पाल्पा, फागुन २४
तानसेनको भीमसेनटोलमा जिल्ला सदरमुकाम बाहिरबाट मानिसहरु आएका देखिन्थे । उनीहरुले सांस्कृतिक कार्यक्रमको अवलोकन गर्न र स्थानीय खाना परिकारको स्वाद लिन पाएकोमा औधी खुसी व्यक्त गर्दै थिए । भीमसेन टोल विकास संस्थाको आयोजनामा विगत चार वर्ष देखि सञ्चाचलन हुँदै आएको महोत्सवले अहिले पनि निरन्तरता पाएको हो । ‘सडकमै खाउ, सडकमै रमाउ’ भन्ने नारा लिएर भीमसेनटोल विकास संस्था महिला उपसमितिको आयोजनामा शुक्रबार एक दिन सडक खाना महोत्सव आयोजना गरिएको थियो ।

शुक्रबार तानसेनको भीमसेनटोलमा भीडभाड थियो । कोही खाईरहेका देखिन्थे । कोही गाईरहेका त कसैले नाचिरहेका थिए । सबै आआफ्नै धुनमा मस्त थियो तानसेन । सडकमा मःम, छोईला, चुकानी, रोटी, पकौटा, चाउमिन, सेकुवा खानेहरुको भीड थियो । बच्चाबच्ची बूढाबूढी, युवा युवती, सबैको लागि सडक खाना महोत्सव उत्सवमय देखिन्थो । अधिकांश अवलोकनकर्ताहरु नेवारी खाजाहरुमा आकर्षित भएका देखिन्थे ।


स्थानीय खानाहरुको संरक्षण गर्ने उद्देश्यले खाना महोत्सवको आयोजना गरिएको भीमसेनटोल विकास संस्थाका अध्यक्ष प्रकाशनाथ गोङ्गलले बताए । उनले यस किसीमको महोत्सवले आन्तरिक पर्यटनलाई टेवा पुगेको बताए । खानाको स्वाद आन्तरिक तथा बाह्य पर्यटकहरुलाई चखाउनुको साथै भीमसेनटोलमा सञ्चालन हँुदै आएको खुला वाचनालयलाई व्यवस्थित गर्न महोत्सवको आयोजना गरिएको हो । टोलको सरसफाई गर्न रकम जुटाउन महोत्सव सहयोगी बन्ने गंगोलले बताए । तानसेन वडा नं. ६ का वडाअध्यक्ष सागर महर्जनले विभिन्न जातजातिका लोप हुन लागेको खानाको महोत्सवले निकै उत्साहित बनाएको बताए । उनी भन्छन्, ‘लोप हुन लागेको झिलिङ्गाको बटुक, योमरी विशेष पर्वहरुमा मात्र प्रयोग गर्दा लोप हुने अवस्थामा पुगेका थिए । खाना ताजै खायो भने कुनै पेटको समस्या पनि हुँदैन भन्ने सन्देश जान जरुरी छ । विदेशी जंकफुड खानामा भन्दा हाम्रा खाना उत्तम छन् । यो सन्देश सबैतिर पुग्न जरुरी छ ।’


सडक खाना महोत्सवमा नेवारी, मगरी, ब्रामण, मुस्लिम लगायत विभिन्न जातिजातीका भेषभुषा सहित परम्परागत खाजा तथा खानाको परिकारहरुको स्टल राखिएको थियो । संस्थाकी महिला उपसमितिकी उपाध्यक्ष सिर्जना अमात्यले महिलाहरुले बनाएका अधिकांश स्टलमा दर्शकहरुको उल्लेख्य सहभागिता रहेको बताईन् । महोत्सवमा दर्शकहरुले स्थानीय खानाको स्वाद सँगै विभिन्न जात जातिका भेष भूषा र नाच गान सहित मनोरञ्जन लिएका थिए । तानसेनको नारायणस्थान चोकदेखी, विरेन्द्रफुलवारीसम्म ३४ वटा स्टल राखिएको उपाध्यक्ष अमात्यले बताईन् । सडक खाना महोत्सवमा चार हजार बढी दर्शकले अवलोकन गरेको संस्थाले जनाएको छ । खाना महोत्सवमा प्लाष्टिकको प्रयोग गर्न रक्सी, चुरोट, गुटका खैनी सेवन तथा बिक्रि गर्न समेत रोक लगाएको थियो ।