सुशीला रेग्मी
रामपुर (पाल्पा) चैत ३०
पाल्पाको रामपुरमा स्काउट सम्बन्धी संचालन भएको तीनदिने तालिम सकिएको छ । नेपाल स्काउट जितापुर कृउको आयोजनामा स्थानीय स्काउट कार्यालय रामपुर र रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालयको सहयोगमा चैत २७ गतेदेखि तालिम आयोजना गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले स्काउट बालबालिकाको मार्ग निर्देशन गर्ने संस्था रहेको हुदा यस्ता खालका कार्यक्रमले विद्यार्थीले राम्रो कुरा सिक्ने अवसर प्राप्त गर्ने बताउनुभएको छ ।

विद्यार्थीलाई कितावी ज्ञानले मात्रै नभई यसका अलवा बाहिरी ज्ञान सीप सिक्नु अति आवश्यक रहेको हुदा रामपुर अंग्रेजी आवासिय माविले गरेको यस कार्यक्रम प्रशंसनिय रहेको नगर उपप्रमुख थापाले बताउनुहुदै यस कार्यक्रमलाई आगामी दिनमा रामपुर नगरपालिकाले सहयोग गर्ने बताउनुभएको छ । कार्यक्रममा रामपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले स्काउट समुहले रामपुरमा आएर जोखिम, विपद व्यवस्थापन सम्बन्धी धेरै कुरा सिकाएको बताउनुभएको छ । विद्यालयका व्यवस्थापकीय निर्देशक सुर्यप्रसाद घिमिरेले विद्यार्थीले अति उत्सुकतापुर्वक सहभागी भएको बताउनुहुदै यस्ता तालिम अति आवश्यक रहेको बताउनुभएको छ । नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक सत्यनारायण शाहिले तीन दिनको समयमा विद्यार्थीले धेरै ज्ञान सीप हासिल गरेको बताउनुभएको छ । राष्ट्रिय समाचार समितिका पाल्पा समाचारदाता सुशीला रेग्मीले यस्ता खालका कार्यक्रमले रामपुरको सकारात्मक सन्देश बाहिर जाने र यसले विद्यार्थीले धेरै कुरा सिक्ने अवसर पाएको बताउनुभएको छ । रामपुर नगरपालिका वडा नं ४ को बोहोरीडाँडामा शारीरिक व्यायाम सहित तालिम सकिएको छ । यस तालिममा काठमाण्डौबाट ३० र रामपुर अंग्रेजी आवासिय विद्यालयबाट ७१ जना विद्यार्थी सहभागी थिए । विद्यालयमा १५० जना स्काउटका विद्यार्थी अध्ययनरत छन् । स्काउट कक्षामा कक्षा ६ देखि ११ कक्षासम्मका विद्यार्थी सहभागी छन् । तालिमको सहजिकरण नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक सत्यनारायण शाही,सहायक प्रशिक्षक रोजिना शाही, क्याम्प संयोजक साईन थापा मगर, क्रियाकलाप संयोजक रिकेश नगरकोटी, ईन्चार्ज शिशिर तामाङ, आयुषा थापा, शशी खड्का, निहारिका डंगोल, प्रेम शाक्य, सुविना नगरकोटि, आशिफ थापा, राहुल शाहले गर्नुभएको हो । स्काउटिङ विकासको लागि वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न जिल्लामा यस सम्बन्धी कार्यक्रम भईरहेको छ ।

रामपुर अंग्रेजी आवासिय माविमा भएको कार्यक्रममा सहभागीलाई स्थानीय स्काउट कार्यालय रामपुर स्काउटका संयोजक सागर श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रमको संचालन स्काउट सदस्य शिक्षक अनिल सुनारले गर्नुभएको हो । रामपुर अंग्रेजी आवासिय मावि कक्षा ११ का विद्यार्थी सन्ध्या मल्ल र ललितपुरबाट आउनु भएका विद्यार्थी सालिम महर्जनले तीन दिनको अवधिमा धेरै कुरा सिकेको अनुभव सुनाउनुभएको छ । कार्यक्रममा सहभागी विद्यार्थीलाई प्रमाणपत्र र प्रशिक्षकलाई मायाको चिनो प्रदान गरिएको छ । यस तालिममा ललितपुरको अनलज्योती बोर्डिङ्ग स्कुल, अस्मिता ईङ्गलिस स्कुल, ल्याण्डमार्क एकेडेमीका विद्यार्थीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय