विज्ञापनमा होइन आर्दश बन्न प्रधानमन्त्रीलार्इ सुझाव ! हामी न केपीका न माधवकाः गैरे

अनेरास्ववियुका पूर्व अध्यक्ष ठाकुर गैरे युवा पुस्ताका प्रभावशाली नेताका रुपमा चिनिन्छन् । उनी यसकारण पनि धेरै चर्चामा आउँछन्, जो पटक–पटक अवसरवाट बञ्चित भए । ०७० र ०७४ को चुनाबमा प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष उम्मेदवार गैरेको अन्तिम समयमा नाम काटिएको थियो । पछिल्लो समय विधान अनुरुप पार्टी चलेन कि भन्दै गैरे सहित २१ जनाले पार्टी अध्यक्षलाई ज्ञापनपत्र बुझाए । पार्टी एकतापछि देखिएका केही अन्यौलतालाई शीर्ष नेतृत्वले जतिसक्दोे छिटो टुङ्ग्याउनुपर्ने उनको माग छ । गैरेसँग कृष्ण गिरीले गरेको कुराकानीः

तपाई सहित २१ जनाले पार्टी अध्यक्षलाई सम्बोधन गरेर ज्ञापनपत्र बुझाउनु भयो, यसको प्रमुख उद्देश्य के हो ?

हामीले जे विधान बनाएका छौं ,त्यहि नीति, पद्धतिमा बसेर चलासे भन्ने प्रमुख उद्देश्य हो । यो पार्टी एकता भएपछि बनेका तीन संरचना छन् । सचिवालय,स्थायी समिति र केन्द्रीय समिति ।

यति बनेपछि पनि स्थायी समिति र केन्द्रीय समितिको कार्यविभाजन भएको छैन । बनेका संरचनाहरु पनि निस्क्रिय छन् । केन्द्रीय समिति भन्दा तल त एकता नै भएको छैन ।

तल अथवा जनसम्पर्क हुने ठाउँमा पार्टीको उपस्थिति शुन्य छ । यो परिस्थिति कहिले सम्म राख्ने ? माथि जे बनेको छ त्यो बेरोजगार छ । यसले जुन अन्यौलता र शुन्यता ल्याएको छ । यसले पार्टी जनताको लागि नै अहित गरेको छ । यो परिस्थितिको अन्त्य छिटो होस् भनेर हामीले ज्ञापनपत्र बुझाएका हौ ।

पार्टीको एकता छिटो टुङगाइयोस । यो पार्टी विधि विधान अनुसार चलोस । पार्टीको पोलीटब्युरो बनाइयोस, कार्यविभाजन सहि तरिकाले होस् भन्ने चाहना हो ।दुई पार्टी एक भएको ७ महिना हुदा पनि हामीसंग पार्टीको एउटा आधिकारीक दस्तावेज छैन । राजनीतिक प्रतिवेदन छैन । केन्द्रीय कमिटीले पास गरेको ।

नेपाली समाजको विश्लेषण । के हो नेपाली समाज ? नेपालको आजको अन्तर्रविरोध के हो ? समाजवाद कस्तो हुने ? पार्टीको भूमिका ? शक्ति सन्तुलन के हो ? चुनौति के हुन भनेर दस्तावेज तयार गरेका छैनौ । समाजवाद प्राप्त गर्न गर्नु पर्ने काम के हुन ? यो केहि छैन । यो भनेको शुन्यता हो । तराईमा विखण्डनको पक्षमा संगठन परिचालित छ ।

हिन्दु राष्ट्रको वकालत गदै नेपाली काँग्रेस हिडेको छ । विप्लवले अर्काे अभियान चलाउदै छ । यस्तो अवस्थामा नेकपा जहाँ बनेको छ त्यो निस्कृय छ । त्यहाँ काम छैन । जनतासंग जोडिने ठाउँमा संगठन नै छैन ।

तल्ला कमिटिहरु एकता नहुनुको कारण के हो ?

सुरुमा कार्यदल बनाएर काम गर्न जिम्मेवारी दिइयो । त्यो कार्यदलको समय सिमा तीन महिना तोकेको थियो । तर त्यो कार्यदलले कुनै गाइडलाईन पाएन । त्यो कार्यदलले पार्टीको एकताको मर्म भावना,विचार केहि बुझेन ।

उसले आफु अनुकुल नेतृत्व गर्ने मानिस खोज्दै हिडे । यसले पुरा पार्टी एकतामा नै समस्या आयो । एकताको भावना नबुझ्दा सबै बिग्रेको हो । त्यो समयमा नै सचिवालय,स्थायी कमिटिले नै एक निर्णय गरीदिएको भए यस्तो अवस्था आउने थिएन ।

कार्यदललाई संघ,प्रदेशका सांसद,स्थानिय तहका जनप्रतिनिधिबाहेक सिनियर नेतालाई मिलाएर जिल्ला जिल्लामा नेतृत्व दिन सकिन्थ्यो । साविकका एमाले र माओवादीका कमिटिहरु त थिए ।

त्यहि आधारमा पूर्व एमाले र माओवादी केन्द्रका भागमा जिल्लाहरु लगाएर नेतृत्व दिन सकिन्थ्यो । तर कार्यदलका सदस्य नै नेता खोज्न थाले । कसैलाई पाखा र कसैलाई काखा राख्ने काम हुन थाल्यो । यो कार्यदलले कुनै मापदण्ड बनाउन चाहेन । विधि र मापदण्ड बनाएको भए भइसक्थ्यो ।

अर्काे हामीले माथि पनि पहिला पोलिटब्युरो बनाउ ,त्यसपछि केन्द्रीय सदस्यको कार्यविभाजन गरौ भनेका छौ । तर यो बनाउन चाहेको छैनन । यदि पोलिटब्युरो नबनाएर कार्यविभाजन गर्दा कसैलाई काखा कसैलाई पाखा लगाउने चाल हो , अथवा पोलिटब्युरो बनाउन पनि अन्याय हुन्छ । हामी पार्टी सुल्टोबाटोमा हिडाउन चाहन्छौ । यो प्रक्रिया प्रदेश,जिल्ला, गाउँ नगरमा पनि लागु हुनु पर्छ भनेका हौ ।

तल्लो कमिटीको एकता गर्न बनेको कार्यदलको नियत नै खराब थियो त ?

कार्यदल नै विघटन भयो । काममा हेर्ने हो भने पनि देखिन्छ कि कार्यदलले रिपोर्ट नै बुुझाएका छैनन् । गण्डकी प्रदेशमा संयुक्त रिपोर्ट नै बनाउन सकेन । पूर्व एमालेले आफ्नो र माओवादीले आफ्नो रिपोर्ट बुझायो । अन्य प्रदेशका कार्यदलले रिपोर्ट त बुझायो ती रिपोर्टसंगै साविकका जिल्लाबाट उजुरी आए । यो भनेको त एकता गर्ने मापदण्ड नगर्नुको परिणाम हो । यसकोलागि मापदण्ड विधि बनाएको भए पहिला नै एकता भइसक्थ्यो ।

तपाई ज्ञापनपत्र बुझाउनेहरु पनि साँघुरो घेरामा जानु भयो भन्ने आरोप छ नि ?

छ, सुनेका छौ । हामीले केन्द्रीय कमिटीमा बहुमत पुर्याउन गरेको होइन । सुरुमा त एक दुई जना भएपनि गरौ भनेका थियौ । अहिले धेरै भएका छौ । संख्या कति भन्दा पनि कुरा के हो ? उठाएको मुद्धा विषय के हो ? सान्र्दभिक छ कि छैन भन्ने बढी महत्वपूर्ण हो भन्ने हो । काठमाडौंमा उपलब्ध केहि साथीहरुले छोटो समयमा सल्लाह गरेर ज्ञापनपत्र बुझाएका हौ । अहिले त ५०–६० जना भएका छौ ।

पूर्व माओवादीहरुले हामीसंगपनि छलफल गरेका भए संगै हुन्थ्यौ तर पूर्व एमाले त्यसमा पनि माधवकुमार नेपाल समुहका साथीहरु एकलौटी रुपमा ज्ञापनपत्र बुझाउन गए भन्दै छन् नि ?

हामी २०७५ सालको राजनीतिमा छौ । नकि आज भन्दा १० बर्ष पहिलाको राजनीतिमा । अहिले हामी सबै नेकपाका नेता कार्यकर्ता हौ । न त माधब नेपालका न त झलनाथ खनालका न त केपी ओलीका हौ । अहिले हामी सबै नेकपाका हौ । तपाईले भनेजस्तै मान्ने हो भने पूर्व माओवादीका साथीहरुसंग पनि छलफलमा छौ । यसमा सबैको सहमति छ ।

तपाई युवाहरुले माधव नेपाललाई छोड्नु भएको हो ?

यो आज बहसको विषय नै होइन । हिजो के थियौ ? कसको पक्षमा थियो त्यो सकियो । अब हामी सबै एकता सहितको नेकपामा छौ । पहिला माओवादी र एमाले निषेधको राजनीति गरेका थियौ तर आज एक पार्टीका नेता कार्यकर्ता भएका छौ । यहि तरिकाले बुझ्नु पर्छ ।

तपाई युवाहरुले त वामदेवलाई आफ्नो समुहको नेता बनाउदै हुनुहुन्छ भन्ने छ नि ? पूर्व माले एक ठाउँमा आउदै छ हो ?

हामीहरुले अहिले ज्ञापनपत्रमा उठाएका कुराहरु नै प्रमुख हुन । अरु बारेमा सोचेका नै छैनौ । हामीले व्यक्तिको कुरा उठाएका छैनौ । यसमा विधि पद्धतिको कुरा उठाएका छौ । कुनै व्यक्तिलाई नेता बनाउने कुरा छैन ।

तपाईहरुले बुझाएको ज्ञापनपत्रको सुनवाई हुनेमा कत्तिको आश्वस्त हुनु हुन्छ ?

हामीले ज्ञापनपत्र महासचिवलाई बुझाएका छौ । उहाँले यो विषय धेरै गम्भीरताका साथ लिनु भएको छ । यसलाई महत्वका साथ लिनु भयो । त्यस्तै पार्टी अध्यक्ष प्रचण्डलाई भेटेका छौ । उहाँले आजको नेपाली समाज,कार्यभार ,दायीत्व सबै बारेमा गंम्भीर भएर कुरा गर्नु भयो । त्यस्तै झलनाथ खनाल,माधवकुमार नेपाल र बामदेव गौतमलाई भेटेका छौ । सबै नेताहरुले छिटै पार्टीलाई सहि तरिकाले संचालन गर्ने । उहाँहरुले भने अनुसार अब छिटै हामीले उठाएका विषयहरुले मुर्त रुप पाउने छ । ज्ञापनपत्रमा उठाएका कुराहरु सम्बोधन हुनेमा आशा छ ।

अब छिटै बैठक बस्नेछन् । केन्द्रीय कमिटीको बैठक पनि छिटौ नै बस्ने छ । सरकार र पार्टीको सम्बन्ध नयाँ तरिकाले विकास हुने छ । चुनावमा जारी गरेको घोषणापत्रका कुराहरु लागु हुनेमा पनि विश्वस्त छौ ।

प्रचण्डले ठोस रुपमा के कुरा भन्नु भयो बताइ दिनु होस न ?

उहाँले भन्नु भयो अहिले पार्टी एकता हुनु नै ठूलो कुरा हो । हिजोको अवस्था फरक थियो । दुई पार्टी दुईतर्फ फकेको थिए । आज समाजवादको लक्ष्य, शोषणको अन्त्य गर्न पार्टी एकताले ठूलो फड्को मारेको छ ।

अहिलेको एकता गर्नु पनि ठूलो हिम्मत हो । यो युगीन महत्व हो । हामीले लिएको लक्ष्य पुरा गर्न पनि यो एकता अनिवार्य थियो । आजको जिम्मेवारी पुरा गर्न हामी सधै तयार छौ । एकता गर्दा र चुनावमा जस्तो उत्साह थियो । त्यो पुन ल्याउछु भन्नु भयो ।

कार्यविभाजनमा पक्षपात भयो भनेर ज्ञापनपत्रमा लेख्नु भएको छ ,यसमा प्रचण्डले के भन्नु भयो ?

हामीले यो विषयमा कुरा राख्यौ । हामीले भन्यौ समाजवाद हासिल गर्न एकता गरेको पार्टीले पहिला आफु समाजवादी हुनु पर्र्याे । यो पार्टीमा न्याय छ भनेर सबैले झलझली देख्नु पर्छ । होइन भने कुरा मात्र हुने छ । यो पार्टी समाजवादी हो भन्ने महसुस हुने गरी न्याय देखिनु पर्याे भनेका थियौ । उहाँले हाँसेर नै यो बनाउछौ भन्नु भएको छ ।

महासचिवले अध्यक्ष भेट्न दिदैनन् भन्ने छ नि ?

यो हामीलाई थाह भएन ।

यो पार्टी आन्तरिक रुपमा पनि समाजवादी र न्याय दिने होला त ?

हुनै पर्छ । पार्टी भित्र न्याय भएन समाजले विश्वास गर्छ ? यो पार्टी भित्र न्याय छ भन्ने भएमा न हो आम जनसमुदायले विश्वास गर्ने । तर अहिले त सचिवालयका सदस्यहरुका विचार बाहिर सुन्छौ । त्यहाँ केहि न केहि समस्या छ भन्ने देखिन्छ । जसरी सचिवलायका नेताहरु मिडियामा बोली राख्नु भएको छ । त्यो सचिवालयमा केहि न केहि समस्या छ ।

सकारकाका काम कारबाहीमा समस्या छ भन्ने हो । नियुक्तिका बारेमा प्रश्न उठेको छ । राजदूत नियुक्तिमा एकमना भयो भन्ने छ । हिजो सरकारले अस्विकार गरेका दिगम्बर झा आज कसरी सक्षम भए । यस्तो धेरै प्रश्न उठेका छन् । सरकार पार्टीको हो भन्ने हुनु पर्छ ।सरकार र पार्टीबीच नङ मासुको सम्बन्ध बनाउन हामी लागेका हौ । यो हुनु पर्छ भनेर हामीले छलफलको विषय बनाएका छौ ।

सरकारले समाजिक सुरक्षा दिवस मनाएको छ,जुन सकारात्मक छ यसबारेमा पार्टीमा छलफल भयो कि भएन ?

जुन काम सरकारले गरेको छ त्यो धेरै राम्रो हो । यसमा पार्टीको सहयोग हुन्छ । सचिवालयमा छलफल भएर नै आएको होला । अनौपचारीक क्षेत्रमा काम गरेका श्रमिकको निवृतिभरण पाउने राम्रो काम हो । यसमा सरकारले कुसल भूमिका निर्वाह गर्नु पर्छ ।

सामाजिक संजालमा प्रधानमन्त्री र सरकारको त धेरै आलोचना भयो नी किन हो ?

यो बीचको अवधिमा सरकारमाथि धेरै प्रश्न उठेका थिए । चुनावमा जुन प्रतिबद्धता गरेका थियौ त्यो अनुसार काम भएका थिएनन । सरकारका नियुक्तिले पनि सकारात्मक सन्देश दिन सकेन । स्थानीय सरकार र पार्टीबीच समन्वय भएन । स्थानीय सरकार आफ्नै तरिकाले चलेका छन् । यसको जिम्मेवारी कसले लिने केहि छैन ।

नत स्थानीय तहमा पार्टी छ नत कुनै जिम्मेवारी लिने निकाय नै । यसकारण पनि अहिले सरकारले ल्याएको सामाजिक सुरक्षा योजनाको आलोचना भएको होइन । बरु कार्यशैलीमाथि केहि आलोचना भयो कि ? अर्काे सरकारले गरेका राम्रा कामको कुनै प्रचार भएन । सरकार जसरी चल्नु पथ्र्याे त्यो भएको छैन । जेष्ठ नागरिकका बारेमा चुनाव गरेका प्रतिवद्धता, बजेट बनाउने कुरा ।

भारत र बेलातयतमा काम गरेर आएका वृद्धहरुलाई वृद्ध भत्ता नदिने भनियो । माइतिघरमा प्रर्दशन गर्न नपाउने भन्ने कुरा सबै एक पटक भनियो । अनि सरकारले फेरी फिर्ता लियो । यसकारण पनि सरकारमाथि प्रश्न उठ्ने गरेका छन् । अहिलेपनि सामाजिक सुरक्षा योजनाको कार्यन्वयन हुन्छ कि हुदैन अथवा कति सम्म हुन्छ भनेर हो ।

प्रधानमन्त्रीको फोटा विजुलीको पोलमा र पत्रिकाका ज्याकेट विज्ञापनमा देखियो यो राम्रो हो र ?

फोटो पोलमा, विज्ञापनमा होइन आर्दश बनेर जनताको मनमनमा बस्न सक्नु भएको भए राम्रो हुन्थ्यो ।

SHARE