पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्‍तुवुङ” भनेर चिन्दछन । लिम्बूभाषामा “मुक्‍तु”को अर्थ शक्ति वा बल, “वुङ”को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन ।

उत्पतिसम्बन्धि किम्बदन्ती तथा जनश्रुति

पाथीभरा देवीको उत्पतिसम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरू छन । भनिन्छः- परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले देख्दा देख्दै ती गोठका बथानका बथान भेडाहरू अलप भए । त्यस्तो अकल्पनिय घटनाले स्तब्ध तथा हतप्रव भएका गोठालाहरूलाई रातमा देवीले दर्शन दिनु भै आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलिसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो । आत्मवोध प्राप्‍त गोठालाहरूले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्‍टपुष्‍ट भेडाको थुम्बा बलि दिए । बलि के दिनु थियो ती हराएका सयकडौं भेडाहरू जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे  त्यो भन्दा आश्‍चर्यको कुरा, बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्‍चर्य मान्दै गोठालाहरूले देवीको जय जयकार गरे । यहाँ स्मरणीय कुरा के छ भने पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका, पाठीको बलि चढाईन्छ । तर बलिस्थलमै रगत हराएको, सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन । देवीमा चढाईएको बलि संख्यालाई दृष्‍टिगत गर्दा यहाँ रगतको पोखरी जम्नु पर्थ्यो तर त्यसो हुँदैन । यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरूले चढाएको बलि स्‍नेहपूर्वक ग्रहण गर्छिन् भन्‍ने जनधारणा रहि आएको छ । आज पाथीभरा देवीको महिमा, देवीप्रतिको आस्था एवं विश्‍वासले गाँउ, जिल्ला र देशको सीमा नाघ्दै विदेशसम्म पुगेको छ। जसको परिणामस्वरूप हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू देश तथा विदेशबाट देवीदर्शनको निम्ति आउने क्रम जारी छ ।

विश्‍वास आस्था एवं अलौकिक शक्तिकी देवी

माथिनै उल्लेख गरिएको छ कि पाथीभरा देवी विश्‍वास आस्था एवं पवित्रताकी देवी हुन । त्यसैले पाथीभरा धाममा त्यसरी नै जानुपर्ने हुन्छ। धाममा जानलाई कुनै जात, धर्म वा लिङ्गको भेदभाव छैन र बन्देज छैन । “मनमा शुद्धता, देवीप्रतिको भक्तिभाव राखे पुग्ने तर पाथीभरा धाममा गर्भवति, रजस्वला (नछुने वा पर सरेकी) भएकी महिला, बरखी बारेको, मनमा लोभ, पाप बोकेको मान्छे गएको खण्डमा उनीहरूको सर्वनाश हुन्छ, ठूलो क्षति हुन्छ” भन्ने जनधारणा रहिआएको छ ।

पाथीभरा देवीको निम्ति पशु बलि अनिवार्य नभए पनि बलि चढाउनु अति उत्तम मानिन्छ । काटमार नगर्नेहरू देवीलाई स्वादिष्‍ट फलफूल तथा मिठाईको भोग चढाउँछन । पाथीभरा देवीलाई अटल शौभाग्यकी प्रतिकको रूपमा मानिन्छ। त्यसैले सबै किसिमका श्रद्धालु भक्तजनहरूले देवीलाई सौन्दर्य प्रशाधनका सामग्री जस्तै सिन्दुर, टीका, गाजल, काँगियो, आदि पनि (एक किसिमको अनिवार्य रूपमा) चढाउने गर्दछन ।

पाथीभरा देवी उत्पतिस्थल

फेदीबाट लेकाली अङ्गेरी, गोब्रेसल्लो, धुपी, गुराँसको जंगल मालिङोघारीको बाटो हुँदै लगभग २ घण्टा ठाडो उकालो हिंडेपछि तपाईं पाथीभरादेवीको मन्दिर रहेको डाडाँको पश्‍चिमपट्टीको मुखमा फुत्त आईपुग्नुहुन्छ, त्यसबेला तपाईको आगमनको खबर पाएर टक्र्याक टुक्रुक बसेका कुम्भकर्ण हिमाल आफ्नो सम्पूर्ण हिमश्रृंखलाहरू साथैलिई स्वागतको लागि हतारहतार आएझैं भान पर्दछ । कुम्भकर्णको कुमसँग आफ्नो कुम ठोकिएलाकी भनी तपाईं आनायस झस्कनु पनि हुन्छ । जतिसुकै थाके पनि वुरुक्क उफ्रिएर कुम्भकर्णको कुममा चढौंचढौं लाग्दछ । कञ्चनजंघाको भिरालो फाँटहरूमा चिप्लेटी खेल्ने रहर जागेर आउन सक्दछ । साँच्चै नै भन्नुपर्दा यी हिमश्रृंखलाहरूको मगमुग्धकारी अलौकिक दृश्यले सम्मोहित भई तपाईं स्वर्गीय आनन्दको अनुभूतिमा डुब्नुहुन्छ, भावशून्य भएर आफैं-आफैंमा हराउनुहुन्छ ।

सायद तपाईको उत्सुकता पाथीभरा मन्दिर कसरि पुग्ने भन्ने तिर होला, दक्षिणबाट उत्तरतर्फ केही ओह्रालिएर गएको चउरीलो फाँटको ठीक पूर्वपट्टि अत्यन्तै कहालीलाग्दो भीरको शिरानमा सबै श्रद्धालुभक्तजनहरूको मनोकांक्षा पूरा गरिदिने देवी पाथीभराको मन्दिर अवस्थित छ । अब तपाईं देवी पाथीभराको चरणमा उपस्थित हुनुहुन्छ । भनिन्छ — यहाँ रहेको पाथीभरा देवीको नयाँ प्रतिमा नेपाल भरिकै सबैभन्दा अग्लो (८’६”) भगवतिको प्रतिमा हो ।

देवी दर्शन तथा पूजा अर्चना सकिएपछि पाथीभराबाट देखिने हिमश्रृंखलाको अवलोकन गर्न पटक्कै नभुल्नुहोला । यदि केही समय निकाल्न सक्नुहुन्छ भने पाथीभराबाट कञ्चनजंघामा सूर्योदय र सूर्यास्तको अत्यन्तै सुमधुर सुन्दर मोहनीलाग्दो दृश्य हेर्न तथा यसलाई आफ्नो क्यमरामा कैद गर्ने अवसर नगुमानुहोस ।

पाथीभराबाट दृश्यावलोकन गर्न सकिने हिमालहरू

  • कञ्चनजंघा (M) (सेवालुङ) ८५८६ मि.
  • कञ्चनजंघा (C) ८४८२ मि., कुम्भकर्ण (फक्‍ताङलुङ) ७७१० मि.
  • काङबाचेन ७९०३ मि.
  • कञ्चनजंघा (S) ८४७६ मि., मकालु ८४६३ मि.
  • लोत्से ८५१६ मि., नोत्से ७८५५ मि.

पाथीभरा धाममा कसरी जाने?

पाथीभरा देवीको मन्दिर निक्कै उचाईमा (३७९४ मिटर) रहेकोले यहाँको तापमान हमेशा शून्य (०) को हाराहारीमा झर्ने गर्दछ । अतः तीर्थयात्री तथा पर्यटकहरूले लेकलाग्न (High Altitude Sickness) र न्युनताप (Hypothermia) बाट जोगिन घरेलु उपचारको सामग्री जस्तै तातोपानी, भुटेको मकै, अदुवा, लसुन, गरम खाद्य तथा पेय पदार्थ र न्यानो कपडाहरू साथै लगे झनै वेश हुन्छ । पाथीभरा यात्राको लागि फाल्गुणदेखि कार्तिक महिनासम्मको अवधि उपयुक्त हुन्छ । झापाको बिर्तामोड बाट इलाम-फिदिम- हुँदै २७० किलोमिटर फुङलिङ मेची राजमार्गमा यात्रा गरी फुङलिङबाट सुकेटार – तल्लो फेदी – उपल्लो फेदी हुँदै पैदल हिँडेर पाथीभरा पुग्न सकिन्छ। अन्य मार्गमा धरान बाट धनकुटा-हिले हुँदै कोशी राजमार्गमा एक सय किलोमिटर यात्रा गरी वसन्तपुर बाट गुफापोखरी, गोर्गा दोभान हुँदै पैदल यात्रामा पुग्न सकिन्छ।

जिल्लाको सदरमुकाम फुङ्गलिङ यसरी पुग्न सकिन्छ

हवाई मार्ग

  • बिराटनगर— ताप्लेजुङ (सुकेटार)

सडक मार्ग (२३७ कि.मी.)

  • बिर्तामोड — ताप्लेजुङ (फुङ्गलिङ) ईलाम, फिदिम हुँदै (बस -साधारण र डिलक्स तथा जीप)

पैदल यात्रा

  • (धरान, धनकुटा हुँदै) बसन्तपुर गुफापोखरी — ताप्लेजुङ (फुङ्गलिङ) २ दिन

मन्दिरको व्यवस्थापन

यस मन्दिरको व्यवस्थापन कार्य पाथीभरा क्षेत्र विकास समिति (गठन) आदेश, २०५३ अन्तरगत गठीत एक समितिले गर्ने गरेको छ।

व्यवस्थापन समितिले यात्रुहरूका लागि विश्रामस्थल, कम्बल र खानेपानी आदिको व्यवस्थापन लगायतका कार्य गर्दछ।
मन्दिरमा बर्षेनी लाखौं भक्तजनहरूले दर्शन गर्न आउने र तिनले करोड भन्दा बढी रूपैयाँ भेटी चढाउने गरेका छन्।

पाथीभरा शब्दले निम्न कुराहरू बुझिन्छ।

संखुवासभा जिल्लाको पाथीभरा गाविस

यो नेपालको कोशी अञ्चलको सङ्खुवासभा जिल्लाको एक गाँउ विकास समिति हो।

धनकुटा जिल्लाको पाथीभरा देवी मन्दिर

पाथीभरा देवी मन्दिर धनकुटा जिल्लाको भेडेटारबाट करीव आधा घण्टाको पैदल दुरीमा पश्चिम तर्फरहेको छ। यस मन्दिरमा पनि भक्तजनहरूको भीड लाग्ने गर्दछ। ताप्लेजुङ जिल्लाको प्रशिद्ध पाथीभरा देवीको प्रतिक स्वरूप स्थापना भएको यस मन्दिरमा झापा, मोरङ, सुनसरी आदि जिल्लाहरूबाट धेरै मानिसहरू दर्शनार्थ आउने गरेका छन्।

तेह्रथुम जिल्लाको पाथीभरा मन्दिर

इलाम जिल्लाको पाथीभरा देवी मन्दिर (इलाम)

पाथीभरा देवी मन्दिर इलाम जिल्लाको एक पवित्र तीर्थस्थल हो । कोल्वुङ गा.वि.स. २ मा रहेको यो तीर्थस्थल जान झापा जिल्लाको चारालीबाट उत्तर मेची राजमार्ग हुँदै २ घण्टामा भाडा वा निजी सवारी साधनबाट पुग्न सकिन्छ । खान बस्न सामान्य होटल रहेको छ । मन्दिर रहेको ठाउँबाट -मौसम सफा भएको बेला) ताप्लजुङको पाथीभरा भगवतीको समेत दर्शन गर्न सकिने भएकोले यसलाई बहिनी पाथिभराको रूपमा लिने गरिएको छ । शनिवार र मंगलवार बढी तिर्थालुहरूको भीड लाग्ने मन्दिरको फेदी -राजमार्गसँग जोडिएको ठाँउ) बाट १ कि.मी.को ठाडो उकालोमा सिडी बनाएर मन्दिर परिसर सम्म पुगेन व्यवस्था गरिएको छ । मन्दिर नजीकै रहेका दुइवटा पोखरी छेउ हाँसको आकृति भएका ढुगाहरू रहेको यो ठाउँलाई हाँसको आकृति भएका ढुंगाहरू रहेकोले यो ठाउँलाई हाँस पोखरी पनि भन्ने गरेको पाईन्छ । यहाँ वि.स. २०५१ सालमा मन्दिर स्थापना गरिएको हो।

मनले चाहेको भाकल पूरा हुने आशा लिएर कैयौं भक्तजनहरू इलामको कुटिडाँडा स्थित पाथीभरा देवीको मन्दिरमा दर्शनार्थ आउने गर्दछन्। जिल्लाको दक्षिणपूर्वी गाविस कोल्बुङ्ग–२, कुटिडाँडादेखि करीब ८०० मिटर माथिको डाँडामा यो मन्दिर रहेको छ। धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको यो मन्दिर समुद्री सतहबाट १ हजार ८ सय चालिस (१८४०) मिटरको उचाइमा अवस्थित छ। मन्दिर नजीकै रहेको रमिते टावरबाट तराइका समतल फाँटहरू, इलामका नागबेली चियावारी, भारत, भुटान र बङ्गलादेशसम्मका भू–भागहरू खुल्ला आँखाले नियाल्न पाइन्छ। साथै यहाँबाट विश्वको तेश्रो अग्लो हिम शिखर कञ्चनजङ्घा तथा ताप्लेजुङ्गको ठूलो पाथीभरा पनि देख्न सकिन्छ।

यो मन्दिर पुग्न मेची राजमार्गको कुटिडाँडा खण्डबाट १ हजार तेत्तीस वटा सिमेन्टका खुट्किला चढेर पुग्न सकिन्छ। यो खुट्किलाबाट चिप्लिएर लडेपछि शरीरबाट रगत निस्किएमा मन्दिरलाई बली दिएको हुने भएकोले केही दिनपछि सो व्यक्तिको मृत्यु हुने गरेको बताइएको छ। मन्दिर परिसर वरपर अलैंचीको बुट्टा अनि घना जंगलले साँच्चै नै इलामको पहिचान बोकेको छ थामडाँडाले। ताप्लेजुङ्गमा अवस्थित पाथीभरा देवीको अन्तरी बहिनी भनेर चिनिने यो मन्दिरलाई सानो पाथीभरा पनि भन्ने गरिन्छ। विशेषतः दशैं–तिहार, तीज, वालाचतुर्दशी, रामनवमीलगायतका चाडपर्वहरूमा मन्दिरमा मेला लाग्ने गर्दछ। साथै प्रत्येक शनिबार र मङ्गलबार यहाँ विशेषगरी दर्शनार्थीको भीड लाग्ने गर्दछ। सो दिन मन्दिरमा १ सयदेखि १२ सय जनासम्म भक्तजनहरू आउने गरेको मन्दिरका पुजारी–मोतिखर तिम्सिनाले बताउनु भयो। मन्दिरमा विवाह ब्रतबन्ध तथा पुराणजस्ता उत्सव पनि हुने गरेको छ।

नेपाल बाहेक भारत, बङ्गलादेश तथा भुटानसम्मका भक्तजनहरू यहाँ आउने गरेको स्थानीय पत्रकार गोपाल निरौलाले बताए। पाथीभरा देवीको उत्पत्ति कसरी भयो भन्ने ११बारेमा विभिन्न धारणाहरू व्यक्त हुँदै आएको छ। पूर्खाहरूको पालादेखि नै पूजा–आजा गरिँदै आएको हुनाले यसको विकास भएको एउटा किम्बदन्ती रहेको छ। तर प्राप्त तथ्यको आधारमा एउटै धारणालाई महत्व दिइँदै आएको छ। वि.सं. २००५ साल भन्दा अगाडि हाँसपोखरीमा एउटा ठूलो जंगल थियो, जहाँ मानिसहरू जान डराउँथे। त्यतिकैमा वि.सं. १९९० सालमा झापा बुधबारे–९ का डिल्लीराम पाठक भन्ने एक जना व्यक्तिले पाथीभरा मन्दिर जाने भाकल ११गरेका थिए रे। तर सोबेला मन्दिरको पहिचान भइसकेको थिएन।

वि.सं. २०३४ सालतिर उनले सपनामा पाथीभरा देवीको अन्तरी बहिनीको इच्छा पूरा गर्ने उर्दी आएपछि उनले सोही वर्षको ऋषि तर्पणी पूर्णिमाको मध्यरात चिन्ता बसेछन्। चिन्ता बस्न थालेपछि मध्यरात पूरै उज्यालोमा परिणत भएछ। के रहेछ भनेर हेर्दा दुई वटा बाघ आएछ,पछि त्यो बाघ दुई वटी केटी भएर निस्कियो। तिनै केटीहरूले पाठकलाई पहिलेको थामडाँडा, हाल सो स्थानमा पाथीभरा देवीको मन्दिर रहेको छ,मा पुर्‍याएर मन्दिरको शिला देखाइदिएछन्। जङ्गलको बीचमा भेटिएको उक्त शिलालाई तीन दिनपछि पाठकले विधिपूर्वक मन्दिरको स्थापना गरी पाथीभरा देवी नामाकरण गरिदिए।

त्यसपछि वि.सं. २०५१ सालसम्म वर्षको एकपटक उनी पूजा गर्न त्यहाँ जाने गर्दथे। यो कुराले चर्चा पाउन थालेपछि २०५१ साल मै विष्णुप्रसाद बरालको अध्यक्षतामा मन्दिरको ११संरक्षण एवं सम्बर्द्धन गर्ने उद्देश्यले पाथीभरा मन्दिर संरक्षण समितिको स्थापना भयो। समितिको स्थापनापछि प्राप्त शिलालाई घेरा हाली मन्दिरको निर्माण गरिएको समाजसेवी रणबहादुर गुरुङले जानकारी दिनु भयो। पाथीभरा मन्दिर सरक्षण समितिले मन्दिरबाट प्राप्त दान भेटी अनुदान–चन्दा आदिबाट संकलित रकमले मन्दिरकै संरक्षण र सम्भारमा खर्च गरिँदै आएको समितिका निवर्तमान अध्यक्ष–नेत्र बहादुर ११राईले बताउनु भयो। यसरी प्राप्त दानको रकमले कुटिडाँडादेखि मन्दिरसम्म सिंडी, मन्दिर तथा धर्मशालाको निर्माण गरिसकेको अध्यक्ष राईले जनाउनु भयो।

पाथीभरा मन्दिरदेखि केही तल मेची राजमार्गसँगै जोडिएको अर्को पनि मन्दिर छ हाँसपोखरी पहिले त्यहाँ एउटा ठूलो पोखरी थियो, जहाँ हाँस पौडी खेल्थ्यो, त्यही बस्थ्यो। हाँस बस्ने भएकोले नै त्यो पोखरीलाई हाँस पोखरी भनिन्थ्यो। तर कालान्तरमा त्यो पोखरी सुक्योपछि हाँस पनि लोप भयो। तर केही वर्षपछि सोही ठाउँमा हाँसको प्रतिमा कुँदिएको एउटा शिला फेला परेछ। त्यही शिलालाई स्थापना गरी २०५० सालमा, मन्दिर निर्माण गरिएको छ। अहिले पनि त्यो शिलामा हाँसको चित्र स्पष्ट देख्न सकिन्छ। पाथीभरा मन्दिर मात्रै गएर चिताएको पूरा हुँदैन त्यसकारण दाहिने पारेर दुवै मन्दिरको परिक्रमा गर्नुपर्छ भन्ने धार्मिक विश्वास रहेको छ।

मन्दिरमा आएर कतिले आफ्नो इच्छाअनुसारको चिज पाएका छन् भने कतिले सिङ्गो जीवन नै पाइसकेका छन्। यस्ता धार्मिक एवं पर्यटकीय स्थलको संरक्षण र सम्बर्द्धन गर्न सकेमा आन्तरिक एवं बाह्य तीर्थालु भक्तजनहरूको आगमनमा वृद्धि गरेर जिल्ला कै पहिचान दिलाउन सकिन्छ। त्यसकारण यसलाई धार्मिक पर्यटनको रूपमा विकास गर्न सके इलामको पहिलो गन्तव्य स्थल पाथीभरा हुने निश्चित देखिन्छ। इलामको यात्रा यहिबाट सुरुवात हुन्छ।