इमानसिं राना

पाल्पा, फागुन २७

घर अगाडि भैसीको गोठ । जहाँ वस्तुभाउलाई हिलोबाट जोगाउन काठ बिच्छ्इएको छ । गोठको एक छेउमा भैसीलाई बाँधिएको छ भने अर्को छेउमा बाख्रा । गोठ कै बीच भागमा गुन्द्री बिच्छ्याइएको छ । गुन्द्री माथि कम्मरमा डोरीले बाँधिएको अवस्थामा ओढ्ने लुगा सहित छन् उज्यालो मुहारका एक युवक ।

यो दृश्य हो निस्दी १ बाकामलाङ राहुवनको । पटक–पटक यसरी नै दाम्लोमा रहँदै आएका २१ वर्षिय युवक हुन् हिमाल वंंशी । उनलाई यो कुनै सजाय स्वरुप गोठमा राखिएको भने होइन । आर्थिक अभावमा उनको मानसिक रोगको उपचार गर्न नसक्दा उपद्रो नगरोस्, कसैको केही नबिगारोस् भनी उनको बाबु आमाले अपनाएको उपाय हो यो । केशरबहादुर र टुकमाया वंशीले जेठो छोरा हिमाललाई अस्पताल सम्म लैजान नसक्दा केही वर्ष यता व्यथा बढेपछि यसरी नै राख्दै आएका छन् । आफ्ना सन्तानलाई बाँधेर राख्न कसको मनले पो मान्ला र ? तर आर्थिक अभावका कारण उपचार हुन नसक्दा व्यथा बढेको बेला घरको सामान टोडफोड गर्ने, अन्य अस्वभाविक क्रियाकलाप देखाउने र गाउँसंगै वनमा गएर शरीरभरि चोट लिएर आउने भएपछि थप पीडा नहोस् भनी आमा बाबाले यो उपाय अपनाएका हुन् । घरको माथिल्लो भागमा राख्दा टिनलाई ठोक्ने, घरभित्र बाँध्दा पनि समस्या सिर्जना गर्ने हुनाले उनलाई गोठमा राख्दै आएको परिवारले जनाएको छ ।

उनका आमा टुकमाया वंशीले पहिले सामान्य अवस्थामा रहेको छोरालाई २०७१ सालदेखि समस्या देखिएको बताइन् । उनले भनिन्, ‘पढ्दा–पढ्दै ४ पास गरेपछि सानैमा पैसा कमाउन जान्छु भनेर इन्डियातर्फ लाग्यो । भैसीबाख्रा बेचेरै भएपनि पढाउछु पढ भनेको घरमा पनि यस्तै छ भनेर लाग्यो । पहिलो पटक राम्रै कमाई गरेर फर्कियो । दोस्रो पटक आउँदा विरामी भएर फर्कियो ।’ टुकमायाले आँखामा टिलपिल आँशु खसाल्दै भनिन्, ‘मामा र बाबाले काठमाडौं लगनखेल लगेर औषधी गरेपछि निरन्तर औषधी सेवन गरेसंगै निको भयो । आफैले अब निको भए खान्न भनेर औषधी छाडेपछि काम गर्न जान्छु भनेर तराईतिर गयो । त्यसपछि व्यथा बल्झियो । होलाकी भनेर लामाधामी गरे यस्तै छ ।’ उनले थपिन् ‘गाउँलेसंग ऋण र सहयोग खोजेर औषधी गरे । छिमेकीलाई पनि अब कति सताउनु र ?’ अस्वभाविक क्रियाकलाप पछि उनलाई पटक–पटक भैंसी बाँध्ने खाँबोमा बाँधिएको छ । अहिले भने उनी झण्डै तीन महिनादेखि कम्मर र हातको डोरीको भरमा गोठमा बस्दै आएका छन् । उनको हात र कम्मरमा डोरीको निलो डाम बसेको छ । खाना खुवाउने र दिसापिसाव स्याहार्ने काम उनको बाबु आमाले गर्दै आएका छन् । उनका बाबा केशरबहादुर भन्छन् ‘आफ्नो छोरालाई यो हालतमा राख्न त कस्ले पो मान्ला र ? आर्थिक समस्याका कारण छोराको अवस्था देखेर पनि नदेखे झै गर्नु परेको छ । सबैसंग हात फिजाई सके अब के गर्नु ?’ हिमाल वंशी दम्पतीका २ छोरी र २ छोरा मध्ये जेठो छोरा हुन् । उनको १ दिदी एक बहिनी र १ भाई छन् । दिदी र बहिनीको बिहे भैसकेको छ । भाई पनि रोजगारीको शिलशिलामा भारत छन् । उनको यो अवस्था सुधारको लागि निस्दी १ को वडा कार्यालयले पनि सक्दो सहयोग गर्ने जनाएको छ ।

वडाअध्यक्ष पूर्णबहादुर खाँणले वडाले सक्दो रकम सहयोग गर्ने र सहयोगको लागि अपिल गर्ने बताए । हिमालका दौतरीहरु सायद यतिबेला सुनौलो भविष्यका लागि कोही अध्ययनलाई अघि बढाउँदै त कोही रोजगारीका क्रममै होलान् । उनको समयमै उपचार गरेर पहिलेकै अवस्थामा ल्याउन सके देश, समाज र परिवारको लागि पक्कै योगदान दिन सक्थे की ?