पाल्पा, फागुन २५

पाल्पाको माथागढीमा अवस्थित फूलबारी एक्लेवर खानेपानी आयोजनाको शनिबार उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले सबै जनताका लागि खानेपानीको पहुँच पुर्याउनु सरकारको प्रमुख दायित्व रहेको बताएकी छिन् । मन्त्री मगरले संविधानप्रदत्त स्वच्छ खानेपानी सेवा उपलब्ध गराउन सरकार प्रभावकारीरुपमा लागिपरेको बताएकी छिन् ।

खानेपानी मन्त्री मगरले खानेपानीसँग महिलाहरुको प्रत्यक्ष सम्बन्ध हुने उल्लेख गर्दै महिलाको कार्यबोझ घटाउन खानेपानीको प्रबन्ध गर्नु आवश्यक रहेको बताईन् । उनले पानीका मूलहरु सुक्दै गएकोमा चिन्ता व्यक्त गर्दै घरघरमा खानेपानी सेवा विस्तार गरि जीविकोपार्जनमा सहयोग पु¥यान आफु लागि परेको बताईन् । उनले पाल्पाको माडी खानेपानी योजनाको लागि पहल गर्ने समेत बताईन् ।

‘स्वच्छ खानेपानी उपलब्ध गराउन नीति, योजना तथा कार्यक्रम सरकारले सञ्चालन गरिरहेको छ, खानेपानी मन्त्री बिना मगरले भनिन, सबैलाई स्वच्छ खानेपानी उपलब्ध गराइन सरकार प्रतिबद्ध छ ।’ माथागढी गाउँपालिका–३, कसेनीमा सञ्चालन भएको फुलबारी एक्लेवर खानेपानी योजनाको पाल्पामा उद्घाटन गर्दै मन्त्री मगरले विकास निर्माणमा रहेका सबै आयोजनालाई समयमै कार्यान्वयन गर्न स्थानीय, प्रदेश सरकार र संघीय सरकारले एकीकृतरुपमा प्रयास गर्ने बताईन् । उनी भन्छिन्, एक घर एक धारा, एक घर शौचालय कार्यक्रम अगाडि बढाइएको छ । ग्रामीण खानेपानी तथा सरसफाई कोष मार्फत् पनि जनताको अपनत्व हुने गरि खानेपानीको प्रबन्ध भैरहेको छ । जनताको पानी जनताको लगानीका कारण दीगो व्यवस्थापन भएको छ ।

प्रदेश ५ का प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्यले खानेपानी जनताको आधारभूत आवश्यकता भएकोले आफुहरुले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरि जिल्लामा खानेपानीको व्यवस्था गर्न लागिपरेको बताए ।
ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फन्डर्बाेड) का कार्यकारी निर्देशक लिला प्रसाद ढकालले सरकारसँग मिलेर धेरै योजनाहरु सञ्चालन गरिरहेको र पाल्पामा जनश्रमदान राम्रो पाएको बताए । सामाजिक श्रोत विकास केन्द्र नेपालको प्राविधिक सहयोगमा खानेपानी योजना निर्माण सम्पन्न भएको हो । फुलबारी एक्लेवर खानेपानी योजनाका अध्यक्ष टिकाराम रानाले ९२ लाख ९३ हजार १ सय ३६ रुपैयाँमा योजना निर्माण भएको बताए । कसेनीका ५ सय ११ घरधुरीलाई खानेपानी उपलब्ध भएको बताए । उनले खानेपानीको व्यवस्था भएसँगै गाउँ घरमा सरसफाइका कार्यक्रम सञ्चालन भएको र गाउँ स्वच्छ सफा भएको बताए ।