स्थायीको माग गर्दै काठमाडाै‌ं केन्द्रित आन्दोलनमा उत्रिएका राहत तथा बालविकास शिक्षकको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।

प्रहरीले गरेको लाठिचार्ज र पानीको फोहोराबाट २ दर्जन शिक्षकहरु घाइते भएको नेपाल राहत शिक्षक समितिका अध्यक्ष खेम अधिकारीले बताएका छन्।

आइतबार माईतीघर मण्डलाबाट शुरु शिक्षकको प्रदर्शन संघीय संसद भवन तिर जाँदै गर्दा प्रहरीले विजुली बजारमा रोकेको थियो। धकेला धकेल गर्दै शिक्षकको प्रदर्शन अघि बढेपछि बानेश्वर चोक नपुग्दै प्रहरीले हस्तक्षेप गरेको हो।

निषेधित क्षेत्रमा प्रवेश नगर्न प्रहरीले आग्रह गर्दा पनि प्रदर्शन अघि बढेपछि प्रहरीले पानीको फोहोरा हानेर तितरवितर बनाएको हो। प्रहरीले लाठिचार्ज समेत गरेको थियो।

शिक्षा मन्त्रीले प्रहरी प्रशासन लगाएर आफूहरुलाई दवाउन खोजेको भन्दै उनले आपत्ति जनाएका छन्।

हाल कार्यरत राहत र उच्च माध्यमिक तहको शिक्षक अनुदान कोटा स्वतःस्थायी दरबन्दीमा रुपान्तरण गर्ने गरी राष्ट्रिय शिक्षा ऐनको मस्यौदा तयार पारिएको खबर सार्वजनिक भएसँगै उनीहरु आन्दोलनमा उत्रिएका हुन्। देशभरबाट काठमाडौं केन्द्रित भएर राहत शिक्षकले आन्दोलन शुरु गरेका छन्।

ऐनको ब्यवस्था अनुसार सिर्जना भएका स्थायी दरबन्दीमा शिक्षक सेवा आयोगको सिफारिसमा २० प्रतिशत दरबन्दीमा मात्रै उनीहरुलाई प्रतिस्पर्धाको अवसर सुनिश्चित गर्ने प्रस्तावित प्रावधानमा उनीहरुको आपत्ति छ।