Sunday , September 20 2020

‘सुन बन्दै सुन्तला !’ एक गाउँबाटै करोड बढीको बिक्रि

मुक्तिप्रसाद न्यौपाने
पाल्पा, पुस ४
चिसोको मौसम । पाल्पाको रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाका पहेलपुर छ । बाटोमा डोकोभरि र थैलाभरी सुन्तला बिक्रिमा राखिएका छन् । यात्रुहरु गाडी रोकेरै सुन्तला किनेर लैजाने गरेका छन् । अन्य खेतिवाट भन्दा राम्रो आम्दानी हुन थालेसँगै किसानले व्यवसायीक रुपमै सुन्तला खेती गर्न थालेका छन् ।
गाउँका प्रत्येकजसो घरमा एक सय बढी सुन्तलाका रुख छन् । हरेक घरबाट १ लाख देखी ५ लाख रुपैयाँ सम्मको सुन्तला निर्यात हुँदै आएको किसानहरु बताउँछन् । रिब्दीकोट गाउँपालिका–७, मैनादीका गोपाल कुवँरले बारीमा पाँच सय सुन्तलाका बोट लगाएका छन् । गत वर्ष उनले आफ्नै बारीबाट तीन लाख रुपैयाँको सुन्तला बिक्रि गरेका थिए । उनी भन्छन्, ‘यसवर्ष पनि त्यतिको नै बेच्ने आशा छ । सायद अहिले केही धेरै आम्दानी हुन सक्छ ।’ मैनादी गाउँबाट मात्रै वार्षिक १ करोड रुपैयाँ बराबरको सुन्तला निर्यात हुँदै आएको सोही गाउँका अर्को किसान उमेरबहादुर कुवँरले बताए । पछिल्लो समयमा देशमा रोजगारीको अवसर कम देखि विदेशिने युवाको संख्या बढ्दो छ । रैनादेवीछहरा गाउँपालिका–४, अमलाबासका ७८ वर्षिय यमलाल कोईरालाले आफुले जानेदेखी सुन्तला लगाउँदै आएको बताए । उनी भन्छन्, ‘३४ वर्ष अघि मैले बारीमा सुन्तला लगाउँदा अन्नबाली मासेको भनेर गाली गर्थे । त्यस समय गाउँमा कहिकतै सुन्तला थिएन अहिले जताततै पंहेलपुर भएको छ । २०४० सालबाट सुन्तला खेती थालेका कोईरालाले पहिलो वर्ष सुन्तला बिक्रिबाट ८ हजार आम्दानी गरेको बताए । दोस्रो वर्ष २० हजार । क्रमश प्रत्येक वर्ष सुन्तला विक्रिबाट उनको आम्दानी बढ्दै गयो, उनले भने अहिले बारीमा ५ सय बढी सुन्तलाका बोट छन् । बार्षिक ५ लाख आम्दानी भैरहेको छ ।’ यस गाउँका २ दर्जन बढी घरपरिवारले आफ्नो बारिभरी व्यवसायिक सुन्तलाखेती गरेका छन् ।


बौघापोखराथोक–१ की शान्तादेवी नेपाल राम्रो सुन्तला खेती गरेका कारण उत्कृष्ठ उद्यमी छनौट प्रतियोगितामा उत्कृष्ठ दश उद्यमीमा छनौट भएकि छिन् । उनी दायित्व र इनोभेषनको महिला उद्यम दु्रतिकरण कार्यक्रम २०१६ मा उत्कृष्ठ दशमा छनौट भएकी छिन् । उनले आफुसँग भएको सबै जमिनमा सुन्तला रोप्नकोलागि तयारी गरेको बताईन् । पाँच वर्ष अगाडी लगाएको बोटमा अहिले लटरम्म फल सुनजस्तै देखिन्छ । ‘आफ्नै बारीमा सुन जस्तै फलेको सुन्तला देखेर यहाँको बाटो हिड्ने किसानहरु लोभिन्छन् । सिजनमा हुने फल खान मन कसलाई हुँदैन र?’–नेपालले भनिन् । ‘सुन्तला खेतीलाई फस्टाएर गाउँ भरि सुनैसुन बनाउने इच्छा छ,’–उनले भनिन् । अलि लामो समय बोटमा राखे पैसा थेरै पर्छ । अहिले शहरमा सय बढी रुपैयाँ तिरर गुलियो सुन्तला खानेहरु पनि छन्, घरको वरिपरि सुनजस्तै पहेंलपुर भएर लटरम्म फलेको सुन्तलाले सबैको मन लोभ्याउँछ नेपालले भनिन् ।
अहिले जिल्लाका किसानले लगाएको अधिकांश सुन्तला ठेक्कापट्टा भैसकेको छ । किसानको घरमै आएर व्यापारीहरुले बोटबाटै सुन्तला खरीद गर्ने गरेका छन् । एक पटक लगाएपछि वर्षौंसम्म आम्दानी दिन्छ, सुन्तलाले । सिजनमा एकै जनाले १५ लाख रुपैयाँ बढी आम्दानी गर्न सफल छन्, यहाँका व्यवसायीहरु । यस्ता गाउँहरू छन्, जहाँको मुख्य आम्दानी नै सुन्तला हो । अमिलो जातका फलफुल खेती हुने गाउँको नाम हो, अमलाबास । अहिले नामै फेरिएर सुन्तलाबास बन्न पुगेको छ । बस्तीहरूमा करोडौं रुपैयाँ भित्रिने गरेको छ सुन्तलाबाट । वैदेशिक रोजगारभन्दा पनि यो खेती आकर्षक बन्दै छ । सुन्तलाले ग्रामीण क्षेत्र फेरिएको छ । सुन्तला यस वर्ष किसानको घरबाट प्रतिकिलो ४० देखि ६० रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ ।
२०५० सालतिर बन्दीपोखरा–७ का यज्ञप्रताप जवराले दुईचार बीजु बोट अमलाबासबाट ल्याएर सुन्तला खेती सुरु गरेका हुन् । त्यही दुईचार बोटमा राम्रो सुन्तला फल्न थालेपछि २०५४ सालदेखि उनले व्यावसायिक खेती थालेका हुन् । उनले अमलाबासबाट छ सय बढी बोट ल्याएर आफ्नो बारीमा लगाए । अहिलेसम्म त्यही बोटमा ५० किलोग्राम सम्म सुन्तला फलिरहेको छ जबराले भने । म अहिले आफु काठमाण्डौ बस्छु । मेरा दिदीभिनाजुले हेरिदिएको सुन्तला बर्षमा एक पटक आएर बेच्दा पनि तीन चार लाख कमाई हुन्छ यज्ञप्रतापले भने । ‘रेखदेख राम्रो गर्न सकेमा युवाहरु विदेश जानु पर्दैन, यही आफ्नो माटोमा परम्परागत खेती छाडेर यतै तर्फ लाग्दा हुन्छ,’–उनले भने ।
पाल्पा जिल्लाको छहरा गाविस–५ स्थित अम्लाबासका सुन्तला किसान लाखाँै आम्दानी गर्न सफल भएका छन् । यहाँका झण्डै ४० घरपरिवारले सुन्तलाबाट सरदरमा तीन लाखसम्म आम्दानी गरेका छन् । सुन्तला खेती राम्रो आम्दानीको स्रोत बनेपछि यहाँका किसानको प्रमुख व्यवसाय बनेको छ । छहरा गाविस–५ अम्लाबासबाट मात्र एक करोड रुपैयाँ बढीकोे सुन्तला जिल्ला बाहिर निकासी हुँदै आएको किसान नित्यानन्द पोखरेल बताउँछन् । उनले यहाँका सुन्तला लामो समयसम्म स्टोरेज गरेर गर्मी महिना चैत, वैशाख महिनासम्म राख्न सकेको अवस्थामा दोब्बर आम्दानी हुने बताउँछन् ।गाउँमा फलेका सुन्तला रूपन्देही, नवलपरासी, कपिलवस्तु, नेपालगन्ज, काठमाडौँ लगायतका जिल्लामा पुग्ने गरेको किसानको भनाइ छ । छहरा–५, अम्लाबासमा यसवर्ष एक करोड बढीको सुन्तला निकासी गर्ने तयारीमा किसान लागेका छन् । एउटा सुन्तलाको बोटमा दुई हजार सुन्तला फल्ने गरेको छ ।
जिल्लाको छहरा, मुझुङ, कुसुमखोला, भैरवस्थान, भुवनपोखरी, बन्दिपोखरा, बौघापोखराथोक, जल्पा लगायतका गाविस सुन्तला उत्पादित क्षेत्र हुन् । अन्य कृषि उपजमा झैं सुन्तला किसान पनि बिचौलियाको ठगीबाट जोगिन सकेका छैनन् । उचित मूल्य पाउनबाट वञ्चित छन् । सुन्तला काठमाडौं, नारायणगढ, पूर्वी तराई मात्र नभई भारतसम्म पुग्ने गरेको छ । किसानको बोटबाट ४० देखि ५० रुपैयाँ किलोमा खरिद गरेर ८० रुपैयाँ किलोमा बिक्री गर्ने गरेका छन् । यहाँ उत्पादित सुन्तला तानसेन, वुटवल, भैरहवा, पोखरा लगायतका सहरमा निर्यात हुँदै आएको छ ।

Check Also

माथागढीमा ५ वेडको आइसोलेसन अस्पताल निर्माण हुँदै …

गजेन्द्र पन्थी माथागढी, असाेज १ माथागढी गाउँपालिकामा आइसोलेसन अस्पताल निर्माण हुने भएको छ । संघीय …

error: Content is protected !!