारी छैन होला । इन्टरनेट र स्याटेलाइटबाट देशव्यापी रेडियो सञ्जालसँग जोडिएको ‘कायाकैरन’ आज काठमाण्डौ र नेपालका दूरदराजका नागरिकबीच जोडिन सकेको छ/छैन तर्क गर्न सकिएला । तर ती कठिन र चुनौतीपूर्ण परिस्थितिमा जन्मिएको सामुदायिक रेडियो मदनपोखरा २१ वर्षमा प्रवेश गरेको छ ।

२०५६ साल चैत्र २३ गते दिउँसो १ बजेर १० मिनेट जाँदा सार्वजनिक भएको रेडियो तरङ्ग एककान दुईकान हुँदै मैदानसम्म पुग्यो । एकगाउँ दुईगाउँ हुँदै गाउँगाउँसम्म फैलियो । रेडियो खोल्ने आकांक्षा पूरा भएको दिन मदनपोखरेलीहरूमा उत्साह त देखिन्थ्यो नै जिल्लावासीहरूका अनुहारमा उज्यालो चमक भेटिन्थ्यो । आफ्ना आवाज फैलाउन पाएको त्यो क्षणमा स्वयंसेवकहरूले उमंग बाँड्दै गरेको क्षण कसरी बिर्सन सकिन्छ र ?

मदनपोखरा रेडियो खुलेको हो र हैन भन्ने पक्ष विपक्षमा गाउँगाउँमा स्थानीय जनताले बाजी ठोके । कतिपय ठाउँमा कुखुरा र खसीको बाजी लगाइयो । पत्याउने र नपत्याउनेहरुका बीच कसमहरू खाइए । अन्तत, होला र ? भन्नेहरुले खसी र कुखुरा हारे । मैले सुनेकै हुँ क्यारे भन्नेहरूले बाजी जिते । झाम्रे नाचे, रमाइलो गरे ।

सारेम सञ्चालनका पृष्टभूमि गाउँ डुलेर गीत गाउने गन्धर्व, हाक हाल्ने कटुवाल,  भित्तेपत्रिका प्रकाशन र अडियो टावर हुन् । इतिहासका गाथा र घटना प्रधान गीत गाएर सूचित गर्ने गन्धर्व र गाउँलेलाई जानकारी दिन हाक हाल्ने कटुवालको नौलो रूप बनेको छ मदनपोखरा । समुदायको सहभागितामा सञ्चालित यो रेडियोले खेती गर्ने किसान, भारी बोक्ने भरिया र दुःख गरी जिविकोपार्जन गर्ने मजदुर, गाई बाख्रा चराउन निस्कने माहारे सबैको आवाज बटुल्यो र त्यसलाई सबैको कानकानमा पुर्‍याउने काम गरेको छ ।

मेहनती, लगनशील, कर्मनिष्ठ कर्मचारीलाई धन्यवादको धाप लगाउन पुगेको छ । सुदखोर, भ्रष्टाचारीलाई पख ! भनेर जनअदालतमा ठड्याइरहेको छ । शुभ संकेत र साइतको मंगल ध्वनी नौमती पञ्चैबाजाको तालमा खुल्छ र समुदायलाई जगाउँछ । साँझ सबैलाई निदाउन हालेपछि विश्राम लिन्छ । यसरी प्रत्येक दिन बिहान ५.३० बजेदेखि साँझ १०.३० सम्म प्रसारण हुन्छ ।

समुदायमा छरिएर र छिरल्लिएर रहेका खबर बट्याउने, हराएका र लुकेका संस्कृतिको खोजी गर्ने, नसुनिएका र सुनुवाइमा नपरेका व्यक्ति, समूह र सम्प्रदायका प्रतिभा सुनाउने कार्यलाई यसले प्राथमिकता दिँदै आएको छ । रेडियोको पहुँच ग्रामीण बस्तीसम्म र ग्रामीण नागरिकको आवाज रेडियो भएर दोहोरो प्रवाह भइरहेका छन् । यहाँ कार्यक्रम उत्पादन गर्न काठमाण्डौ वा शहरबजारमा जस्तो सहज छैन । रेडियाकर्मीहरु गाउँका खोलाटोला, कुनाकप्चेरा र अन्कन्टारमा बसेका नागरिकका झुपडीहरूमा पुग्नु पर्छ । एकै छिन वा एक दिनमा कार्यक्रम उत्पादन गर्न सकिदैन ।

सारेमले श्रोतासँग संवाद गर्न रेडियो संगी समूह र महिला सञ्चार समूह (श्रोता क्लब) बनायो । एउटै भूगोलभित्रका मन मिल्नेहरुको संगी समूह थियो, जसले रेडियो कार्यक्रम सुन्थ्यो । कार्यक्रमका विषय र प्रस्तुतिमाथि छलफल गर्दथ्यो । रेडियोमा प्रतिक्रिया पठाउँथ्यो ।

संगी समूहले बालबिहानी कक्षा चलाउने, प्रौढ कक्षा सञ्चालन गर्ने, बाटो खन्न जनश्रमदान चलाउने, सामुदायिक भवन बनाउने, जुवा तास विरोधी अभियान ल्याउने, गरगहना देखाउने प्रतिस्पर्धा रोक्न गहनाविहीन तीज प्रतियोगिता गर्ने जस्ता अनेकन् रचनात्मक काम गरेका थिए । राजा ज्ञानेन्द्रले निरंकुशता लादेका बेला सारेमका १५५ वटा संगी समूहका हजारौँ मानिसहरु लोकतान्त्रिक आन्दोलनका पक्षमा सदरमुकाममा ओर्लिएका थिए ।

सारेमले किसान आफै सञ्चालक भएको किसान बोल्छ, रेडियो सुन्दै पढ्दै गर्न मिल्ने हाम्रो पाठशाला, डाक्टरसँग बिरामीले रोगका बारेमा सिधा कुरा गर्ने कार्यक्रम बनायो । गाउँगाउँमा सार्वजनिक सुनुवाइ गरायो । नागरिकको चाहनालाई बुझ्दै कार्यक्रम तर्जुमा गर्दै जाँदा सारेम विश्वासको केन्द्र बन्दै गयो । श्रोताको आकांक्षा अनुसार चलेकाले यसको लोकप्रियता बढ्यो । समुदायले परिवारको सदस्यसरह माया दिए ।

समुदायले विगतमा आफ्नो गास काटेर मुठिदान गर्ने परम्परा चलाए, आज पनि कतिपय समुदायले त्यसलाई निरन्तरता दिइरहेका छन् । सामुदायिक वनले  एक उपभोक्तासरह दाउरादान दिने गरेका छन् । यसका सबै कार्यक्रम स्थानीय भाषा, शैली र लवजमा छन्, सुन्नलायक छन् कान टट्टाउने छैनन् । प्रत्येक स्वाभिमानी नेपालीले गौरवबोध गर्ने छन् नाक खुम्च्याउने र निधारमा गाँठा पार्ने छैनन् । कार्यक्रम सञ्चालनको लामो अभ्यास संगालेका उत्पादकहरूले वास्तवमै समुदायमुखी गुणस्तरीय कार्यक्रम उत्पादन गरेका छन् ।

बितेको २० वर्षको अवधिमा यो रेडियोले पीडा सहेर पनि हाँसेका मानिसहरुसँग कुरा गर्‍यो । युद्धबाट आक्रान्त नेपालीको चित्कार सुन्यो । डर, भय र त्रासले आकुल व्याकुल जनताको कर्कशपूर्ण स्वरहरू प्रवाह गर्‍यो । विकास, उन्नति र प्रगतिको कामना गरेका नागरिकको अपेक्षा पस्कियो । सुख र समृद्धि ल्याउछौँ भन्ने राजनेता र नेताको बोली सुनायो । समाचार भन्न रोक लगाउने शाही शासनलाई चुनौती दिन तसतसलाई कार्यक्रम बनायो । समाचार भन्न नपाइने तोक आदेश उल्लंघन गर्‍यो । कथा सुनाएजसरी खबर दियो । नागरिकका अधिकार खोस्नेविरुद्ध बोल्यो, संघर्षको शंखनाद गर्‍यो ।

नागरिकबाट निर्वाचित प्रतिनिधिहरुले बनाएको नेपालको संविधान लागू भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । राजनीतिक अधिकारका लागि आन्दोलन गर्न नपर्ने अवस्था आएको छ । तीन तहका सरकार बनेका छन् । जनप्रतिनिधि वहाल छन् ।

यो रेडियोमा ४२५ आजीवन सदस्य छन् । समुदायबाट निर्वाचित सञ्चालक समिति छ । समुदाय आफै रेडियो सञ्चालन र व्यवस्थापनमा सक्रिय हुन्छ । रेडियो कार्यक्रम चलाउन समुदायका मान्छे स्टुडियोमा आइपुग्छन् । रेडियोको आम्दानी कहिल्यै कसैले बाँड्न पाउँदैन, नाफा खोज्ने चरित्र नै छैन ।

मनोरञ्जन दिन्छ भन्दैमा सोह्र वर्षमा बिहे गर्न उक्साउने गीत बजाउन दिन्न । पैसा आउँछ भन्दैमा स्थानीय समुदायको स्वास्थ्य र आम्दानीको स्रोतमा असर पार्ने विज्ञापन बजाउँदैन । सामुदायिक रेडियोको विशेषता यस्तै होइन र ?

आज सारेमजस्तो सामुदायिक सञ्चार माध्यमको पक्षमा ऐन कानुन छैन । छापा र रेडियोबीचको विभेद छ । व्यापारिक र सामुदायिक रेडियोको विशेषता छुट्ट्याउन नेतृत्वले सकिरहेको छैन । सामुदायिक रेडियोलाई संरक्षण गर्ने नीतिको आवश्यकता छ । नागरिकले चिनेको रेडियो मदनपोखरालाई सरकारले चिन्न सकेन । अस्तु ।