उपन्यास अंश :

बिर्तामोडमा मेरो एकजना दिदीको पार्लर थियो त्यसबेला । नाताले अलि टाढाकी फुपूकी छोरी । खासमा म बिर्तामोड बस्न गएकी पनि उहाँकै कारणले हो । सुरुको डेरा पनि उहाँले नै खोजिदिनुभएको ।
उहाँले मलाई असाध्यै माया गर्नुहुन्छ । उमेरमा मभन्दा आठदस वर्षले जेठी । आफ्ना दिदीबहिनी नभएकाले पनि उहाँ मलाई आफ्नै दिदीजस्तै लाग्ने । सानैदेखि ।

डिप्रेसनले सताएर लोकसेवाको तयारी गर्न समेत दिक्क लाग्न थालेपछि दिदीको पार्लरमा जान थालेँ । समय कटाउन ।

माइत छँदै मैले पार्लर सिकेकी थिएँ । त्यो सीप मौकामा काम लाग्यो । ग्राहक अलि बढी आएका बेला दिदीलाई काम पनि सघाइदिन्थेँ ।

पार्लरमा कामबाट फुर्सत हुनासाथ उनी आफ्ना श्रीमान्, ब्वाइफ्रेण्डहरूसँगका अनुभव सुनाउँथिन् । बिस्तारै थाहा पाएँ, भिनाजु अमेरिका हुनुको फाइदा उनले भरपूर उठाएकी रहिछन् ।

उनले एकजना मात्रै होइन, तीन-तीनजना ब्वाइफ्रेण्ड बनाएकी थिइन् । त्यो पनि एकदमै स्टेन्डर्ड । बिहेलगत्तै भिनाजु विदेश जानुभएकाले छोराछोरी थिएनन् । पछि अमेरिका गएरै जन्माउनुभयो । अहिले उहाँका दुइटा छोरा छन् ।

उनी मसँग खुलेरै भन्थिन्- “कमसे कम तीनवटा ब्वाइफ्रेण्ड भए भने हप्तामा एक-एक दिन दिए भने तीन दिन त मनको आगो निभाउन सकिन्छ नि  ! नत्र त कसरी बाँच्नु ?”

सँगै रहँदाबस्दा उनका सबै ब्वाइफ्रेण्डहरूसँग मेरो चिनजान भयो । सबैले मलाई साली भन्थे । त्यसमध्ये एकजना चारआली ब्यारेकको करसाप थिए, अर्को एउटा प्राइभेट बैङ्कको मेनेजर । एकजना सीडीओ कार्यालयको अधिकृत । अनि अर्को चैँ खासाबाट कपडाको कारोबार गर्ने मारवाडी । अर्थात् उनले सबतिर आ-आफ्ना मान्छे राख्न भ्याइसकेकी थिइन् । उनीहरूले दिदीसँग शारीरिक भोक मेटाउने मात्रै होइन, आवश्यक परेका बेला जुनसुकै सहयोग पनि गर्थे ।

तल्लो तहका मानिससँग सङ्गत गर्दा र ठूला मानिसहरूसँग सङ्गत गर्दाको महफ्वपूर्ण फरक त्यही रहेछ ।

उनका कुरा सुन्दा मलाई सुरुसुरुमा आरिस पनि लाग्थ्यो । एउटा ब्वाइफ्रेण्ड मलाई दिए पनि हुने नि जस्तो लाग्ने । नजिककी साथी, दिदी भए पनि तर यस्तो कुरा कसरी मुख फोरेर भन्नु ?

उनीबाट म धेरै कुरा सिक्न पाउँथेँ । कलेजको पढाइ मेरो जति नै भए पनि उनी बजारमा निस्केका किताबहरू प्रशस्तै पढ्थिन् । त्यही भएर होला उनको दिमाग एकदमै छिटो चल्थ्यो । कुन मान्छे कस्तो आचरणको हो भन्ने कुरा एकछिन कुरा गर्नासाथ चाल पाइहाल्थिन् ।

उनले भनेका दुइटा कुराले मेरो मन छोएको थियो । एउटा- “हामीले कहिल्यै पनि पैसाका लागि अरूसँग सेक्सुअल रिलेसन राख्नुहुँदैन । पैसाको आशामा राखिएको सम्बन्ध एकदमै बनावटी हुन्छ । जति घण्टा बिताए पनि त्यसबाट मानसिक सन्तुष्टि हुनै सक्तैन । एकदमै प्रेमपूर्वक, हार्दिकतापूर्वक रिलेसन राखियो भने उनीहरूबाट पैसा आफैँ आउँछ ।”

दिदीको अर्को कुराले त मलाई सुरुमै घत पार्‍यो । उहाँको मन्त्रै छ- ‘आफूलाई जस्तो हुन इच्छा छ त्यस्तै मानिसहरूसँग सङ्गत गर्ने । अर्थात् सङ्गत र हिमचिम नै गर्नुपरेपछि समाजका ठूला र प्रतिष्ठित मानिसहरूसँग सङ्गत गर्ने ।’

“हामीले आफू कस्तो छु भन्ने कुरा थाहा पाउन आफूले नजिकबाट सङ्गत गरिरहेका पाँचजना मानिसहरूको आनीबानी, बोलीव्यवहार र आर्थिक हैसियत नियाले पुग्छ ।” योगी डा. विकासानन्दले आफ्नो किताबमा लेखेका कुराको उदाहरण दिँदै उहाँ भन्नुहुन्थ्यो- “त्यसैले हामीले आफू जस्तो हुन चाहेको हो, सकेसम्म समाजमा भएका त्यस्ता मानिसहरूसँग खोजीखोजी सङ्गतगर्ने गर्नुपर्छ । भेटघाट गरेर, नजिकबाट गफगाफ गरेर सङ्गत गर्न सकिँदैन भने पनि उनीहरू कस्तो खान्छन्, कसरी बोल्छन्, कुन ठाउँमा कस्तो व्यवहार गर्छन् भन्ने कुरा ख्याल गरेर पनि सङ्गत गर्न सकिन्छ । उनीहरूका किताब पढेर पनि सङ्गत गर्न सकिन्छ ।”
०००
एक दिनको कुरा । आफ्नै कोठाको ओछ्यानमा पल्टिएर मोबाइलको गेम खेल्दै थिएँ । मनमा अनेक कुराको कुस्ती जारी थियो । दिदीले मोबाइलमा फोन गरेर बोलाउनुभयो- “एकछिन पार्लर आऊ न । एउटा जरुरी सल्लाह छ ।”

मैले फोनमै भन्न आग्रह गरेँ । दिदीले त्यही आउन कर गरेपछि म गएँ ।

“हेर न, आज भरे चार बजे चारआलीको त्यो कर्णेलले आउँछु भनेर अघि फोन गरेको थियो, मैले हुन्छ भन्दिहालेँ । फोन राखेको एकछिनमा मलाई अचानक मिन्स भो ।” उहाँले समस्याको पटुकी फुकाउनुभयो- “आज उसलाई मेरो साटो तिमी पालो देऊ न ल ।”

मलाई थाहा थियो त्यो कर्णेलबाट उनले एक साताअघि मात्रै दुई लाख रुपियाँ लिनुभएको थियो, सापटी भनेर ।

“उसले मान्छ र ?” मैले हतारहतार भनेँ- “हजुरलाई मिन्स भएको हो भने फोन गरेर आज यस्तो भो भन्दिनु न अनि ।” मुखले यसो भने पनि मेरो मनमा भने अर्कै कुरा खेलिरहेको थियो ।

“आफ्नो ब्वाइफ्रेण्ड भनेर के गर्नु ? एकदमै जन्डु छ । चाहियो भनेपछि चाहियो चाहियो ।” उहाँले समस्या सुनाउनुभयो ।

मैले फेरि पनि उही कुरा दोहोर्‍याएँ- “तपाईंको सट्टा मसँग मान्छ त ?”

“तिमीजस्ती भर्खरकी कोरलीसँग मोज गर्न पाउँदा किन मान्दैन ?” मुसुक्क हाँसेर मेरो तिघ्रामा प्याट्ट हिर्काउँदै भन्नुभयो- “मानेन भने उसलाई मनाउने जिम्मा मेरो भयो ।”

मलाई पनि जिस्क्याइदिएँ- “मैले उसलाई पल्काइदिएँ भनेँ ?”

“पल्कायौ भने तिमीलाई नै दिउँला ।” अपत्यारको हाँसो हाँस्दै उहाँ बोल्नुभयो ।

“पक्का है त ।” मैले उहाँलाई जिस्क्याउने पारामा वाचा गराउन चाहेँ ।

“ल पक्का ।” हामीले दाहिने-दाहिने हात पड्काएर वाचा गर्‍यौँ ।

तर म भित्रभित्रै निकै खुसी भइरहेकी थिएँ । किनकि मेरा बारेमा थुप्रै कुरा थाहा भए पनि मेरो सेक्स पावरका बारेमा दिदीलाई थाहा थिएन । तर उहाँले प्रस्ताव राख्दैखेरि मैले सोचिसकेकी थिएँ, त्यस कर्णेललाई जसरी पनि पल्काउँछु भनेर ।

हाम्रो कुरा हुँदा दिउँसोको जम्मा एक मात्र बजेको थियो । मलाई समस्या भयो, चार बजेसम्म कसरी कुर्नु ?

पार्लरको पछाडिपट्टि एउटा छुट्टै कोठा थियो । त्यही कोठामा सुतेर टिभी हेर्दै समय कटाउने कोसिस गर्न थालेँ । मेरा लागि त्यो तीन घण्टा तीन वर्षभन्दा लामो भैदियो । त्यो अवधिमा पार्लर र कोठा पन्ध्रचोटि ओहोरदोहोर गरेँ होला ।

उनी ठीक चार बजे आइपुगे । थाहा पाएपछि पार्लरमा निस्केर नमस्ते गरेँ । उनीसँग त्यसअघि नै तीन-चारपटक मेरो भेट भइसकेको थियो ।

दिदीले मलाई आँखाको भाकामा भित्र जान इसारा गरिन् । म कोठाभित्र आएर उनी आउने पलको प्रतीक्षा गर्न लागेँ ।

एकछिन बाहिर गफगाफ गरेपछि दिदीले कोठाभित्र ल्याइदिइन् । बाहिरबाट ढोका लगाइदिँदै भनिन्- “ल आज अब साली-भेना मोज गर ।”

साँच्चै ! त्यो डेढ घण्टाको बसाइमा मैले उनलाई पल्काइ नै दिएँ ।

त्यसपछि त करसाप मन लागेको बेला हरेकचोटि मलाई नै फोन गर्न थाले । करसाप मसँग लहसिएको देखेर दिदी पनि छक्क पर्नुभयो । तर मन अमिलो पार्नु भएन ।

हरेकचोटि दिदीकै पार्लरपछाडिको कोठामा भेटघाट गर्नुपर्दा करसापले असजिलो मान्न थाले । म उनलाई कोठामा ल्याउन नसक्ने । किनकि अरू कुराको डर नभए पनि घरभेटीले थाहा पाएर कोठा खाली गरिदिनुस् भन्न सक्थे ।

“तिमी एउटा सानोसानो घर लिन सक्तिनौ ?” एक दिन काम तमाम भइसकेपछि करसापले मसँग सोधे ।

“बूढा विदेश गएको भर्खर एक वर्ष त भयो ।” मैले वास्तविकता बताएँ- “मैले कहाँको पैसाले घर लिनु ? सानै घर लिँदा पनि कम्तीमा हातमा २० लाख रुपियाँ चाहिन्छ !”

“पैसाको चिन्ता नगर न ।” उनले मलाई आश्वस्त गराए- “पैला घर त हेर ।”

मैले सोचेजस्तै भयो । करसापले त्यो कुरा गरेको तीन दिनपछि नै सुनिलले विदेशबाट फोन गर्‍यो- “काम गरिरहेको कम्पनी अचानक बन्द भयो । एक-डेढ महिनाका लागि घर आउँदै छु ।”

मेरा लागि एकदमै खुसीको कुरा थियो त्यो । मैले त्यही तीन दिनको बीचमा मैले थुप्रै घर हेरेँ । त्यसमध्ये अहिले बसिरहेको यो घर मलाई असाध्यै मन पर्‍यो ।

मैले करसाबलाई पनि बोलाएर देखाएँ । उनले पनि मन पराए । कारण यो घर अलि एकान्तमा थियो । राति घरमा कोही आए-गएको अरूलाई थाहा हुँदैन । त्यतिबेला छेउछाउमा यति धेरै घरहरू बनिसकेका पनि थिएनन् ।

सुनिलले साथमा पाँच लाख रुपियाँ ल्याएको रहेछ । मसँग भएको पाँच लाख रुपियाँ थपेर दस लाख रुपियाँ बैना दिइयो । मैले उसलाई त्यो पाँच लाख रुपियाँ आफूसँग भएका गहना बेचेर जम्मा पारेको भनेर बताएकी थिएँ ।

सुरुमा त उसले मन खिन्न बनाएको थियो ।

“अहिले मलाई गहनाको भन्दा घरको रहर छ । भाडा तिरेर अर्काको घरमा बस्दाबस्दा वाक्क भइसकेँ ।” मैले उसलाई सम्झाएँ- “अहिले घर जोडिराख्न सकियो भने गहना भन्ने कुरा त पैसा कमाउँदै गएपछि फेरि जोड्न सकिहालिन्छ नि ।” उसले मेरा कुरा अस्वीकार गर्ने सम्भावनै थिएन ।

तर म किन बेच्थेँ र आफ्नो बिहाका गहना ? अनिता दिदीलाई राख्न दिएकी थिएँ । घर किन्छु भन्दा एक-एक लाख रुपियाँ त मेरा साथीहरूले मलाई नपत्याउने कुरै थिएन ।

पास गर्ने पैँतीस दिनको भाका राखेका थियौँ । सुनिलले बुबासँगबाट आफ्नो अंशको दस लाख रुपियाँ ल्याउँछु भने पनि मलाई उति विश्वास थिएन । किनकि मेरा ससुराको मक्खीचुस बानीका बारेमा मलाई राम्रोसँग थाहा थियो ।

तर मैले विकल्प सोचिसकेकी थिएँ । कथम्कदाचित करसापले दिन नसके पनि मसँग अरू उपाय पनि थिए ।

एक दिन फोन गरेर सुनिल आफ्नो घर गयो । तर मैले अनुमान गरेजस्तै भयो । ऊ निन्याउरो अनुहार लगाएर फर्कियो ।

“तिमी चिन्ता नगर । म माइत गएर भए पनि पैसाको व्यवस्था गर्छु ।” मैले उसलाई ढाडस दिएँ ।

केही दिनपछि म उनलाई लिएर माइत गएँ । स्कुटीमा ।

“डेरा बस्ने बेलामा पनि मैले बुबासँग पचास हजार रुपियाँ  लिइसकेकी छु ।” बाटामा मैले उनलाई फकाएँ- “यसपटक बुबासँग नमागेर माइली भाउजूसँग माग्छु ल ।” किनकि कुनै पनि काम आफूसँग सल्लाहबिना गर्दिनँ भन्ने कुरामा म उनलाई आश्वास्त पार्न चाहन्थेँ ।

गएको भोलिपल्टको कुरा । सुनिल मेरो बुबासँग गफ गरेर बस्यो । मचाहिँ एकछिन भाउजूलाई भेटेर आउँछु है भनेर पल्लोघरतिर निस्किएँ । अनि भाउजूसँग ठाकठुक कुरा मिलाएँ । नाताले भाउजू तर उहाँ मेरो कलेज पढ्दाको साथी हो । मेरै करबलले दाजुसँग बिहे भएको ।

बिदा हुने बिहान हामी दुवैजना भाउजूकहाँ गयौँ । “चेलिबेटीसँग ब्याज त लिने कुरा भएन तर भरसक एक वर्षभन्दा ढिलो चैँ नगरिदिनोस् है ।” भाउजूले पैसाको बिटो मेरो हातमा थमाउँदै भन्नुभयो ।

“हुन्छ भाउजू, हामी जतिसक्तो चाँडो फर्काउँछौँ ।” जबाफ दिन सुनिल नै अघि सर्‍यो- “हाम्रो अंशबाट आएन भने पनि अहिले किनेको घर बैङ्क धितोमा राखेर भए पनि भाकाभित्रै फर्काउँछौँ ।”

त्यसको भोलिपल्टै हामीले चन्द्रगढी गएर घर पास गर्‍यौँ । मेरो नाममा ।

खासमा मैले उनको नाममा पास गराउन जोड गरेकी थिएँ । किनकि विदेश गए पनि ममाथि कुनै प्रकारको शङ्का नहोस् भनेर विश्वस्त गराउन चाहन्थेँ ।

तर सुनिलले नै मानेन । “तिम्रो नाम र मेरो नाममा गर्नु एउटै कुरा त हो नि ।” आँखामा आँखा जुधाएर भन्यो- “बरु तिम्रो नाममा पास गर्‍यो भने राजस्व कम लाग्छ ।” त्यो दिन मेरो छाती गर्वले ढक्क भयो, नाङ्लोजत्रै ।

घर किनेपछि केही आफन्तहरूले मेरो कुरा काटेको पनि सुनेँ । तर मैले वास्तै गरिनँ ।

हुन त हरेक मान्छेका आफन्तहरूको स्वभाव नै त्यस्तै हो । अलिकति प्रगति गरेको थाहा पाए भने आरिसले जल्न थालिहाल्छन् ।

अरूले कुरा काट्नु भनेको प्रगति हुन थालेको प्रमाण हो ।

घर सरेको डेढ महिनाजति पछि सुनिल फेरि विदेश उड्यो । दुई वर्षका लागि । उसका भान्जाकाकाले नै पठाइदिनुभयो अर्कै कम्पनीमा । साउदी ।

“म पनि विेदेशमा तिमीलाई सम्झेर पत्नीव्रता भएर बस्न सक्तिनँ । तिमीले पनि पतिव्रता हुनुपर्छ भन्ने छैन । म यहाँ नभएका बेला तिमी आफ्नो खुसी रोज्न स्वतन्त्र छ्यौ ।” हिँड्नुअघिको रात ओछ्यानमा भएका बेला उसले मायालाग्दो पारामा भनेको थियो- “तर मलाई धोका दिन चैँ पाउँदिनौ ।”

त्यसबेला भावुक भएँ म । मलाई साँच्चै आफूले खोजेजस्तै, आफूलाई बुझ्ने पति पाएकामा गर्व महसुस भएको थियो । मेरोजस्तो पति त दुनियाँमा कमै होलान् ।

हुन पनि ऊ नहुँदा जतिजे गरे पनि मैले उसलाई धोका दिने कुरा कहिल्यै सपनामा समेत सोचिनँ । मेरो मान्यता यति मात्र हो, उसले मेरो खुसी खोस्नुहुँदैन । म पनि उसको खुसी खोस्तिनँ ।

कुनै पनि दम्पतीले आ-आफ्नो सीमामा बसेर एक-अर्काको व्यक्तिगत सम्पर्कका बारेमा चासो नराख्ने, एक-अर्काका रुचिका बारेमा अलि उदार ढङ्गले व्यवहार गरिदिने हो भने कुनै पनि परिवारमा किचलो हुँदैन । हाम्रो समाजमा हरेक दम्पतीबीच किचलो हुने भनेको एक-अर्काको रुचि नबुझेर अनि एक-अर्काप्रति उदार हुन नसकेर त हो नि ।

वास्तवमा दाम्पत्य जीवन भनेको समाजबाट स्वीकार्य एउटा औपचारिक सम्बन्धमात्र हो । नत्र बिहा गरेका जोडीबीचको सम्बन्धलाई सहज र स्वीकार्य मान्ने समाजले कुनै स्वास्नीमान्छे र लोग्नेमान्छेले राजीखुसीले सम्बन्ध राख्दा किन अनैतिक ठान्छ ?

(अविरलको प्रकाशोन्मूख उपन्यास छलीयुगबाट)