Sunday , September 20 2020

नागरिकता दिन सीमान्तकृत बस्तीमै पुगे सिडियो

पाल्पा, पुस १०
अप्ठ्यारा,े कच्ची सडक । शुक्रबारको दिन सरकारी नम्बरप्लेट गाडीहरुको लस्कर थियो । महिनामा एक दुई गाडीहरु ओहोरदोहोर गर्ने स्थानमा सरकारी गाडीको लस्कर । त्यो पनि मुस्किलले । जनता दुई घण्टाको पैदल दूरीमा पार गरेर खाद्यान्नको जोहो गर्दछन् । गाउँमा १ सय १८ घरपरिवारको बसोबास रहेको छ । दुई मगर घरपरिवार बाहेक अन्य सबै कुमालजातिको बसोबास रहेको छ । पहिलो पटक यहाँका स्थानीयले प्रमुख जिल्ला अधिकारीलाई भेट्न पाएका थिए । दैनिक मजदूरी गरेर खाने सीमान्तकृत बस्ती रहेको जोगिथुमका स्थानीयले घरदैलोमै एकीकृत सेवा पाएका छन् ।
रिब्दिकोट गाउ“पालिका–१, ख्याहा जोगीथुममा जिल्ला प्रशासन कार्यालयले एकीकृत घुम्ती शिविर सञ्चालन गरेसँगै स्थानीय खुसी भएका छन् । स्थानीय नारायणबहादुर कुमाल भन्छन्, ‘स्थानीय सरकार आएको बल्ल आज यहाँका जनताले अनुभूत गर्न पाएका छौं । गाउँमा धेरै वर्षदेखी नागरिकता समेत नबनाएर बसेका मानिसहरु थिए । आज एकै दिनमा स्वास्थ्य परिक्षण गर्ने, नागरिकता लिने, मालपोत सम्बन्धी जानकारी लिने तथा पशुचौपायलाई औषधी लिन पाएका छौं ।’ उनले अहिलेसम्म सरकारको तर्फबाट कुनै उपस्थिती नदेखिएको पिछडीएको कुमाल बस्तीमा गाउँपालिका सरकार तथा कार्यालयका प्रमुखहरु आउँदा गाउँको वास्तविकता जानकारी पाएको बताए । रीता कुमाल भन्छिन्, गाउँमै यसरी नागरिकता पाईंदो रहेछ, हामीले सरकारी कार्यालयसम्म देख्ने मौका पाएका थिएनौं । उनले गाउँमै सबै किसीमका समस्या समाधान गर्ने शिविरले गाउँका जनताको समस्या समाधान भएको बताईन् ।
जिल्ला प्रशासन र रिब्दीकोट गाउ“पालिकाले राखेको एकीकृत घुम्ती शिविरबाट गाउँका प्राय सबै घरले कुनै न कुनै फाइदा लिएका छन् । जिल्ला प्रशासन कार्यालयका अधिकृत हुमबहादुर पाण्डे भन्छन्, ‘एक दिने शिविरमा कुमाल बस्तीका ५३ जनाले नागरिकता लिएका छन् । धेरैले बनाईसकेको नागरिकता पनि बिगारिसकेका रहेछन् । उनीहरुले पनि नयाँ नागरिकता पाएका छन् । कतिपय अभिलेख नभएका र झुत्रो भएकाहरू ल्याएका थिए । नया“ कायम गर्न मिल्ने जति दिइयो भने प्रतिलिपि लिनुपर्नेलाई कार्यालयमै बोलाइएको छ ।’ मालपोत कार्यालयका अधिकृत शिव पौडेलले कुमाल बस्तीमै पुगेर जग्गाको विवाद र व्यवस्थापनका विषयमा जानकारी दिन पाउँदा जनताले मालपोत र रजिष्ट्रेशन सम्बन्धी जानकारी पाएको बताए । गाउ“पालिकाको समन्वयमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. चन्द्रबहादुर रानाले पशुपालनमा आकर्षण गराउनुपर्ने बताए । ‘पशुपालनमा ध्यान खासै रहेनछ, यसमा आकर्षण गराउन जरुरी देखिएको छ ।’
रिब्दिकोट स्वास्थ्य शाखा प्रमुख बिष्णु खनालले कुमाल बस्तीका १९ जनाले स्वास्थ्य सेवा लिएको बताए । स्वास्थ्य परीक्षणका लागि नेपाली सेनाको गोरख दल गणका स्वास्थ्यकर्मी समेत उपस्थिति थियो । रिब्दीकोटका शिक्षा शाखा प्रमुख विष्णु बेल्वासेले विद्यालयमा विद्यार्थीको उपस्थिति, खाजा कार्यक्रमको अनुगमन गरिएको बताए ।
रिब्दीकोट गाउ“पालिका अध्यक्ष नारायणबहादुर जीसीले कुमाल बस्तीमा धेरै समस्याहरु रहेको बताए । उनी भन्छन्, दुर्गम क्षेत्रमा सीमान्तकृत समुदायको बस्ती छ । सेवाको पहुँच पुगेको छैन । जनताको शिक्षाको स्तर तथा गरिबी न्यून छ । त्यसैले शिविरको आयोजना गरेका हौं । पाल्पाका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले जनताको आवश्यता तथा पहु“च हेरेर जिल्लाका विभिन्न स्थानमा एकीकृत सेवालाई निरन्तर रुपमा सञ्चालन गरिरहने बताए । उनी भन्छन्, ‘पिछडिएको बस्तीमा पुगेर यो वर्ष कम्तिमा चार स्थानमा सेवा दिने हाम्रो लक्ष्य छ, दुई स्थानमा सेवा दिईसक्यौ । एकीकृत सेवाले गर्दा सबै सेवा एकै ठाउ“मा लिने र दिने काम हुने गरेको छ ।’ जिल्ला प्रशासनले अपांग, असक्त ६ परिवारलाई न्यानो कपडा कम्बल पनि वितरण गरेको थियो । शिविरबाट ५३ जनाले नागरिकता लिएका थिए । यस्तै ६७ जनाले मतदाता नामावलीमा नाम दर्ता गर्ने र ७० जनाले लागुऔषधी सम्बन्धी जानकारी लिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
तस्वीरः रिब्दीकोट गाउँपालिकाको जोगिथुममा सञ्चालित शिविरमा सहभागी । तस्वीरः नागरिक

Check Also

माथागढीमा ५ वेडको आइसोलेसन अस्पताल निर्माण हुँदै …

गजेन्द्र पन्थी माथागढी, असाेज १ माथागढी गाउँपालिकामा आइसोलेसन अस्पताल निर्माण हुने भएको छ । संघीय …

error: Content is protected !!