हानिकारक छ आकस्मिक गर्भनिरोधक औषधिको अत्यधिक प्रयोग

–देब​राज​ रेग्मी/२१ म​ङ्सिर २०७५, चित​व​न।आकस्मिक गर्भनिरोधक औषधि हर्मोनयुक्त खाने चक्की हो । यो चक्की असुरक्षित यौन सम्बन्धको पाँच दिन अर्थात् एक सय २० घन्टाभित्र खाएमा गर्भ रहँदैन । यो एउटा यस्तो औषधि हो, जसले अनिच्छाको गर्भ रोक्न सक्छ । आकस्मिक गर्र्भिनरोधक औषधि आकस्मिक अवस्थाका लागिमात्रै हो, यसलाई अन्य परिवार नियोजनको साधनसरह नियमित सेवन गर्नु वा अत्यधिक प्रयोग गर्नु राम्रो होइन ।

पछिल्लो समय विवाहितले भन्दा अविवाहित महिलाले गर्भनिरोधक चक्की बढी प्रयोग गर्ने गरेको पाइएको छ । एक अध्ययनका अनुसार आकस्मिक गर्र्भिनरोधक एमटी पिल्स, इकोन, आइपिल, अनवान्टेड ७२ जस्ता चक्की लिन आउनेहरुमा विवाहितभन्दा अविवाहित बढी हुने गरेको र हिजोआज कन्डमको भन्दा बढी यस्तै आकस्मिक गर्भनिरोधक चक्की प्रयोग बढेको छ ।
आकस्मिक गर्भनिरोधक चक्की एक–दुईपटक प्रयोग गर्नाले स्वास्थ्यमा असर पार्दैन । कतिपय अवस्थामा यो औषधि प्रयोग गरे पनि गर्भ रहन सक्छ र पाठेघरको नली फुट्न सक्ने खतरासमेत हुन सक्छ । तसर्थ, यसको सेवन धेरै गर्नुहुँदैन । आवश्यक परेमा एक–दुईपटक यसको सेवन गर्न सकिन्छ, तर परिवार नियोजनको अन्य साधनको विकल्पका रुपमा अत्यधिक प्रयोग गर्नु हानिकारक छ ।

यसको अत्यधिक प्रयोगले देखिने स्वास्थ्य समस्याहरु:
— यो हर्मोनले पुरूष हर्मोन र महिला हर्मोनका बीचमा द्वन्द्व गरेर गर्भ बस्न दिँदैन । तसर्थ, आकस्मिक गर्र्भिनरोधक चक्की सेवनले भ्रूण तुहाउँछ । यस्तो अवस्थामा यस्ता औषधि लिने महिलालाई रक्तश्राव हुन सक्छ।

— यो हर्मोनले महिलाको डिम्बाशयबाट निस्कने डिम्बलाई रोक्छ र डिम्ब निस्किसकेको अवस्थामा पनि शुक्रकीटसँग सेँचन भई भ्रूण बन्न दिँदैन । यदि भ्रूणसमेत बनिसकेको छ भने पनि पाठेघरमा टाँसिन दिँदैन र गर्भ बस्न दिँदैन, जसका कारण पाठेघरमा संक्रमण भई बाँझोपनको समेत समस्या ल्याउने खतरा हुन्छ ।

— कतिपयलाई यो औषधि प्रयोग गरेलगत्तै रक्तश्राव हुन सक्छ र महिनावारीमा पनि गडबडी आउन सक्छ ।

— आकस्मिक गर्भनिरोधक चक्की धेरै प्रयोग गर्नाले महिलामा बाँझोपनको समस्या आउन सक्छ र प्रोजेस्टेरोन हर्मोन उत्पादन नै बन्द हुन सक्छ । प्रोजेस्टेरोन एउटा त्यस्तो महिला हर्मोन हो, जसले डिम्ब निष्कासन तथा गर्भ बस्नमा मह¤वपूर्ण भूमिका खेल्छ ।

— यसको धेरै सेवन गर्नेहरुमा विभिन्न किसिमका यौन संक्रमण देखा पर्न सक्दछ र यौन रोगको जोखिम धेरै हुन्छ ।

—  आकस्मिक गर्भनिरोधक चक्कीमा हुने लिभोनोरजेस्ट्रेल वा युलिप्रिस्टल एसिटेट नामक हर्मोनले गर्भ बस्न आवश्यक हर्मोनलाई नष्ट गरिदिन्छ र गर्भ बस्न दिँदैन । यसकारण, महिलाको शरीरमा हुने हर्मोनमा गडबडी हुन्छ र स्टेराइडसम्बन्धी जटिलता देखा पर्ने, हाड खिइने, क्यान्सर र मुटु रोगको सम्भावना बढाउने तथा शरीरको प्रतिरोधात्मक क्षमता कमजोर हुने गर्दछ ।

यो औषधि सहज र सस्तोमा उपलब्ध छ । तर, यसको नियमित प्रयोगले दिने परिणाम भने राम्रो छैन । हाम्रो समाजमा यसका बारेमा कमैमात्र जानकारी भएको हुँदा यसलाई अन्य परिवार नियोजनको साधनजस्तो नियमित प्रयोग गर्ने गरेको पाइन्छ, जसले गर्दा जनस्वास्थ्यमा चुनौती थपिँदै गएको छ । तसर्थ, नेपाल सरकारले यसको उचित व्यवस्थापनका लागि आवश्यक कदम चाल्नुपर्ने देखिन्छ ।

SHARE