पाल्पा, माघ १३
पाल्पाको मुटु मानिने टुँडिखेलमा कुनै पनि महोत्सव नहुने भएको छ । तानसेनको टुँडिखेल मैदानमा हुने भनिएको महोत्सव टुँडिखेलको स्तरोन्नति गरिने भएपछि उक्त समय र स्थानमा महोत्सव नहुने भएको हो ।
पाल्पामा महोत्सव टुँडिखेलमै गर्ने वा अन्यन्त्र विवाद भएपछि नगरपालिकाको संयोजनमा सर्वपक्षिय बैठकले टुँडिखेलमा कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेको हो । आईतबार भएको बैठकमा तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले माघ महिनाभित्रमै टुँडिखेलमा बृहत्तर गुरुयोजना अनुसार काम गर्ने बताए । उनले नगरपालिकाले ८० लाखसम्म रकम टुँडिखेलमा खर्च गर्न सक्ने र प्रदेश सरकारबाट थप बजेट आउने बताए । मेयर शाही भन्छन्, यो महिनाभित्रमा जसरी पनि टुँडिखेलको काम अगाडी बढ्छ । बढेन भने मलाई भन्नुहोला ।’

दुई महोत्सवले विवाद

पाल्पामा नीजि क्षेत्रमा पाल्पा उद्योग वाणिज्य संघ र पाल्पा व्यापार संघ क्रियाशिल नीजि क्षेत्रको प्रतिनिधि मूलक संस्था हुन् । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले नयाँ कार्यसमितिको योजना अनुसार नै फागुनमा महोत्सव गर्ने भनिएकोमा मिति तय भएपछि विवाद सिर्जना भएको बताए । उनी भन्छन्, ‘हामीले धेरै पहिले नै महोत्सव गर्ने निर्णय गरेका थियो । कुनै पनि ‘इभेन्ट’ गर्न टुँडिखेलमा पाउनुपर्छ भन्ने हो ।’ उनले भने, तर नगर सरकारले तत्काल नै काम नगरि नहुने भनेपछि हामी केही समय पर्खाईमा छौं । उपयुक्त समय र स्थानमा महोत्सव गर्छौं । आगामी फागुन १६ गतेदेखी २६ गतेसम्मलाई संघले टुडिखेलमा महोत्सव गर्ने तोकेको थियो ।

पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जिवी पोखरेलले संघले तीन महिना अगाडीदेखी नै माघ १८ देखी महोत्सव गर्ने मिति तय गरेको बताए । उनले भने महोत्सवका सम्बन्धमा अब हामी पूनर्विचार गर्छौं ।

पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजु महर्जनले भने, अन्यथा नलागोस् पाल्पा व्यापार संघको कुरा नआएको भए टुँडिखेलमै महोत्सव गर्ने कुरामा सबै सहमत हुन्थ्ये ।
तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले कुन संस्थाले महोत्सव गर्ने भन्ने भन्दा पनि कुनै एक संस्था वा दुई संस्थाले एकसाथ महोत्सव गर्नेपर्ने बताए ।

आआफ्नै ‘डम्फु’
आईतबार भएको सर्वपक्षिय बैठकमा सहभागी धेरैले आआफ्नै मनका कुरा राखे । आफु र आफ्नै क्षेत्र केन्द्रित भएर धेरैले कुरा राखे । जसको सारांश यस्तो थियोः
सुन्दर श्रेष्ठ, शिक्षक
टुँडिखेलमै महोत्सव गर्नुपर्छ भन्ने छैन । गोर्खेकोटमा पनि ठाउँ छ । फागुनमा विद्यार्थी अध्ययनमा व्यस्त हुन्छन् ।
यादवबहादुर रायमाझि
नेपालको व्यवस्था बदलियो, तर हामी बदलिएनौं । एक पटक श्रीनगरमा गरे पनि राम्रो हुन्छ ।
राजेशकुमार अर्याल, पत्रकार महासंघ अध्यक्ष
आउनुहोस् मदनपोखराको दमकडामा स्वागत छ । शितलपाटी र टुँडिखेलमात्र तानसेन होईन । अब हामीले बृहत भएर सोंचौं । विपदको समयलाई पनि टुँडिखेल चाहिन्छ ।
भीमसेन कार्की, एन्फा महासचिव
एन्फाले डेढ करोडको परियोजना ल्याउँदा पनि विवाद भएकै थियो । संरक्षण भएन धेरै पटक स्तरोन्नति पनि भएको थियो । यो यस्तै हो हुँदा पनि हुन्न ।
चकोरमान शाक्य, तानसेन खानेपानी अध्यक्ष
कालीगण्डकी खानेपानी पनि लावारिस भयो, यो पनि यस्तै हो ।
वासुदेव अर्याल, नागरिक समाज
तत्काल काम सुरु हुने भए दिनुहुन्न नत्र महोत्सव गर्न टुँडिखेल दिनुपर्छ ।

राजनीतिक दल अप्ठ्यारोमा मात्र

जिल्लाका राजनीतिक दलले यहाँका स्थानीय तह तथा संघ संस्थाले आफुहरुलाई अप्ठ्यारोमामात्र बोलाउने गरेको बताए । नेपाली कांग्रेसका सचिव अजयमान कर्माचार्य भन्छन्, अहिलेसम्मको क्रियाकलाप हेर्दा टुँडिखेलमा अब पनि काम हुन्न त्यसैले महोत्सव गर्नुपर्छ । नेकपाका नेता नेत्र पाण्डेले सम्पूर्ण अधिकार नगर प्रमुखलाई दिएकोले आफ्नो किसिमले निर्णय गर्नुपर्ने बताए । उनले काम नदेखिँदा दिँदा पनि फरक नपर्ने बताए । राप्रपाका अध्यक्ष डुलबहादुर कुँवरले योजना सार्वजनिक भैसकेको भए र बजेट फ्रिज हुने भएमात्र टुँडिखेलका क्रियाकलाप गर्न नहुने बताए । जनमोर्चाका अध्यक्ष विशाल दर्लामीले दुई वर्षको परिदृष्य हेर्दा महोत्सव गर्दा टुँडिखेलमा खासै असर नपर्ने बताए । अहिलेको महोत्सव यहि गर्ने र चैतपछि काम गरेपनि हुने उनको भनाई थियो ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले स्थानीय सरकारले आफ्नो मातहतको सम्पत्तिको व्यवस्थापन गर्ने निर्णय गर्न सक्ने बताए ।