सर्वसाधारण, ब्याङ्क तथा वित्तीय संस्थाहरूबाट सङ्कलित विभिन्न दरका नोटहरू अन्तत: नेपाल राष्ट्र ब्याङ्कको ढुकुटीमा पुग्छन्।

त्यहाँ तिनको स्थिति खुट्याएर झुत्रा, मैला एवम् खण्डित नोटलाई छुट्याइन्छ। प्रयोग गर्न नसकिने अवस्थाका तर नम्बर देखिने नोटलाई प्रचलनबाट हटाउन नेपाल राष्ट्र ब्याङ्कले सटहीको सुविधा पनि दिएको छ।

राष्ट्र ब्याङ्कको मुद्रा व्यवस्थापन विभागका अनुसार त्यसरी सङ्कलित नोट फेरि चलनचल्तीमा नजाऊन् भन्ने हेतुले लेखाजोखा गरेपछि थापाथलीस्थित भट्टीमा जलाउने गरिएको छ।

राष्ट्र ब्याङ्क मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मी प्रपन्न निरौलाले भने, “विभिन्न ब्याङ्क तथा वित्तीय संस्थाबाट पुराना तथा झुत्रा नोटहरू केन्द्रीय ब्याङ्कमा जम्मा भएपछि ती नोटहरू फेरि चलनचल्तीमा ल्याइँदैन, कानुनी प्रक्रिया पुर्‍याएर जलाइन्छ।”

विभागका अनुसार गत आर्थिक वर्षमा ५६ अर्ब रुपैयाँ बराबरका नोट नष्ट गरियो।

यसै हप्ता मात्रै झन्डै १२ करोड रुपैयाँ बराबरका झुत्रा नोट जलाइयो

तर केही वर्षयता चलनचल्तीमा जान अयोग्य नोटको परिमाण बढेको राष्ट्र ब्याङ्कके जनाएको छ।

जलाइएको हजार रुपैयाँको बिटो

BBC
पछिल्ला वर्षमा धुल्याउनुपर्ने नोटको परिमाण बढ्दो छ। यसको एउटा कारण नोट प्रयोगमा हेलचेक्र्याइँ बढ्नु पनि हो
लक्ष्मी प्रपन्न निरौला
प्रमुख, मुद्रा व्यवस्थापन विभाग

राष्ट्र ब्याङ्कले नोट नष्ट पार्ने कामलाई धुल्याउनु भन्छ।

आर्थिक वर्ष २०७२/७३ मा ३८६ अर्ब रुपैयाँ, २०७३/७४ मा ४३१ अर्ब रुपैयाँ र २०७४/७५ मा ४९४ अर्ब रुपैयाँ चलनचल्तीमा रहेको नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ।

नोटको आयु कति?

आर्थिक वर्ष २०७०/७१मा १९ अर्ब रुपैयाँ, २०७१/७२मा ४० अर्ब रुपैयाँ, २०७२/७३ मा २६ अर्ब रुपैयाँ र २०७३/७४ मा २५ अर्ब रुपैयाँ बराबरका नोट प्रचलनबाट खिचिएको राष्ट्र ब्याङ्कको तथ्याङ्कले देखाउँछ।

सामान्यतया नेपाली नोटहरूको आयु दुई किसिमको हुने राष्ट्र ब्याङ्कका अधिकारीहरूको भनाइ छ।

पहिलो, ५०० र १००० रुपैयाँ दरका नोटको आयु सरदर साढे तीन वर्ष हाराहारीको हुन्छ भने पाँचदेखि १०० रुपैयाँ दरका नोटको आयु सरदर साढे दुई वर्षको हुने उनीहरू बताउँछन्।

तर यसबारेमा कुनै स्वतन्त्र अध्ययन भने भएको देखिँदैन।

राष्ट्र ब्याङ्कले पाँच देखि १०० रुपैयाँ दरका नोट छपाउँदा प्रतिनोट झन्डै एक रुपैयाँ ६५ पैसा खर्च हुने जनाएको छ। पाँच सय तथा १००० दरको नोट छपाउँदा भने प्रति नोट झन्डै दुई रुपैयाँ ६४ पैसा खर्च हुन्छ।

पाँच सय र १००० रुपैयाँ दरका नोटमा प्रयोग हुने कागजको गुणस्तर राम्रो हुने भएकोले सानो दरका नोटको तुलनामा तिनको आयु लामो हुन्छ।