बुटवल, फागुन ३०
सिद्धार्थ राजमार्गको बुटवल कालिकाचोकमा फेला परेको बम नेपाली सेनाको बम डिष्पोजल टोलीले निष्क्रिय बनाएको छ ।
सिद्धार्थ राजमार्गमा पर्ने बुटवल भैरहवा सडक खण्ड अन्तरगत बुटवलको कालिकानगर स्थित कालिका चोकमा स्पिड कन्ट्रोलकालागि ट्राफिक प्रहरीले राखेको बेरिकेडमाथी बिहान बम भेटिएको थियो । कालो टेपले बेरीएको शंकास्पद वस्तु बम भएको भन्दै स्थानीयले प्रहरीमा खबर गरेका थिए ।


नेपाली सेनाको २२ नं. बाहिनीको बम डिस्पोजल टोलीले बिहान सवा ९ बजेको समयमा उक्त बम डिस्पोज गरेको हो । मुख्य राजमार्गमै बम भेटिएपछि नागरिकले १० वर्षे ससस्त्र द्वन्द्वको सम्झना गराएको बताएका छन् । बम कसले राखेको भन्ने बारेमा भने केही नखुलेको उल्लेख गर्दै ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्लले बन्दलाई सफल गराउनका लागि नागरिकलाई सर्ताउनेगरी विप्लव समूहले बम राखेको हुन सक्ने बताए ।

विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको रुपन्देही तथा आसपासका जिल्लामा पनि आंशिक प्रभाव परेको छ । बन्द आह्वान भएका कारण बुटवल, भैरहवा, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलबस्तु लगायतका जिल्लाबाट छुट्ने लामा तथा छोटा दुरीका कुनै पनि सवारी साधन चल्न सकेका छैनन् । उद्योग धन्दा कलकारखाना पनि बन्द छन् । त्यस्तै बिद्यालय तथा कलेजहरु पनि बन्द छन् । सहरी सडकमा मात्रै छिटफूट रुपमा मोटरसाईलक सहित प्रहरी, एम्बुलेन्स, प्रेस लगायत अत्यावश्यकीय सेवाका गाडी चेलेका देखिन्छन् ।
नेकपाले आफ्ना नेता कार्यकर्तालाई बिना कारण पक्राउ गरेको र झुट्टा मुद्धामा सरकारले फसाउन खोजेको भन्दै बन्द आह्वान गरेको थियो । उक्त पार्टीले बन्द आह्वान गरेलगत्तै सरकारले सो पार्टीका गतिबिधिमा प्रतिवन्ध लगाएपनि उसले आह्वान गरेको बन्दलाई झनै बल पुगेको कतिपयले बताएका छन् ।