काठमाडौं । यूनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको तेस्रो तथा निर्णायक ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १४ रनले विजयी भएको छ । जितसँगै नेपालले पहिलो पटक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ ।

बर्षाका कारण झन्डै २ घन्टा अबरुद्ध भएपछि शुरु भएको खेलमा यूएईका कप्तान मोहम्मद नाभीदले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए । दश ओभरमा छोट्याइएको खेलमा नेपालले ८ विकेट गुमाएर १ सय ४ रन बनाएको हो । १ सय ५ रनको लक्ष्य पछ्याएको यूएईले ८ विकेट गुमाएर ९० रन मात्र जोड्न सक्यो ।

जितसँगै तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला २–१ ले जितेको छ । पहिलो खेल यूएईले २१ रनले जितेको थियो भने दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । त्यसअघि सम्पन्न ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा पनि नेपाल २–१ ले विजयी भएको थियो ।

१ सय ५ रनको लक्ष्य पछ्याएको यूएईले आक्रमक शुरुआत गरेको थियो । पहिलो ओभरमै २० जोडेको यूएईले ७ ओभरसकिँदा ३ विकेट विकेट गुमाएर ७२ रन बनाइसकेको थियो । तर, त्यसपछि यूएईले निरन्तर विकेट गुमाएपछि नेपालले १४ रनको नतिजा निकालेको हो ।

एकै ओभरमा २ विकेट लिएका करणले ३० रन बनाएका शाइमन अनवरलाई ज्ञानेन्द्र मल्लमार्फत क्याच गरेका थिए भने मोहम्मद नाभीदलाई पवन सर्राफमार्फत क्याच गरेपछि घरेलु टोली दबाबमा परेको थियो । दशौं ओभरमा ललितनारायण राजवंशीले पनि लगातार २ विकेट लिएका लिएपछि नेपाल विजयी नतिजा निकाल्न सफल भयो । ललितनारायणले सीपी रिजवान र अमिर हायतलाई पवेलियनको बाटो देखाएका थिए ।

यूएईका शाइमन अनवरले ३०, गुलाम शब्बरले २५, र मोहम्मद बूताले ११ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका करण केसी, अभिनास बोहरा र ललितनारायण राजवंशीले समान २÷२ विकेट लिँदा सन्दीप लामिछाने र सोमपाल कामीको नाममा १÷१ विकेट रह्यो ।

त्यसअघि १ सय ५ रनको लक्ष्य प्रस्तुत गर्नेक्रममा नेपालका कप्तान पारस  खड्काले २९ रन बनाए भने ज्ञानेन्द्र मल्लले ११ रन जोडे । पहिलो पटक ओपनिङमा आएका पवन सर्राफले रनको खाता खोल्न सकेनन् । दीपेन्द्रसिंह ऐरी २ रन बनाएर आउट भएपछि पारस र सन्दीप जोराले चौथो विकेटका लागि ३३ रनको साझेदारी गरेका थिए ।

पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा अर्धशतक बनाएका सन्दीपले २८ रन बनाए । ११ बलमा ३ छक्का हानेका सन्दीपले विनोद भन्डारीसँग पाँचौं किेटका लागि ३७ रनको साझेदारी गरे । करण केसी १० रन बनाएर आउट हुँदा विनोद २१ रन बनाएर पवेलियन फर्किएका थिए । आइतबार प्रदीप ऐरीको स्थान लिएका विनोदले १२ बलमा २ चौका र १ छक्कासहित २१ रन बनाएका हुन् ।

यूएईका मोहम्मद नाभीद र अमिर हायतले समान २ विकेट लिँदा जहूर खान, सुल्तान अहमद र मोहम्मद बूताले १/१ विकेट लिए ।