नेपाल आइडलः पोहोर जातीयता हावी, यसपालि क्षेत्रीयता

८ पुस, काठमाडौं । ‘भोटबाट न गतिलो नेता जन्मिँदा रहेछन्, न कलाकार,’ नेपाल आइडल-२ को फाइनलपछि फेसबुक भित्तामा कसैले लेखेका थिए । यो स्टाटस नेपाल आइडलको दोस्रो संस्करणका बिजेता रवि ओडप्रति लक्षित थियो ।

सर्वाधिक भोट ल्याएर सुदूरपश्चिमेली ठिटो रवि दोस्रो नेपाल आइडल बनेका छन् । तर, पहिलो संस्करणमा जस्तै दोस्रो संस्करणले पनि सर्वोत्कृष्ट प्रतिभाको छनोट गर्न नसकेको चर्चा चलिरहेको छ ।

पहिलो संस्करणमा आफूभन्दा अब्बल प्रतिभाहरुलाई पछि पार्दै बुद्ध लामा बिजेता बनेका थिए । तर, उनलाई अहिले ‘पहिलो नेपाल आइडल’ को टाइटल भारी भइरहेको प्रतीत हुन्छ । दोस्रोमा पनि करिब-करिब त्यस्तै नतिजा आएको छ ।

कसको गायन उत्कृष्ट भनेर हिसाब निकाल्ने कुनै मेसिन त हुँदैन, तर फाइनलमा पुगेका चारजना मध्ये गायकीका हिसाबले रवि कमजोर मानिएका थिए । विक्रम बराल र सुमित पाठक उनीभन्दा ‘भर्सेटाइल’ र आवाजको हिसाबले पनि उत्कृष्ट भएको ठहर संगीत विशेषज्ञ मात्र होइन, एउटा सामान्य स्रोताले पनि गर्न सक्छ । onlinekhabar

हुन त नेपाल आइडल एउटा गायन प्रतिस्पर्धा हो । तर, यसको फम्र्याट नै यस्तो छ कि राम्रो गाएर मात्रै उत्कृष्ट ठहरिन सकिँदैन । यसका लागि ‘ह्वीम’ मच्चाउनुपर्छ र यथेष्ट पैसा खर्च गर्नुपर्छ । इमोसनल ब्ल्याकमेलिङ गर्नुपर्छ । यो नेपालको समस्या मात्रै नभएर विश्वव्यापी ट्रेन्ड नै हो ।

नेपालमा चाहिँ राष्ट्रिय चर्चाकै विषय बनेको हुनाले नेपाल आइडलको फर्म्याटमाथि बहस चलाउनुपर्ने आवश्यकता देखिएको छ । किनकि यस कार्यक्रमले जातीयता र क्षेत्रीयतालाई प्रवर्द्धन गर्ने स्पष्ट छनक देखियो । प्रतिभालाई जात र भूगोलले ओझेल पार्ने समस्या देखियो ।

हुन त नेपाल आइडल एउटा गायन प्रतिस्पर्धा हो । तर, यसको फम्र्याट नै यस्तो छ कि राम्रो गाएर मात्रै उत्कृष्ट ठहरिन सकिँदैन । यसका लागि ‘ह्वीम’ मच्चाउनुपर्छ र यथेष्ट पैसा खर्च गर्नुपर्छ

पहिलो संस्करणको कुरा गरौं 

बुद्ध लामा टप टेनमा पर्नु नै आश्चर्य थियो । प्रतियोगितामा उनले एउटा गीत (ऊ जितेर गई) उत्कृष्ट गाएका थिए । बाँकी अधिकांशमा उनको प्रस्तुति फितलो थियो । तर, फाइनलमा निशान भट्टराई र प्रताप दासलाई पन्छाउँदै उनले उपाधि जिते ।

बुद्धले कसरी बढी भोट ल्याए भनेर निश्कर्षमा पुग्न धेरै घोत्लिनु पर्दैन । उनले पाएका भोटहरु अधिकांश ‘जातीय’ थिए । विश्वभर रहेका आफ्नो जातका व्यक्तिहरुबाट बुद्धलाई भोट हाल्न पैसा ओइरिएको थियो । त्यतिबेला फेसबुक र यूट्युवमा उनका बारेमा आउने कमेन्टहरु हेर्दा पनि थाहा हुन्छ कि उनको गायकीलाई जातले कसरी थिचेको थियो ।

सबैले निशानलाई उपाधिको प्रमुख दाबेदारका रुपमा हेरेका थिए । तर, दोस्रो हुनु नै ठूलो कुरा मान्नुपर्ने अवस्था भयो ।

पहिलो नेपाल आइडलपछिको सांगीतिक दौडलाई मूल्यांकन गर्दा पनि बुद्ध लामाभन्दा निशान भट्टराई निकै अगाडि छन् । निशानले लगातार हिट गीतहरु दिएका छन् । उनले छक्का पञ्जा ३, रोजलगायत केही फिल्मको गीत पनि गाउन भ्याएका छन् । छक्का पञ्जा ३ को ‘फेरि कालै पल्किन्छ’ बोलको गीत ७५ लाख भ्युज बटुलेको छ । बुद्धले अहिलेसम्म फिल्मको गीत गाउन पाएका छैनन् ।

ननफिल्मी गीतमा पनि बुद्धभन्दा निशान अगाडि छन् । निशानले गाएको ‘भुन्टी’ बोलको गीत एक करोड २० लाखभन्दा बढी भ्युज पाएको छ भने बुद्धको ‘सानी’ले करिब ४० लाख भ्युज पाएको छ ।

अब दोस्रो संस्करणको कुरा गरौं 

भोटिङको माध्यमबाट सही निर्णय हुन नसकेको ठानेरै यसपालि आयोजकले कार्यक्रमको फर्म्याट केही संशोधन गरेको थियो । फाइनल राउन्डसम्म भोटिङ र जजहरुको निर्णयलाई आधाआधा मतभार दिइएको थियो । यसले केही सुधार त आयो । तर, फाइनलमा भने निर्णायकको भूमिका थिएन ।

यसपालिको फाइनलमा ‘जातीयता’ भन्दा ठूलो फ्याक्टर क्षेत्रीयता बनेको देखियो । रवि ओडलाई ‘सुदूरपश्चिमका शान’ भन्दै भोट माग्ने लहर चल्यो सामाजिक सञ्जालमा । अँ, अनि कतिपयले उनको गरिबीलाई देखाएर पनि भोट मागे । भारतका काम गर्ने रवीका बुवालाई आँसु झार्न लगाइयो ।

यसरी गायकीको प्रतिस्पर्धामा अरु नै कुराहरु प्रधान बने । सुदूरपश्चिमवासीहरु अखण्ड सुदुरपश्चिमको आन्दोलनमा जस्तै एकजुट भए । स्वर मन परेर भन्दा पनि आफ्नो क्षेत्रको प्रतिनिधि मानेर । उनको गीतै नसुन्नेहरुले पनि भोट गरे ।

यो एउटा खराब ट्रेन्ड हो । यो नेपाल आइडल आएपछिको ट्रेन्ड मात्र पनि होइन । यसअघि नेपाल टेलिभिजनले आयोजना गरेको रियालिटी शो ‘नेपाली तारा’ मा पनि यस्तै भएको थियो । नेपाली ताराको यति ठूलो चर्चा त थिएन, तर त्यसमा पनि सबैभन्दा ठूलो फ्याक्टर जातीयता नै बनेको थियो । अन्यथा तीनै संस्करणका विजेता (दीपक लिम्बु, सन्तोष लामा र प्रताप लामा) जनजाति नै हुनुलाई संयोग मात्रै मान्न सकिँदैन ।

अर्को सम्झिनुपर्ने कुरा । पहिलो नेपाल आइडलकी एक प्रतियोगी थिइन्- मेनुका पौडेल । मीठो स्वरकी धनी यी दृष्टिविहीन गायिका कम भोटका कारण टप ११ बाटै बाहिरिइन् । उनको पक्षमा भोट मागिदिने कोही थिएनन् । जातले ब्राम्हण थिइन् । दृष्टिविहीन उनी सुन्दर अनुहार खोज्नेहरुको आँखामा पनि पर्न सकिनन् ।

उनै मेनुकाले यसपालि भारतीय टीभीको रियालिटी शो ‘सारेगामप’ मा भाग लिइन् र सबैको वाहवाही बटुलिन् । भलै टप ११ बाटै आउट भइन् । तर, अरबौंको जनसंख्याबीच हुने प्रतिस्पर्धामा टप ११ मा पर्नु पनि चानचुने कुरा थिएन ।

अनि पैसाको खोलो

नेपालमा संसदीय वा स्थानीय चुनाव हुँदा पैसाको खोलो बग्ने गरेको पाइन्छ । त्यसरी नै पैसाको खोलो बग्ने गरेको छ नेपाल आइडलको ‘चुनाव’ मा पनि ।

भोट गर्न पैसा चाहिन्छ । त्यो पनि थोरै होइन, लाखौं करोडौं । स्वर मन परेर भोट दिनेहरुले सय-पचास खर्च गर्लान् । तर, उपाधि जित्नलाई त पैसाको खोलो नै बगाउनुपर्छ । जसले धेरै पैसा जुटायो, उसैले जित्छ । र, पैसा जुटाउने फ्याक्टर उही जातीयता, क्षेत्रीयता ।

यसपालिको नेपाल आइडलमा कसले कति भोट पाए भन्ने आयोजकले सार्वजनिक गरेको छैन । त्यसैले ठ्याक्कै भोटिङमा कति पैसा बग्यो भन्ने अनुमान गर्न सकिँदैन । अघिल्लो वर्ष भने भोटिङ नतिजा सार्वजनिक गरिएको थियो । ४ करोड २० लाख खर्च गरेर कतारमा फाइनल गरिएको थियो ।

फाइनल राउन्डमा मात्रै बुद्ध लामाले ११ लाख ४५ हजार ५ सय ३८ भोट पाएका थिए, जसमा झण्डै सात लाख एसएमएस भोट थिए । यसबाट पनि अनुमान गर्न सकिन्छ कि कति पैसा ओइरिएको थियो ।

यसै वर्ष लगभग सँगसँगै भएको अर्को गायन रियालिटी सो ‘भ्वाइस अफ नेपाल’ मा भने जातीय/क्षेत्रीय फ्याक्टरले खासै काम गरेको देखिएन ।

सम्झना प्रशान्त तामाङको

यसै सन्दर्भमा भारतीय टीभीबाट प्रशारण हुने इन्डियन आइडल-२ को सम्झना गर्नु उपयुक्त हुनेछ । उक्त संस्करणमा नेपाली मूलका प्रशान्त तामाङले भाग लिएका थिए र अन्ततः उपाधि नै जितेका थिए । त्यतिबेला प्रशान्तलाई जिताउन दार्जिलिङवासी नेपालीमा जनलहर नै उत्पन्न भएको थियो । नेपालीहरुले समेत उनलाई आफ्नो मानेर भोट हाल्ने अभियान चलाएका थिए । अन्ततः औसत स्वर भएका उनले आफूभन्दा अब्बल थुप्रैलाई पछि पार्दै उपाधि जिते ।

तर, इन्डियन आइडल भए पनि प्रशान्तले भारतको सांगीतिक परिदृष्यमा आफूलाई स्थापित गराउन सकेनन् । बरु नेपाल आएर फिल्म खेले । केही नेपाली गीत पनि गाए ।

यसबाट पनि पुष्टि हुन्छ कि सबै ‘आइडल’ उत्कृष्ट हुँदैनन् र सबै उत्कृष्ट ‘आइडल’ बन्दैनन् ।

अन्त्यमा,

दुरदराजबाट एउटा प्रतिभा सांगीतिक आकाशमा उदाउनु सुखद कुरा हो । रवि ओडको गायन क्षमतामा पनि हामीले प्रश्न उठाउन खोजेको होइन । केवल यत्ति भन्न खोजेका हौं कि उत्कृष्ट प्रतिभा छनोट गर्ने सही तरिका ‘भोटिङ’ मात्रै होइन र हुन सक्दैन । ‘आइडल’ घोषित नभएकाहरु पनि गीत संगीतको यात्रामा उत्कृष्ट ठहरिन सक्छन् ।

SHARE