तालपोखरा ‘मिनी फेवाताल’ मा शयर गर्ने बढे

मुक्तिप्रसाद न्यौपाने
पाल्पा, पुस २१
रामपुरमा कृत्रिम रुपमा बनाईएको तालपोखराले ‘मिनी फेवाताल’ को संज्ञा पाएको छ । पूर्वी पाल्पाको रामपुर नगरपालिका भित्रने जो कोही पनि तालपोखरा अवलोकन गर्ना पुगेका छन् । रामपुर नगरपालिका–६ मा डुङ्गा शयर हुन थालेपछि रामपुरमा पर्यटकको चहलपहल बढेको छ । वर्षायामको बेलामा पानी जम्मा हुने पोखरीलाई फेवातालको झल्को दिने तालमा परिणत गरिएको छ । तीन वटा डुङ्गामा ताल घुम्ने व्यवस्था गरिएको छ ।


पोखराको फेवाताल र ताल बाराही मन्दिरको स्वरुप तालपोखरालाई दिईएको छ । ७० रोपनी क्षेत्रफलमा पोखरी निर्माण गरिएको छ । जसमा ४० रोपनी क्षेत्रफलमा ताल निर्माण गरिएको छ । बाँकी भागमा पार्क निर्माणाधिन छ । जसको बिचमा ताल बाराही मन्दिर निर्माण गरिएको छ । डुङ्गा चढेर मन्दिर दर्शन गर्न पुग्न सकिन्छ । सरकारले एक सय नयाँ पर्यटकीय गन्तव्य मध्ये तालपोखरा पनि एक हो । तालपोखरा क्षेत्रलाई स्थानीयकै परिकल्पनामा विकास गरिएको हो । जसका लागि यहाँ गत वर्ष धनधान्यान्चल महायज्ञ गरि एक करोड २० लाख रुपैयाँ संकलन गरिएको थियो । बिहान, दिउँसो, साँझ जुनसुकै बेला पनि यहाँ अवलोकन गर्न र रमाउन आउनेको जमात अहिले बढ्दो छ । तालपोखरा संरक्षण समितिका अध्यक्ष भरतराज देवकोटाले तालपोखरा पोखराको फेवाताल जस्तै पर्यटन प्रवद्र्धनका लागि रामपुरको मेरुदण्ड बन्ने बताए । उनी भन्छन्, ‘ताल अवलोकन गर्न आउने आन्तरिक पर्यटकको चहलपहल बढ्दो छ । दैनिक एक सयभन्दा बढी अवलोकनकर्ताहरु रामपुर आउन थालेका छन् । यसले हामीलाई उत्साहित बनाएको छ ।’ २०६६ सालदेखि यहाँ पर्यटन प्रवद्र्धनको काम अगाडि बढाउन थालिएको हो । अहिले फेवातालको झल्कोस्वरुप चारैतिर ताल बिचमा मन्दिर स्थापना गरिएको हो, देवकोटाले भने ।


तालको बिचमा रहेको मन्दिर वरिपरि पर्खाल, पोखरी व्यवस्थापन, मन्दिरको साइडमा तीन ठाउँमा पूजाआजाका लागि प्रवेशद्वार, तालमा लैजाने पानी व्यवस्थापनका लागि नाली निर्माण, पार्क निर्माण, विवाह, व्रतबन्ध, वनभोजको व्यवस्था, पोखरी प्रवेशद्वार लगायतका काम सम्पन्न भइसकेको छ । झण्डै दुई करोड रुपैयाँको लागतमा तालपोखरा निर्माण भएको हो । तालपोखराको पर्यटन प्रवद्र्धनका लागि रामपुर नगरपालिकाले आर्थिक वर्ष २०७२÷०७३ मा टर्मिनल खरिदका लागि एक लाख, २०७३÷०७४ मा तालपोखरा प्रवेशद्वार निर्माणका लागि एक लाख र ०७४÷०७५ मा तीनलाख रुपैयाँ रकम विनियोजन गरेको थियो । कालीगण्डकीको पानीलाई लिफ्टीङ् गरि तालमा भरिएको पानीमा डुङगामा शयर गर्ने, तालको बिचमा रहेको मन्दिरमा पुजा आराधना गर्नेहरुको चहलपहल रहेको तालपोखरा संरक्षण समितीले जनाएको छ । तालपोखरामा डुङ्गाका लागि पचास रुपैयाँ टिकट काट्नु पर्छ ।
तालपोखरामा डुङ्गा चढेर पोखरीको बिचमा रहेको मन्दिरमा पूजाआजा गर्न पुगेका रम्भा गाउँपालिका–१, च्याङलिङका नारायण श्रेष्ठले पोखरा पुगेको झल्को मेटिएको बताए । उनले गाउँघरमा पर्यटन प्रवद्र्धनका लागि र फुर्सदको समय सदुपयोग गर्नका लागि राम्रो अवसर मिलेको बताए । दैनिक रुपमा ४ सयको हाराहारीमा आउने पर्यटकका निम्ती ५० रुपैयाँ तथा विद्यार्थीहरुका निम्ती भने ३० रुपैयाँमा तालमा डुङगाबाट सयर गर्ने प्रवन्ध मिलाइएको छ । तालपोखरा क्षेत्रको आर्थिक विकासका लागि तालमा १६ हजार माछाका भुरा समेत छाडिएको छ । माछा पालनबाट समेत मनग्य आम्दानी लिने समितिको लक्ष्य रहेको छ । तालपोखरामा मन्दिरसँगै पिकनिक स्पोर्टस् तथा पार्क समेत रहेको छ । दतालपोखरामा पर्यटनको संख्या बृद्धिका निम्ती बालउद्यान र विभिन्न प्रकारका सेवा थप्ने योजना रहेको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताए । उनले रामपुर क्षेत्रका नीजि क्षेत्र पर्यटकीय गन्तव्यको विकासमा लागि परेको बताए । पुस २७ देखी माघ ८ सम्म सञ्चालन हुने दोस्रो रामपुर महोत्सवमा तालपोखरा मुख्य आकर्षणको स्थान बन्ने बताए । रामपुरका स्थानीयले तालपोखरालाई ‘मिनी फेवाताल’ उपमा दिएको रविचन्द्र कंडेलले बताए । कंडेल भन्छन्, हाम्रो कल्पनाले मूर्त रुप लिएको छ । यहाँको स्थानीयहरु सबैले यसलाई महत्व दिएका छन् । प्रशिद्ध कालीगण्डकीको पानी फाँटमा ल्याएर ताल सञ्चालन भएको छ । जसका कारण तालपोखराको धार्मीक महत्व बढेको छ ।
जिल्ला सदरमुकाम तानसेनदेखी रामपुर ६५ किलोमिटर पूर्वमा छ । रामपुरको बेझाड, किसानबारी बजारबाट गाडी चढेर १० मिनेटमा यहाँ पुगिन्छ । यहाँ पुगेर तालमा रमाउने र फोटो खिच्ने युवाहरु बढेका छन् । दैनिक एक सय जना तथा विदाको समयमा दुई सय ५० जनासम्म ताल अवलोकनका लागि आउने गरेको कर्मचारी सुक्ष्मा आलेले बताईन् । जिल्लाकै पहाडी भेगका साथै नवलपरासी, स्याङ्जा, तनहुँका विभिन्न भागबाट यहाँ दैनिक आन्तरिक पर्यटक आउने गरेका छन् । रामपुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष हुमनाथ न्यौपानेले रामपुर भित्रने व्यक्तिहरु एकपटक तालपोखरा पुग्ने गरेको बताए । तस्वीरः पाल्पाको रामपुरमा कालिगण्डकीको पानी ल्याएर बनाईएको तालपोखरा । तस्वीरः मुक्ति

SHARE