असेर्दी–रानीबास ट्रयाक खुल्यो, बाटो विस्तार भए पछि बस गुड्ने

एवत सारु

(रम्भा) पाल्पा
रम्भा गाउँपालिका वडा नं. १ हुँगीको असेर्दी देखि वडा नं. २ फोक्सिङ्गकोटको रानीबास जोड्ने मोटरबाटोको ट्रयाक खुलेको छ ।
असेर्दी देखि रानीबास सम्मको करिब साढे ६ किलोमिटर लामो मोटरबाटो जोडिए पछि बाटो चौडा गर्ने काम भई रहेको छ । रानीबास–कोटथर हुँदै वडा कार्यालय सम्म बाटो विस्तार गरिने रम्भा गाउँपालिका वडा नं २ का वडा अध्यक्ष उमानसिं सारुले बताए ।

बाटो निर्माण तथा विस्तार गर्न पाल्पा निर्वाचन नं. १ का माननीय प्रतिनिधि सभा सदस्य दलबहादुर रानाबाट स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत ३० लाख रुपिया विनियोजन गरिएको थियो । वडा कार्यालय सम्म बाटो विस्तार गरि रम्भा गाउँपालिकाको प्रत्येक वडा कार्यालय सम्म बस पु¥याईने लक्ष्य अनुरुप रम्भा गाउँपालिकाबाट समेत आवश्यक बजेट विनियोजन गरि बस जान सक्ने बाटो बनाईने रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

रम्भा गाउँपालिकाको वार्षिक कार्यक्रम तथा नीति अनुरुप यही फागुन भित्र बस हिंडने मोटरबाटो निर्माण गरिने र यसको लागि गाउँपालिकाले बजेटको व्यवस्था गर्ने अध्यक्ष भण्डारीले बताए । ५ मिटर देखि ८ मिटर सम्म बाटो चौडा गरिएको र केही स्थानमा बे्रकर प्रयोग गरि मोड बनाउन बाँकी रहेको उपभोक्ता समितिका सचिव रामबहादुर गाहाले बताए । रानीबास देखि वडा कार्यालय सम्म करिब २ किलीमिटर मोटरबाटो विस्तार गर्न बाँकी रहेको उपभोक्ता समितिका उपाध्यक्ष मनबहादुर गाहाले बताए । गाउँमा बस आउने कुराले स्थानीयवासी खुशी भएका छन । रम्भा गाउँपालिकाको अन्य ४ वटा वडाको वडा कार्यालय सम्म बस पुग्ने बाटो बनिसके पनि वडा नं. २ फोक्सिङ्गकोटको वडा कार्यालय सम्म बस पु¥याउन सकिएको छैन ।

SHARE