पाल्पा, फागुन ३०
काजुमासा काकिमी जो ‘ओके बाजे’ नामले परिचित छन् । पाल्पा जिल्ला सदरमुकाममा १ सय ७० बढी संघसंस्थाले एकसाथ सम्मान गरेका छन् । बिगत २५ वर्षदेखि पाल्पामा रही समाजसेवा गर्दै आएका जापानी नागरिक काजुमासा काकिमी ‘ओकेबाजे’ लाई नागरिक अभिनन्दन गरिएको छ ।

नागरिक अभिनन्दन मूल समारोह समिति संयोजक सुन्दरप्रसाद श्रेष्ठ भन्छन्, ओके बाजेले २ सय बढी विद्यालयमा सहयोग गरेका छन् । ‘सामाजिक क्षेक्रमा सत्रिय रहेको भन्दै सरकारले गोरखा दक्षिण बाहु तेस्रोले विभूषित गरिसकेको छ,’ उनले भने, ‘नेपालका लागि आवासीय प्रवेशाज्ञा ४ वर्षअघि प्रदान गरेको छ ।’ उनले ५ सय बढी शौचालय बनाउन सहयोग गरेका छन् । यस्तै १ सय ५० बढी विद्यार्थीलाई मासिक सयदेखि २ हजार रुपैयाँसम्म छात्रवृत्ति प्रदान गरेका छन् । अहिले जिल्लाका २ सय बढी बिद्यालयहरुमा पक्की भवन बनेका छन् । सयौ बालक्लवहरुले क्लवको भवन बनाई रचनात्मक काम गर्दै आएका छन् भने पढाईप्रति रुचि भएर पनि आर्थिक अभावले पढ्न नपाएका बालबालिकाहरुले समेत ओकेबाजीकै सहयोगमा उच्च शिक्षा हासिल गरेका छन् । त्यस्तै गरिव तथा विपन्न समुदायका ब्यक्तिहरुले सहज रुपमा स्वास्थ्य सुविधा लिएका छन् । जिल्लाको सिलुवा, ज्यामिरे, मित्याल, बांकामलाङ, ख्याहामा ७ झोलुंगे पुल बनाउन समेत उनले सहयोग गरेका छन् ।
ओके बाजे सन् १९३९ मा जापानको टोकियोमा जन्मिएका हुन् । जापानको बासोदा बिश्वबिद्यालयबाट स्नातक तह उत्तीर्ण गरि टोकियोमै एक उच्च माविमा २३ वर्ष अध्यापन गराई अवकासप्राप्त व्यक्ति हुन् ओके बाजे । सन् १९९३ मा पाल्पाको पूर्वखोला गाउँपालिका–२, जल्पाको ढोलीमाराबाट आफ्नो अभियान सुरु गरेका हुन् । उनलाई नेपाल सरकारले आवासीय अनुमति (भीषा) समेत प्रदान गरेको छ । अध्यक्ष श्रेष्ठले ओके बाजेलाई नेपाली नागरिकता प्रदान गर्न नेपाल सरकारले ध्यान दिनुपर्ने बताए ।

नेकपाका नेता ठाकुर गैरेले हाम्रो गाउँबस्ती, पाखापखेराको अवस्था हेरेर सहयोग गर्ने ओके बाजे सबैको मनमनमा बसेको बताए । उनले विपन्नता भएका व्यक्तिहरुसँग घुलमिल गरि विदेशबाट आएर सेवा गर्नु निकै चुनौतीपूर्ण भएता पनि काम गरेर बाजेले देखाएको बताए । फोहोर, अशिक्षा, देखेपछि उहाँलाई समाजसेवा गर्न मन जाग्यो । आज हामीमाझ सम्मानित हुनुभएको छ ।

पाल्पामै यस अगाडी काजुमासा काकिमीलाई दुई पटक अभिनन्दन गरिसकिएको थियो ।‘ओके बाजे’ ले आफ्ने पेन्सनबाट आउने सबै रकम पाल्पा जिल्लाको सामाजिक कार्यमा लगाउँदै आएका छन् । टोकियोमा रहेको घरसमेत बिक्री गरी उनले शिक्षा र अन्य क्षेत्रमा लगाएका छन् । उनको नागरिक अभिनन्दन समारोहमा विभिन्न क्षेत्रका ७० जना जापानी नागरिकहरु समेत सहभागी थिए ।