पाल्पा, पुस २८
देशका ७ सय ५३ स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ । बेरोजगार युवालाई रोजगारी प्रदान गर्ने उद्देश्यले सबै स्थानीय तह अन्तर्गत सेवा केन्द्र व्यवस्थापन गर्न थालिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताएका छन् ।
श्रममन्त्री विष्टले देशको गरिवी र बेरोजगारी समस्यालाई सरकारले प्राथमिकतामा राखेको बताए । दोस्रो रामपुर महोत्सवको पाल्पाको रामपुरमा उद्घाटन गर्दै विष्ट भन्छन्, ‘देशमा गरिबी र बेरोजगारीले हजारौँ युवा खाडी मुलुकमा काम गर्न गईरहेका छन् । अब देशमै स्वरोजगारी सिर्जना गर्ने किसिमको वातावरण सरकारले मिलाउन थालेको छ । युवाले लगनशील भएर कार्य गरेमा देशको विकास सम्भव छ ।’ उनले अझैपनि नीति नियम निर्माणको काम बाँकी छ । कानून निर्माण गर्न समय खर्चिएका छौं, त्यसैले सरकारको काम जनताका बिचमा कम देखिएको हुनसक्छ, मन्त्री विष्टले भने । उनले आगामी असार महिना भित्रमा जेष्ठ नागरिक, एकल महिलालाई सामाजिक सुरक्षा भत्ता बढाउने समेत जनाए ।