बुटवल — विभिन्न जिल्लाका मानिस बटुलिएपछि चुरेको फेदमा ‘बटौली’ बजार बन्यो । पहाडका बासिन्दाले घीउ बेचेर नुन र मट्टीतेल किन्ने सानो बजार अहिले प्रदेश ५ को अस्थायी मुकाम बनेको छ । पहाड–तराईको व्यापारिक केन्द्र, पूर्व–पश्चिमको मध्य र भारतीय सीमानजिकको सहरका रुपमा रहेको छ ।

पहिलेको सानो बटौली अहिले बिकसित भएर नमुना सहर बन्दै छ । सहर र आसपास विकास योजना तीव्र रुपमा अघि बढ्दैछन् ।जाइलाग्न आएको अंग्रेज फौजलाई हराएको जीतगढी किल्ला, राजा भतृहरिले सिद्धि प्राप्त गरेको सिद्धबाबा, आदिमानव रामापिथेकशको बंगारा भेटिएको रामापिथेकश क्षेत्र लगायतको योजनाबद्ध विकासले सहरको उचाइ बढाएका छन् । ‘सहरको मुहार फेरिँदै गएको छ, यसको व्यवस्थित गुरुयोजना बनाइरहेका छौं,’ बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले भने, ‘अबको ३ वर्षमा बुटवल हेर्दै रहर लाग्दो बन्ने छ ।’

यहाँ बसोबास व्यवस्थित तुल्याएर आकर्षक र सुविधायुक्त सहर बनाउने, शिक्षा स्वास्थ्यमा सुधार, उद्योग, व्यवसाय बिस्तार गरेर रोजगारको केन्द्र बनाउने कुरालाई प्राथमिकता दिने उनले बताए । ‘अब बुटवललाई स्मार्ट सिटीका लागि पूर्वाधार विकास गरिने छ,’ प्रमुख सुवेदीले थपे । यहाँ पुर्वाधार बिकासलाई पनि जोड दिइएको छ । ‘ग्रेटर लुम्बिनी’ क्षेत्रभित्र पूर्वाधार विकास गर्न २ वर्षअघिदेखि चन्द्रसूर्य आकारमा सम्मेलन केन्द्र निर्माणथालिएको छ । बुटवल मण्डपको १० बिगाहामा ५ वर्षभित्र उक्त सम्मेलन केन्द्र निर्माण हुने छ । त्यसमा १ हजार १ सय १४ जना अट्ने मुख्य हल हुने छ ।

शहरी विभागले १ अर्ब ७७ करोड लगानीमा गुरुयोजना तयार गरी काम अगाडि बढाएको छ । छेउमै अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल निर्माण हुँदैछ । ‘सम्मेलन केन्द्र निर्माण सकिनासाथ यहाँ अन्तर्राष्ट्रियस्तरका सभा सम्मेलन हुनेछन्,’ पूर्व अर्थमन्त्री विष्णु पौडेलले भने, ‘बुटवल मण्डपमा वर्षभरि मेला महोत्सव चल्नेछन् ।’

कालिगण्डकी–तिनाउ डाइभर्सन निर्माण प्रक्रिया अगाडि बढेको छ । तिनाउ–दानव कोरिडोर सडक सर्भे डिजाइनकोप्रक्रियामा छ । ‘यी योजना पूरा भएपछि पुर्वाधारयुक्त सहर हुनेछ,’ पौडेलले भने । चुरे पहाडबाट सुरु भएको बुटवल समथर भूभागसम्म फैलिएको छ । पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग यसको मध्य भागबाट गएका छन् । सौर्यबत्तीले सडकसँगै दायाँबायाँ छुट्याइएको सर्भिस लेनसम्म उज्यालो पुग्छ । ०६८ देखि सौर्य ऊर्जाले झिलीमीली बनाउने काम सुरु भएको थियो । साँझ परेपछि बजार पूरै उज्यालो देखिन्छ । राजमार्ग र आवासीय क्षेत्रका सडकमा सौर्य ऊर्जा विस्तार भएको उपमहानगरपालिका योजना प्रमुख सुमन श्रेष्ठ बताउँछन् । सहरीकरणलाई मध्यनजर राख्दै बजारमा आकाशेपुल निर्माण भइरहेका छन । मिलनचोक, अस्पताल लाईन, ट्राफिक चोक, गोलपार्क, राजमार्ग चौराह, योगीकुटी, कालिकानगरको कालिका उमावि अगाडि यस्ता पुल बन्दै छन् ।

सडक सुविधा

बुटवलबाट सीधैं लुम्बिनी जोड्ने र पश्चिमीबाट आउने पर्यटकलाई सीधै लुम्बिनी लैजाने र ल्याउने मार्गका रुपमा बेलवास–बेथरी पर्यटन मार्ग निर्माण धमाधम भइरहेको छ । बुटवलको बेलवासबाट बेथरी हुँदै लुम्बिनी जोड्ने सडक ४ लेनको बनाउन थालिएको हो । यसका लागि २ अर्ब बजेटमा ३ फेजमा काम अघि बढेको डिभिजन सडकका लेखा अधिकृत विष्णुबहादुर रायमाझीले बताए । उनले भने, ‘हरियाली र बीचमा नहरसहितको यो नमुना सहर हो ।’

सिद्धार्थ राजमार्गको बेलहिया बुटवल व्यापारिक मार्ग विस्तारअन्तर्गत राजमार्ग चौराहदेखि योगीकुटीसम्म तल २ लेनको सडक ६ लेनको बनाइएको छ । यो वर्ष चिडियाखोलासम्म पुर्‍याउने काम भर्खर सुरु हुने आयोजना प्रमुख जिवेन्द्र मिश्रले बताए । उनका अनुसार चौराहदेखि गोलपार्क–चिडियाखोलासम्म हाल ४ लेन छ । त्यसमा बीचको भाग नछोई छेउमा ६, ६ मिटर फराकिला सर्भिस लेन थप्ने काम गरिने छ ।

उपमहानगरपालिकाको अगुवाइमा बसपार्कमा पश्चिमाञ्चलकै नमुना लुम्बिनी बस टर्मिनल तथा सपिङ कम्प्लेस निर्माण सकिएको छ । ‘अब ट्रक पार्किङ र बजारभित्र सवारी व्यवस्थापन गर्ने योजना अगाडि बढाएका छौँ,’ नगरपालिका प्रमुख सुवेदीले भने, ‘यसले सडकभित्र देखिने अव्यवस्थित सवारी घट्नेछन् ।’ बुटवलका भित्री सडक पनि फुटपाथसहित ४ लेनका बनाउन थालिएको छ ।

पहिलो चरणमा राजमार्गको पूर्वतिर र पश्चिम दुवैतिर रहेका भित्री सडकलाई फराकिलो बनाउन थालिएको छ । पश्चिम क्षेत्रमा योगीकुटीदेखि कालिकानगर इटाभट्टी हुँदै नेपालगञ्ज रोडसम्मको कालिकापथ सडक ४ लेन बनाइँदै छ । पूर्वी क्षेत्रमा अस्पताल लाइनबाट सुख्खानगर दिपनगर हुँदै रामनगरसम्मको सडक फराकिलो बनाउने योजना छ ।पूर्वी क्षेत्रमा अस्पताल लाइनबाट श्रवणपथ हुँदै रामनगर जोड्ने सडक फराकिलो बनाउन लागिएको योजना प्रमुख श्रेष्ठ बताउँछन् ।

औद्योगिक क्षेत्र

उपमहानगरपालिकाको रामनगरमा ०३२ सालमा स्थापित बुटवल औद्योगिक क्षेत्र छ । यसमा रहेको ४ सय ३४ रोपनी जग्गामा ७४ उद्योग सञ्चालित छन् । प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र बनाउने सरकारी योजनाअनुसार मोतीपुरमा प्रदेश ५ स्तरीय औद्योगिक क्षेत्र स्थापना हुँदैछ । त्यसमा ८ सय १४ विघा नदी उकास क्षेत्र प्रस्ताव गरिएको छ । उद्योग स्थापनाका लागि डिपीआर अर्थात् विस्तृत नक्सांकनको काम अन्तिम चरणमा पुगेको छ । अमृता अनमाेल, कान्तिपुर