पाल्पा, फागुन २८
महाविनाशकारी भूकम्प गएको झण्डै तीनपछि सहलकोटका भूकम्प पीडितको दैनिकी सहज बन्न थालेको छ । भूकम्पबाट प्रभावित ३ घर बाहेक अन्य मानिसहरुले घर बनाएर सकेका छन् । जिल्लामा सबैभन्दा बढी प्रभावित भएको स्थान हो–सहलकोटको सुकेकोट बस्ती । जुन बस्ति अहिले तङग्रिएको छ ।
निस्दी गाउँपालिका–२, सहलकोट भूकम्प पीडित व्यवस्थापन संयोजक रहेका उमेरकुमार गाहाले प्रायः सबै आफ्नो घरमा फर्कीएको बताए । भूकम्प प्रभावितहरुले टहरा निर्माणकालागि १५ हजार र न्यानो कपडा खरीदकालागि १० हजार रुपैयाँ लिएका प्रभावितले घर निर्माणका लागि तीन लाख रुपैयाँ प्राप्त गरेका छन् । गाहा भन्छन्, ‘भूकम्पबाट क्षतविच्छेद गाउँ उठेको छ । मानिसहरुको दैनिकी सहज भएको छ । बाँकी रहेका घरहरु पनि बनेर सकिने अवस्थामा छन् ।’ गाहाले सरकारले दिएको रकमबाट ढिलै भएपछि सन्तुष्टी मिलेको बताए ।

सहलकोट, सुकेकोटका तिलबीर रानाले दुई लाख आफुले बुझिसकेको र घर ढलान हुने क्रममा रहेको बताए । ‘तीन बर्खा हामी रुझेर बस्यौं, तीन जाडो टहरामा बितायौं । ढिलै भएपनि घर बनेको छ । सरकारले सहयोग ग¥र्यो । हामी खुसी नै छौं, रानाले भने, हामीहरुसँग धेरै संघसंस्थाहरुले आश्वासन बाँडेर गएता पनि फर्किएनन् ।’ रानाले घर बनाउँदा ३ लाख रुपैयाँ ऋण लागेको बताए । स्थानीय दीनबहादुर रानाले पैसाको कमीका कारण आफुहरुको घर निर्माण ढीला भएको बताए । उनी भन्छन्, ‘घर बनाउँदा २ लाख ५० हजार ऋण लागेको छ । कसरी तिर्ने थाहा छैन । जे होस् सरकारलाई धन्यवाद दिन्छु ।’
डकर्मीको काम गर्दै आएका केशबहादुर अस्लामीले आफुले ११ घरमा दैनिक ज्यालादारीमा काम गरेर घर ठड्याएको बताए । उनी भन्छन्, ‘मैले पहिलेदेखी नै सीकर्मी डकर्मी काम गर्दै आएको थिए । दुई वर्ष पुरा फुर्सद नै भएन । अब काम सकिन थालेको छ ।’ २०७२ वैशाष १२ गते गएको भूकम्पमा यहाँका १० घरहरु भत्किएका थिए भने अन्य घरहरु चर्किएको मात्र थियो । वैशाष २९ गते गएको भूकम्पका कारण गाउँका ३७ घरहरु सखाप भए । गाउँका दुई वटा कुडुले घर भने बाँकी थिए । अहिले बस्ती नै नयाँ स्वरुपमा निर्माण भएको छ । अधिकांशका घरमा टीनका छाना छाईएका छन् । केहीले ढलान गरेरै घर बनाएका छन् । १९९० सालमा गएको भूकम्पमा समेत जिल्लामै सबैभन्दा बढी प्रभावित क्षेत्र बनेको सुकेकोट माथी उठेको छ ।
साविक सहलकोट–९ को सुकेकोट, मसार, ढुस्यानडाँडा, अनन्दी भञ्याङ्ग बढी प्रभावित क्षेत्र हो । जहाँका ५८ घर भूकम्पबाट क्षतविच्छेद भएको थियो । सुकेकोटमात्र ३७ जना लाभग्राहीको सूचिमा रहेकोमा ३६ जनाले पहिला किस्ता र ३ जनाले दोस्रो किस्ता लिएका छन् भने अन्तिम किस्ता भुक्तानी लिनेको संख्या २९ रहेको छ । निस्दी गाउँपालिका–२, सहलकोटमा १ सय ४६ घर लाभग्राहीको सूचिमा परेका थिए । जसमध्ये १ सय ३८ ले पहिलो किस्ता, १ सय १ जनाले दोस्रो किस्ता र ६७ जनाले अन्तिम किस्ता भुक्तानी लिएको निस्दी गाउँपालिकाले जनाएको छ ।
राष्ट्रिय पूनर्निर्माण प्राधिकरणका निस्दी गाउँपालिकाका इञ्जिनियर कुशल घिमिरेले गाउँपालिकामा ७ सय ३४ लाभग्राहीको सूचिमा समावेश भएको बताए । गाउँपालिकामा पहिलो किस्ता पाउने ६ सय ३९ जना र दोस्रो किस्ता पाउनले ३ जना ४६ रहेको उनले बताए । निस्दीमा १ सय ९३ जनाले अन्तिम किस्ता प्राप्त गरेका छन् । ६० जनाभन्दा बढीलाई गाउँपालिकाले डकर्मी तालिम प्रदान गरेको घिमिरेले बताए ।
भूकम्प गएपछि जापानीज समाजसेवी काजुमासा काकीमि (ओके बाजे) ले एक लाख रुपैयाँ प्रदान गरेका थिए । जुन रकमबाट सुकेकोटका स्थानीयले दाल, चामल, चाउचाउ, बिस्कुट, चिउरा खरीद गरे । गोर्खा वेल्फेयर सेन्टरले एक पूर्व सेनाको घर निर्माण गरिदियो । अन्यले आँफै घर बनाए । साविक सहलकोट गाविस वडा नं. ९ का जम्मा ५९ घरधूरीले रातो कार्ड प्राप्त गरेका थिए ।
नीजि आवास अनुदानका लागि पाल्पा जिल्लामा १० हजार ३ सय ९८ कुल सर्भे गरिएकोमा ४ हजार ६ सय ५२ लाभग्राही सुचीमा परेका थिए । यस्तै ३ सय ८४ जना प्रबलीकरण सुचीमा परेकोमा ४ हजार १ सयसँग अनुदान सम्झौता सम्पन्न भएको छ । ३ हजार ९ सय ७४ ले पहिलो किस्ता १ हजार ४ सय ३८ ले दोस्रो किस्ता पाएका छन् भने तेस्रो किस्ता पाउनेको संख्या भने ९ सय १७ मात्र रहेको राष्ट्रिय पूनर्निर्माण प्राधिकरणको तथ्याङ्कमा छ ।