सरकार ! सेनेटरी प्याड निःशुल्क उपलब्ध गराऊ

–देब​राज​ रेग्मी/२० म​ङ्सिर २०७५, चित​व​न।सेनेटरी प्याड प्रत्यक्षरुपमा महिलाको स्वास्थ्यसँग सरोकार राख्ने वस्तु हो, जसले योनीमा संक्रमण ​ हुनबाट​ बचाउँछ । सेनेटरी प्याडको प्रयोग गर्दा किशोरी तथा महिलाहरुले यात्रामा, दैनिक जीवनमा, काममा, विद्यालयमा सबैतिर सहजता महसुस गर्दछन् । यसले गर्दा, उनीहरुको प्रजनन स्वास्थ्य राम्रो हुनुका साथै उनीहरुमा आत्मविश्वास पनि बढेर जान्छ ।

खासगरी, महिनावारीका समयमा किशोरीहरुले आफ्नो सरसफाइमा विशेष ध्यान नदिँदा विभिन्न समस्याहरु निम्तिने गर्छ । महिनावारीको समयमा गुणस्तरयुक्त सेनेटरी प्याड प्रयोग गर्नु अनिवार्य मानिन्छ । नेपाली समाजमा अझै पनि कति किशोरीहरु सेनेटरी प्याडको रुपमा सुतीका पुराना कपडाहरु प्रयोग गर्छन् । एक अध्ययनअनुसार ८५ दशमलब ५ प्रतिशत नेपाली महिला तथा किशोरीहरुले सुतीको प्याड प्रयोग गर्ने गरेको देखिन्छ । यसको प्रयोग सहरी क्षेत्रमा भने सन्तोषजनक छ, किनकि ८९ प्रतिशत किशोरी र महिलाले सेनेटरी प्याडको प्रयोग गर्दछन् । धोएर राखिएका सुतीका कपडाहरु स्वास्थ्यका लागि उचित हुँदैनन् । चेतना अभावका कारण सेनेटरी प्याड प्रयोगको परिपाटी अझै पनि विपन्न समुदायका किशोरीहरुमा बसेको पाइँदैन ।

सामान्य अवस्थामा आठ घन्टामा सेनेटरी प्याड फेर्नुपर्छ भने तल्लो पेट दुख्ने, ढाड दुख्ने, फोहोर पानी बग्ने र योनि चिलाउने समस्या भएमा हरेक चार घन्टामा प्याड परिवर्तन गर्नुपर्छ र सफा राख्नुपर्छ । तर, विद्यालयका किशोरीहरु ८ घन्टासम्म विद्यालयमा हुन्छन् । विभिन्न अध्ययनहरुले जनाएअनुसार किशोरीहरुमा यसको समस्या बढी देखिन्छ, जसका कारण उनीहरु सुतीका कपडा र रूमालको प्रयोग गर्ने गरेका छन् । तसर्थ, तिनीहरुलाई विद्यालयले निःशुल्क प्याड वितरण गर्नु जरूरी छ ।

एसियाली विकास बैंकले जारी गरेको प्रतिवेदनअनुसार २५ दशमलब २ प्रतिशत नेपालीहरु गरिबीको रेखामुनि छन् । तसर्थ, कतिपय नेपाली किशोरी तथा महिलाले आर्थिक अवस्था, सहज पहुँचको अभाव र चेतनाको कमी, लाज मान्ने प्रवृत्तिजस्ता कारणले सेनेटरी प्याड प्र​योग​मा त्यति ध्यान दिएको पाइँदैन र विभिन्न यौन रोगहरुको सिकार भएका छन् ।

उमेरको वृद्धि विकाससँगै नियमित रजस्वलाको चक्र देखा पर्ने गर्छ भने सुरक्षित प्याडको प्रयोगले विभिन्न यौन संक्रमण एवम् पाठेघरको संक्रमण नियन्त्रण गर्न सकिन्छ भनेर विभिन्न सोधपत्रहरुले प्रस्ट पारिसकेका छन् । तर, नेपाली महिलाहरुले महिनावारीका समयमा आफ्नो सरसफाइमा विशेष ध्यान नदिएकै कारण धेरैजसोमा संक्रमण भई पाठेघरसम्म फैलिने र त्यसले बाँझोपनको समेत समस्या ल्याउने खतरा हुने गरेको छ । ग्रामीण भेगका अधिकांश नेपाली महिलामा परीक्षण गर्दा पाठेघरको संक्रमण भएको तथ्यांक पनि छ ।

महिनावारी प्राकृतिक र नियमित प्रक्रिया भएकाले लजाउने परिपाटीको अन्त्यसँगै सामाजिक पुरातनवादी सोचमा बदलावसँगै समयसँगै खुलेर बहस गर्न आवश्यक छ । महिनावारी महिलाको सरोकारको विषयमात्र होइन, पुरूष तथा समग्र देशको सरोकारको विषय हो । यो महिला–पुरूषलगायत समग्र समाज तथा देशको जीवनसँग, देशको समृद्धिसँग सरोकार राख्ने विषय हो ।

नेपालको संविधानअनुसार स्वास्थ्य, पर्यावरणलगायतका हकहरुलाई मौलिक हकअन्तर्गत राखिएको छ र हरेक नागरिकले साधारण स्वास्थ्य सेवा निःशुल्क पाउने छन् भनिएको छ । तसर्थ, किशोरी र महिलाको प्रजनन/ यौन स्वास्थ्य हक प्रत्याभूतिका लागि नेपाल सरकारले सेनेटरी प्याडलाई अब निःशुल्क वितरण गर्नुपर्छ । महिलाको यौन स्वास्थ्यले पुरूषको जीवनमा पनि असर पार्छ भन्ने कुरालाई आत्मसात् गरेर पुरूषहरुलाई पनि महिनावारी तथा प्रजनन स्वास्थ्य अभियानमा सक्रियरुपमा संलग्न गराउनुपर्छ । यस अभियानले केही हदसम्म महिलाको स्वास्थ्यमा सुधार गर्ने छ भने महिनावारीसम्बन्धी गलत धारणा पनि परिवर्तन गर्न मद्दत गर्नेछ ।

 

 

SHARE