इमानसिंह राना

पाल्पा, माघ ६
त्रिभुवन आर्मी क्लव र चापाकोट नगरपालिका इन्डो–नेपाल आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । माघ २ गते बाट पाल्पाको रामपुरमा जारी प्रतियोगिताको आईतबार भएको सेमिफाईनलमा समुह ए को विजेताको रुपमा रहेको त्रिभुवन आर्मीले, समुह वि को उपविजेता इण्डिया रेलवेजलाई ३÷० को सोझो सेटमा पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो । त्यस्तै समुह वि को विजेताको रुपमा रहेको चापाकोट नगरपालिका स्याङ्जाले पनि समुह ए को उपविजेता मणिमुकुन्द भलिबल क्लव रुपन्देहीलाई ३÷० को सोझो सेटमा पराजित गर्दै फाईनलमा पुगेको हो । त्रिभुवन आर्मी र इण्डिया रेलवेज बिच भएको खेलमा आर्मीले पहिलो, दोस्रो र तेस्रो सेट २५÷२३, २५÷२१ र २५÷२३ अंकले हात पारेको थियो ।
चापाकोट र मणिमुकुन्द बिच भएको खेलमा चापाकोटले पहिलो, दोस्रो र तेस्रो सेट २५÷१७, २५÷२४ र २५÷१९ अंकले हात पारेको थियो । दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको परिसरमा भैरहेको प्रतियोगिता रामपुर उद्योग वाणिज्य संघको मुख्य आयोजना, रामपुर भलिबल संघको सह आयोजना र नगर खेलकुद विकास समिति रामपुरको सहयोगमा भएको हो । प्रतियोगिताको फाईनल खेल सोमबार हुनेछ । उपाधिको दावेदारको रुपमा रहेको त्रिभुवन आर्मी क्लव र चापाकोट नगरपालिका सोमबार दिउँसो १ बजे प्रतिस्पर्धा गर्ने छ । त्यस भन्दा अघि विहान ११ बजे सेमिफाईनलमा पराजित इण्डिया रेलवेज र मणिमुकुन्द भलिबल क्लव तृतिय स्थानको लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने समुहले क्रमश नगद १ लाख ५० हजार, १ लाख र ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् ।