फागुन २६, २०७५

जनकपुरधाम – ‘स्वतन्त्र मधेश’ गठबन्धनका संयोजक सीके राउतका सुरक्षा गार्ड पहिलोपल्ट जनकपुर विमानस्थलमा देखिएका छन् ।

सरकारसँग ११ बुँदे सहमति भएपछि जनकपुर जाने क्रममा राउतलाई स्वागत गर्न कार्यकर्ता र सुरक्षाका लागि सुरक्षा गार्ड विमानस्थल पुगेका छन् ।

यसअघि सीके राउत सहभागी सार्वजनिक कार्यक्रममा समेत नदेखिएका सुरक्षा गार्ड पहिलोपल्ट विमानस्थलमा देखिएका छन् । विमानस्थलमा सीके राउतको सुरक्षा गर्न ८ जना सुरक्षा गार्ड आएका छन् ।

स्वतन्त्र मधेश गठबन्धनका सिरहाका समर्थक दिपेन्द्रकुमार यादवले भने, ‘सीके राउत ज्यू आउँदा भीडभाड नहोस्, अनावश्यक प्रश्न नगरियोस्, सुरक्षा व्यवस्थापन होस् र अप्ठ्यारो नहोस् भनेर सुरक्षा गार्ड खटाइएको छ ।’ उनका अनुसार भीडभाड धेरै हुने ठाउँमा व्यवस्थापन गर्न समस्या समेत हुने गरेको छ ।

सुरक्षा गार्डहरूले प्रहरीजस्तै बुलेट प्रूफ ज्याकेट, टाउकोमा रातो कपडा र स्वतन्त्र मधेश गठबन्धनको झण्डा बाँधेको, मास्कले मुख छोपेको, आँखामा चश्मा लगाएको देखिएको छ । सुरक्षा गार्ड पहिलेदेखि तालिम प्राप्त रहेको नाम नबताउने शर्तमा एक सुरक्षा गार्डले बताए ।

सरकारले सीके राउतसँग राष्ट्रिय अखण्डता सुनिश्चित गर्दै सहमति भएको बताएपनि सीके राउतका कार्यकर्ताले स्वतन्त्र मधेशका पक्षमा झण्डा बोक्नेदेखि नाराबाजी गर्नेसम्मका गतिविधि गरिरहेका छन् ।

lokantar.com